हामी चढेको जहाज र जमिनको दूरी मुस्किलले एक सय मिटर थियो। बेइजिङबाट उडेको जहाज चुन्यी माओथाई विमानस्थलमा अवतरण हुनै लाग्दा दायाँतिरको सानो डाँडामाथि रातो बिर्काे भएको, सेतो रङको एक बोतल उभ्याइएको देखियो।
जहाजभित्र छँदा लागेको थियो, बोतल बढी से बढी एक मान्छेको उचाइ बराबर होला।
जहाजबाट ओर्लेर बसमा गन्तव्यस्थलतर्फ लाग्दा पो थाहा भयो, त्यसको वास्तविक आकार!
त्यो त हाम्रो धरहराजत्तिकै अग्लो रहेछ।
२२ अक्टोबर (५ कार्तिक २०८०) हामी चीनको रेन्हुई (गुइचौ प्रान्त) अन्तर्गतको माओथाई सहरतर्फ जाँदै थियौँ।
यस सहरको नाम सुन्नासाथ तपाईंहरूमध्ये कतिपयलाई लाग्यो होला, यो त कता–कता सुनेको नाम पो हो!
कोही विश्वस्तरीय चर्चित मदिराको पारखी हुनुहुन्छ भने पक्कै पनि तपाईंका लागि ‘माओथाई’ परिचित नाम हो। किनकि, ‘माओथाई’ चीनको प्रसिद्ध पर्यटकीय नगरी मात्र होइन, चीनमा उत्पादन हुने विश्वप्रसिद्ध मदिरा पनि हो। यही सोर्गम (जुनेली मकै) नामक अन्नबाट विश्वप्रसिद्ध ‘क्वेचौ माओथाई’ मदिरा उत्पादन हुन्छ।
विमानस्थलछेवैको सानो डाँडोमा ठड्याइएको विशाल बोतल ‘तपाईंहरू विश्वप्रसिद्ध मदिरा माओथाई बन्ने स्थानमा हुनुहुन्छ’ भन्ने कुराको संकेत थियो।
माओथाई (सहर र मदिरा) बारे लेखौँ भन्ने उद्देश्य नै बनाएर म त्यहाँ पुगेको होइन। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ‘पिपुल्स डेली’ ले विभिन्न देशका दुई दर्जन पत्रकारलाई २३–२४ अक्टोबरमा माओथाई सहर घुमाएको थियो। त्यस घुमाइ–दलको म पनि एक सदस्य थिएँ।
त्यस क्रममा हामीले ‘क्वेचौ माओथाई कम्पनी लिमिटेड’ ले स्थापना गरेको भव्य संग्रहालय अवलोकन गर्यौँ। संग्रहालयभित्र माओथाई सहर र त्यहाँ उत्पादन हुने क्वेचौ मदिरा, चीनमा मदिरा संस्कृति लगायतबारे अनगिन्ती सामग्री थिए। दर्जनौँ तस्बिर र चित्र पनि संग्रहित थिए।
तीमध्ये तीन चित्रले मेरो ध्यान आकर्षित गरे। ती चित्र ‘जनवादी गणतन्त्र चीन’ का संस्थापक राष्ट्रपति माओत्सेतुङको नेतृत्वमा भएको चिनियाँ क्रान्तिसँग माओथाई सहरको नाता र मदिरासँग सम्बन्धित थिए।
ती तीन चित्रको अवलोकनपछि मलाई लाग्यो, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०५२ मा जनयुद्ध सुरु गर्नुअघि यस संग्रहालयको भ्रमण गरेको भए माओवादी जनयुद्धको निशानामा सायद मदिरा उत्पादकहरू पर्ने थिएनन् कि!
माओत्सेतुङ र माओथाई मदिरा
माओत्सेतुङको युद्धनीतिलाई पछ्याउँदै प्रचण्डको नेतृत्वमा भएको १० वर्षे जनयुद्धमा माओवादीको निसानामा मदिरा पनि पर्यो। पहिलो वार्ताकालमा त माओवादी कार्यकर्ताहरूले बाँकेको एक मदिरा उद्योगमा आगजनी गरेर ध्वस्त नै पारेका थिए।
माओथाईको संग्रहालयमा टाँगिएका चित्रहरूले भने माओत्सेतुङ मदिराविरोधी थिए भन्ने देखाउँदैनथ्यो। बरु माओत्सेतुङ, चाउ एनलाइ, देङ स्याओपिङहरू माओथाईजस्तो प्रसिद्ध मदिराको विकास र प्रवर्धन गर्न चाहन्थे भन्ने सन्देश त्यस चित्रले दिन खोजेको थियो।
माओथाई मदिरा र चिनियाँ क्रान्तिको सम्बन्ध बुझ्न माओत्सेतुङ नेतृत्वको लालसेनाले जापानी साम्राज्यवादसँग लडेको लडाइँको इतिहासतिर फर्कनुपर्ने हुन्छ।
माओत्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सन् १९३५ ताका ‘लङ मार्च’ अभियानमा थियो। त्यो बेला चीनमाथि जापानको आधिपत्य थियो। सीपीसी नेतृत्वको लालसेना जापानविरुद्ध लडाइँ लडिरहेको थियो।
लडाइँ उत्कर्षतिर थियो। कतिपय मोर्चाहरूमा लालसेनाले जापानी सेनाबाट ठूलो धक्का खाइरहेको थियो। त्यसैक्रममा लालसेना गुइचौ (तत्कालीन क्वेचौ) प्रान्तको दक्षिणी क्षेत्र पुग्यो। क्वेचौमा पनि लडाइँ हुने भयो।
लालसेनाका सर्वाेच्च कमान्डर माओत्सेतुङले क्वेचौको लडाइँमा लालसेनाको चौथो डिभिजनलाई पठाउने निर्णय गरे। यो डिभिजनको कमान्डर चु तेह थिए, जो १९४९ मा क्रान्ति सम्पन्न भएपछि लालसेना (जनमुक्ति सेना) को प्रधानसेनापति नियुक्त गरिए।
चौथो डिभिजन केही दिनदेखि माओथाईमा मोर्चा कसेर बसेको थियो। उनीहरूको विदाईका लागि माओत्सेतुङ र चाउ एनलाइ (क्रान्तिपछि चीनका प्रधानमन्त्री) माओथाई पुगे।
विदाईको कार्यक्रम चल्दै गर्दा माओत्सेतुङको हातमा एउटा इनामेलको मग (जग) थियो। इनामेलको मग भए पनि त्यो माओथाईमा उत्पादित मदिराले भरिएको थियो।
विदाई सम्बोधन चल्दै गर्दा हातको मग माओत्सेतुङले उचाले।
‘माओथाई विश्वप्रसिद्ध मदिरा हो’, उनले चु तेह नेतृत्वको लालसेनाको चौथो डिभिजनलाई विजयको शुभकामना दिँदै भने, ‘तपाईंहरू पनि विश्वप्रसिद्ध लडाइँका लागि जाँदै हुनुहुन्छ। जनरल तपाईं (चु तेह) लगायतका योद्धाहरूको विदाईका लागि यही विश्वप्रसिद्ध मदिरा माओथाईका साथ म तपाईंहरूमाझ उपस्थित छु।’
यो घटनापछि लालसेनाले विदाई समारोहमा माओथाईको प्रयोग गर्न थाल्यो। अब लाल (रातो) रङको माओथाई लालसेनाका लागि प्रिय हुन थाल्यो। आखिर रातो रङ क्रान्तिकारीहरूका लागि प्रिय रङ पनि हो।
चाउ एनलाइ पनि माओथाई मदिराका प्रशंसक थिए।
‘लङ मार्चका दौरान माओथाई हरेक रोगको अचुक औषधि बनेको थियो,’ संग्रहालयमा राखिएको चित्रसँगैको क्याप्सनमा लेखिएको छ, ‘जापानविरुद्ध लडाइँको अन्त्यताका चाउ एनलाइले भनेका थिए : त्यसैले, लङ मार्चको सफलतामा माओथाई (मदिरा) को योगदान छ।’
चाउ एनलाइले किन यसो भनेका थिए? माओथाई सहर र मदिराबारेकी अनुसन्धानकर्ता मु झाङमेईले संग्रहालय भ्रमणका क्रममा हामीलाई बताइन्।
‘जापानी सेनासँगको लडाइँबाट थकित लालसेना १६ मार्च १९३५ मा लालसेना माओथाई सहर आइपुगेको थियो, थकित लालसेनालाई यहाँका बासिन्दाले माओथाई (मदिरा) उपलब्ध गराएर सान्त्वना दिलाएका थिए,’ उनले सुनाइन्, ‘पिउन दिइएको मदिरा लालसेनाले पिएनन्, बरु लडाइँले शरीरमा पारेका घाउ सफा गर्न र तिनको दुखाई कम गर्न प्रयोग गरे। माओथाई उनीहरूका लागि मूल्यवान औषधि बन्यो।’
जापानी सेनासँगको लडाइँमा होस् वा च्याङ काइसेकको कोमिन्ताङविरुद्धको लडाइँका क्रममा, माओथाई लालसेनाको पीडा साम्य पार्ने र घाउ निको पार्ने औषधिको रुपमा प्रयोग भइरह्यो।
चीनमा खुलापन र आर्थिक सुधारका पिता देङ स्याओपिङ पनि माओथाईका प्रशंसक थिए।
जापानविरुद्ध युद्धका बेला लालसेनाको मुखपत्र ‘रेडस्टार’ देङकै नेतृत्वमा प्रकाशित हुन्थ्यो। त्यसैक्रममा ५ अप्रिल १९३५ को अंकमा माओथाई सहरमा लालसेनाको आगमनबारे ‘रेडस्टार’ ले विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो। त्यसमा माओथाई मदिराको चर्चा थियो।
‘जब लालसेना रेन्हुई (जहाँ माओथाई सहर पर्छ) प्रवेश गर्यो, स्थानीयवासीले लालसेना समक्ष आफ्ना ५० जना प्रतिनिधि पठाए, प्रतिनिधिमध्ये आधाजसो कामदार वर्गका मानिस थिए,’ रेडस्टारले लेखेको थियो, ‘लालसेनाको सहयोगका लागि ती प्रतिनिधिहरूले तीनवटा बंगुर र ठूलो आकारको एउटा जारमा माओथाई मदिरा लगेका थिए।’
माओथाई सहर (तत्कालीन गाउँ) मा भएका लालसेनासँग सम्बन्धित घटनाअघि लालसेना पंक्तिमा मदिराप्रति नकरात्मक भाव पनि हुँदो हो। किनकि, एक समय बेलायती साम्राज्यले अफिमको नसामा डुबाएर चीनमा आफ्नो आधिपत्य स्थापित गरेको थियो। मदिरा पनि आखिर मादक पेय पदार्थ न हो।
माओथाई प्रवेश गरेको लालसेनाको आक्रमणमा मदिरा उत्पादन हुने कारखाना, पसल र सम्बन्धित अन्य सामग्री पर्न सक्थे। यसो नहोस् भन्नेमा चाउ एनलाइ सचेत थिए। उनले राजनीतिक विभागको तर्फबाट बुलेटिनमार्फत् विशेष आदेश जारी गरे। उनको आदेशमा माओथाईसँग सम्बन्धित वस्तुहरूलाई संरक्षण गर्न भनिएको थियो।
ती आदेश चेङ्वी, चोङघी र हेङचाङ सहरस्थित मदिरा उत्पादन हुने कारखानाका ढोकामा टाँसिएका थिए। आदेशमा माओथाई राष्ट्रिय उद्योग भएको उल्लेख गर्दै लालसेनाले सुरक्षा प्रदान गर्नुपर्ने उल्लेख थियो।
‘यो चीनका लागि गौरवको कुरा हो कि माओथाईमा उत्पादित मदिराले अन्तर्राष्ट्रिय स्वर्ण पदक हासिल गरेको छ,’ आदेशमा भनिएको थियो, ‘त्यसैले, माओथाई मदिरासँग सम्बन्धित सबै कुरा क्षति हुनबाट हामीले रोक्नुपर्छ। यो आदेश सबै योद्धाहरूले पालना गरुन्।’
सन् १९४९ चीनमा सीपीसी नेतृत्वको क्रान्ति सम्पन्न भयो। क्रान्ति सम्पन्न भएपछि माओत्सेतुङ र चाउ एनलाइले माओथाई मदिराले क्रान्तिलाई पुर्याएको योगदान भुलेनन्। बरु, यसलाई पुरस्कृत गरे।
सीपीसी नेतृत्वको लालसेनाबाट कोमिन्ताङको पूर्ण पराजयसँगै १ अक्टोबर १९४९ मा ‘जनवादी गणतन्त्र चीन’ को घोषणा भयो। नयाँ चीनको घोषणाको खुसीयालीमा त्यसैसाँझ ‘बेइजिङ होटल’ मा भव्य रात्रिभोज आयोजना गरियो।
त्यो भव्य ऐतिहासिक साँझको विवरण पनि संग्रहालयमा पढ्न–हेर्न पाइन्छन्।
ती तीनमध्ये एक चित्रमा उल्लेख भए अनुसार रात्रिभोजमा खटिने सेफ, खानेकुराको मेनु र पेय पदार्थको छनोट प्रधानमन्त्री चाउ एनलाइ आफैँले गरेका थिए।
रात्रिभोजमा प्रयोगका लागि उनले त्यही माओथाई मदिरा छनोट गरे, जुन युद्धकालमा लालसेनाहरूको घाउको उपचारमा प्रयोग गरिएको थियो।
‘नयाँ चीन घोषणा भएको खुसीयालीको प्रत्यक्षदर्शी थियो त्यो साँझ,’ त्यो चित्रसहितको क्याप्सनमा लेखिएको छ, ‘रात्रिभोजमा बेइजिङ होटलको चम्किलो प्रकाशमा माओथाईको मीठो वासना यत्रतत्र–सर्वत्र फैलिएको थियो।’
रात्रिभोजमा दर्जनौँ विदेशी अतिथि उपस्थित थिए। चिनियाँ समाजका विभिन्न विधाका ६ सय व्यक्तित्वसहितको जमघट थियो त्यो रात्रिभोज, जहाँ ‘जनवादी गणतन्त्र चीन’ का संस्थापक माओत्सेतुङ पनि सहभागी थिए।
‘त्यो खुसीयालीमा सबैले टोस्ट प्रस्तावसहित नयाँ चीनको स्वादका रुपमा माओथाई प्रस्ताव गरे,’ त्यसमा भनिएको छ, ‘माओथाई चीनको ‘राष्ट्रिय पेय’ बन्न योग्य छ भन्ने कुराको संकेत यो घटनाले गर्यो।’
क्रान्ति अघिसम्म माओथाई मदिरा निजी स्वामित्वका कारखानाहरूले परम्परागत रुपमा उत्पादन गर्थे। क्रान्तिपछि तिनको स्वामित्व सरकारले लियो। सन् १९५१ मा विभिन्न तीन कारखानाहरूलाई एकीकृत गरियो र ‘क्वेचौ माओथाई कम्पनी लिमिटेड’ निर्माण गरी आधुनिक तबरले माओथाई मदिरा उत्पादन गर्न थालियो।
प्रधानमन्त्री चाउ एनलाइ यसको गुणस्तरको निरन्तरताबारे निकै संवेदनशील थिए। यो मदिरा उत्पादनका लागि स्थानीय चिसुई नदीको पानी प्रयोग गरिन्छ। यो नदीको पानी प्रदुषित भयो भने त्यसको असर माओथाई उत्पादनमा पर्ने नै भयो।
‘माओथाई : द अल्टिमेट इन्जोयमेन्ट’ पुस्तकमा उल्लेख भए अनुसार चिसुई नदी प्रदुषित हुन नदिन प्रधानमन्त्री चाउ एनलाइले सन् १९५६ र १९५८ मा विशेष नीति अघि सारे।
प्रधानमन्त्री चाउ एनलाइकै अग्रसरतामा सन् १९७२ मा नदीको स्वच्छता गुम्न नदिन अर्काे नीति ल्याइयो, जसमा नदी बहने एक सय किलोमिटर क्षेत्रमा कुनै खानी र रसायनसँगसम्बद्ध कारखाना स्थापना नहुने उल्लेख थियो।
यस्तो योगदानका कारण प्रधानमन्त्री चाउ एनलाइलाई चीनमा ‘राष्ट्रिय पेय पदार्थका पिता’ पनि भनिँदो रहेछ।
क्वेचौ माओथाई सरकारी स्वामित्वको कम्पनीले उत्पादन गर्छ। राष्ट्रिय दिवसमा सरकारले आयोजना गर्ने भोजमा यही मदिरा प्रयोग हुन्छ। चीन पुग्ने उच्चपदस्थ पाहुनाहरूलाई यही मदिराले स्वागत गरिन्छ। यसको विश्वव्यापी ख्याति पनि छ।
यही कारण क्वेचौ माओथाई चीनको ‘राष्ट्रिय मदिरा’ को रुपमा चर्चित छ।
‘माओथाई अत्यधिक जनताको मन र जिब्रोमा बस्न सफल छ,’ अनुसन्धाता मुले भनिन्, ‘यही कारण उनीहरूले नै यसलाई राष्ट्रिय मदिरा भनेका हुन्।’
मदिरा पारखीहरूको मनमा त क्वेचौ माओथाईको साम्राज्य छ नै, यो मदिरा उत्पादक कम्पनी पछिल्ला पाँच वर्षयता लगातार सर्वाधिक मूल्यवान चिनियाँ कम्पनी बन्न सफल छ। १.०४ ट्रिलियन युआन (१५० अर्ब अमेरिकी डलर) ब्रान्ड मूल्यका कारण ‘हुरन ब्रान्ड लिस्ट’ ले यसलाई चीनको सर्वाधिक मूल्यवान ब्रान्डको सूचीमा राखेको थियो।
प्रधानमन्त्रीका रुपमा भ्रमणमा जाँदा चिनियाँ पक्षले सम्मानस्वरुप प्रचण्डलाई माओथाई सहितको भोज दिने गरेको छ। यसबाहेक चिनियाँ अर्थतन्त्र र क्रान्तिमा मदिराको भूमिका यति महत्वपूर्ण हुन्छ भन्ने जानकारी पाएको भए जनयुद्धकालमा उनले पनि पक्कै आफ्ना कार्यकर्ता र सेनालाई मदिराविरुद्ध आक्रामक नहुन निर्देशन दिन्थे होलान्!
संग्रहालय अवलोकन गरिरहँदा मलाई यस्तै लागिरह्यो।
उत्कृष्ट स्वाद, महँगो मूल्य
‘मिस्टर बराल, चाहनुहुन्छ भने एक बोतलसम्म किन्न सक्नुहुन्छ है!’ पिपुल्स डेलीका अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख झाङ पेईले मसँग भने, ‘आज हामी दुई बोतलसम्म किन्न सक्छौँ। त्यसमध्ये एक बोतल तपाईंका लागि अर्काे बोतल मेरा लागि।’
हामीले खरिद गर्दा एक लिटर क्वेचौ माओथाईको मूल्य १५ सय आरएमबी (चिनियाँ मुद्रा) अर्थात् करिब २८ हजार रुपियाँ पर्ने उनले बताए।
एक बोतलकै २८ हजार रुपैयाँ! मेरो साथमा त्यति रकम थिएन।
२८ हजार रुपियाँमा पाउँदासमेत मलाई महङ्गो लागेको एक लिटर माओथाईको खास मूल्य त्यो भन्दा दोब्बर (५६ हजार रुपियाँ) रहेछ।
अनौठो त के भने त्यति महङ्गो मूल्य तिर्दा पनि यो मदिरा सजिलै किन्न पाइने स्थिति थिएन।
‘विश्वव्यापी रुपमा यसको माग निकै छ, माग अनुसार कम्पनीले उत्पादन गर्न सक्दैन,’ झाङ पेइले सुनाए, ‘विश्वभरबाट अनलाइनमार्फत् प्रत्येक सेकेन्ड माओथाईको अर्डर आइरहेको हुन्छ। त्यही कारण यहीँ आइपुग्दासमेत हामीले माओथाई किन्न पाउँदैनौँ।’
नेपाल फर्केपछि मैले यो मदिरामाथि विदेशी सञ्चारमाध्यममा प्रकाशित विभिन्न सामाग्री पढेँ। त्यसपछि यसको मूल्यले मलाई अझ चकित बनायो।
त्यसपछि पो थाहा भयो, माओथाई कति किम्मती मदिरा रहेछ!
विश्वप्रसिद्ध मदिरा संकलनका शौखिनहरूले भिन्टेज (पुरानो) खालको एक बोतल माओथाईका लागि ५७ लाख रुपियाँ (तीन लाख आरएमबी) सम्म पनि तिर्दा रहेछन्।
त्यसो त, संग्रहालय परिसरभित्रको अतिथिगृहमा हामीलाई ‘भिन्टेज माओथाई’ चखाउने क्रममा एक कर्मचारीले यो कति किम्मति मदिरा हो भन्ने कुरा संकेत गरेका थिए।
गिलासभित्र करिब १० मिलिमिटर माओथाई मदिरा थियो। त्यसको महकसँग हामी अतिथिगृह छिर्नुअघि नै परिचित भइसकेका थियौँ। किनकि त्यसको मधुर–महक बाहिरसम्म पुगिसकेको थियो।
अतिथि गृहभित्र सबैले आ–आफ्नो कुर्सी–टेबल लिइसकेका थिए। त्यसपछि त्यहाँका कर्मचारीले इच्छुक पत्रकारहरूलाई आ–आफ्नो टेबल अगाडि रहेको सानो गिलासको माओथाई पिउन आग्रह गरे।
जसले पिए, अधिकांशको मुखबाट निस्केको शब्दावली थियो– ‘वाह, गजब रहेछ!’
‘तपाईंहरू हाम्रा अन्तर्राष्ट्रिय अतिथि हुनुहुन्छ,’ ती कर्मचारीले भने, ‘आतिथ्यस्वरुप हामीले आज तपाईंहरूलाई पचास वर्ष पुरानो माओथाई ‘सर्भ’ गरेका छौँ।’
मैले सोधेँ, ‘यदि हामीले पैसो तिर्नु परेको भए यसको मूल्य कति पर्छ!’
‘एक हजार आरएमबी।’ अर्थात् उनले सुनाएको मूल्य थियो– नेपाली १८ हजार रुपियाँ।
५० वर्ष पुरानो मदिरा! मलाई त्यति विश्वास लागेन। तर, एकै छिनपछि त्यो साँच्चिकै वर्षाैं पुरानो मदिरा रहेछ भन्नेमा विश्वस्त भएँ।
लगत्तै हामीलाई एउटा पुरानो भवनको ओसिलो कोठातर्फ लगिएको थियो। कोठामा प्रवेश गर्नुअघि हाम्रो साथमा रहेका इलेक्ट्रिक सामान (मोबाइल, क्यामरा, लाइटर आदि) बाहिरै राखिए।
कतिपय मानिसको शरीर वा कपडाबाट करेन्ट प्रवाह हुनसक्ने भएकाले विशेष उपकरणबाट त्यसको परीक्षण समेत गरियो। उच्च कोटिको मदिरा अत्यधिक प्रज्वलनशील हुने भएकाले यतिविघ्न सुरक्षाको ख्याल गरिएको रहेछ। करेन्ट प्रवाह नहुने पक्का भएपछि मात्र हामीले ओसिलो कोठामा प्रवेश पाएका थियौँ।
झण्डै फुटबल चौरजत्रो कोठाभरि पाँच सय लिटर मदिरा भण्डारण गरिएका दर्जनौँ घैँटा थिए। तिनमा वर्षाैंअघि उत्पादित मदिराको भण्डारण गरिएको रहेछ। प्रत्येक घैँटामा मदिराको उत्पादन सालसहितको स्टिकर टाँसिएको थियो।
मैले एउटा यस्तो घैँटो देखेँ, जसमा ‘जनवादी गणतन्त्र चीन’ को उमेर भन्दा पनि पुरानो मदिरा संग्रहित थियो।
त्यो घैँटोमा राखिएको मदिराको उत्पादन वर्ष सन् १९४३ थियो। जबकि ‘जनवादी गणतन्त्र चीन’ स्थापना भएको सन् १९४९ मा हो।
‘यहाँ संग्रह गरिएका मदिरा विशेष प्रयोजनका लागि हुन्’ मु झाङमेईले भनिन्, ‘त्यो विशेष प्रयोजन चाहिँ उल्लेख गर्न मिल्दैन।’
आफ्नो मुलुक भ्रमण गर्ने शीर्ष विदेशी पाहुनाहरूको स्वागतमा आयोजित दिवाभोज वा रात्रिभोजमा चीनले यही मदिरा प्रयोग गर्ने गर्छ। चिनियाँ शीर्ष नेताहरूले कसैलाई मदिरा उपहार (गिफ्ट) दिँदा अक्सर ‘भिन्टेज माओथाई’ दिने गरेका छन्।
पक्कै पनि विशेष भोज वा उपहारका लागि लामो समयदेखि यसरी माओथाई भण्डारण गरिएको हो।
माओथाई मदिराको महत्वका अनेकन कारण छन्। एउटा त यसको गुणस्तर हो। ‘माओथाई औषधीय गुणसहितको मदिरा हो,’ अनुसन्धाता झाङमेइले भनिन्, ‘अर्काे कारण यसको सेवनपछि टाउको दुख्ने लगायतका समस्या नआउनु हो। जबकि सेवनपछि अधिकांश मदिरामा टाउको दुखाउने समस्या हुन्छ।’
विगत तीस वर्षयता माओथाई मदिराले अमेरिका, जापान, विभिन्न युरोपेली मुलुकहरूबाट विभिन्न प्रदर्शनी र प्रतियोगिताहरूमा स्वर्ण पदक र पुरस्कार प्राप्त गरेको छ। उसले प्राप्त गरेका यी पुरस्कार र पदकको कारणले पनि यसको महत्व र चर्चा थप बढेको हो।
विश्व पहिचान, नाम र गुणस्तर यसको चर्चा र महत्वका थप कारण हुन्। ‘जनवादी गणतन्त्र चीन’ का संस्थापक राष्ट्रपति (माओत्सेतुङ) सँग मिल्दोजुल्दो नामको लाभ पनि ‘माओथाई’ लाई प्राप्त छ।
उत्पादन विधि, विशेष उत्पादनस्थल पनि यसको चर्चा र महत्वको अर्काे कारण हो।
विश्वस्तरका अन्य ब्रान्डका मदिरा जति छोटो र सहज तरिकाले उत्पादन हुन्छन्, माओथाई उत्पादन विधि त्यो भन्दा फरक र जटिल छ। उत्पादनको लागि समय पनि तीन गुणा बढी लाग्छ।
‘सेतो रङका अन्य मदिरा उत्पादन गरिँदा सामान्यतया २–३ पटक र बढीसेबढी पाँच पटक मात्र फर्मेन्टेसन गरिन्छन्,’ उपरोक्त पुस्तकमा भनिएको छ, ‘तर माओथाई उत्पादन गरिँदा ८ पटकसम्म फर्मेन्टेसन प्रक्रिया पूरा गरिन्छ। फर्मेन्टेसनमा गरिएको मेहनतका कारण माओथाईकोे स्वाद, गुणस्तर र बास्ना उच्चस्तरको हुने गर्छ।’
‘प्रत्येक पटकको फर्मेन्टेसनका लागि कम्तीमा एक महिना लाग्छ। सबै प्रक्रिया पूरा गर्दा यसको उत्पादनका लागि करिब एक वर्ष लाग्छ,’ अनुसन्धाता मुले थपिन्, ‘विशेष फर्मेन्टेसन प्रक्रियाका कारण यो अन्य मदिरा भन्दा विशेष बन्न सकेको हो।’
यति लामो प्रक्रिया पूरा गरेर उत्पादित यो मदिरालाई तत्काल बजारमा पठाइँदैन। थप ४० दिन अनुकूल वातावरण सहितको कोठामा यसको भण्डारण गरिन्छ, ताकि मदिराको गुणस्तर थप वृद्धि होस्, स्वादमा निखार थपियोस्।
जानकारहरूका भनाइमा मदिरा उत्पादन हुने माओथाई सहरको तापक्रम, माओथाई उत्पादनका लागि प्रयोग हुने पानी र उत्पादनका क्रममा गरिने विशेष स्याहार–सम्भारले गर्दा यसको स्वाद र वास्ना उच्चस्तरको हुने गरेको हो।
जस्तोः यो मदिरा उत्पादनका लागि चिसुई नदीको पानीको प्रयोग गरिन्छ। यो नदी रङ फेर्न माहिर नदीका रुपमा चर्चित छ। हिउँदमा यसमा पारदर्शी कञ्चन सेतो पानी बग्छ र नदीको रङ गाढा हरियो बन्छ। वर्षातका बेला पानी रगतजस्तै रातो भइदिन्छ। यही कारण यो नदीलाई रेड रिभर (रातो नदी) पनि नाम दिइएको छ।
अक्टोबर तेस्रो साता मनाइने चुङ युङ पर्वसम्म यो नदीमा कञ्चन पानी बग्न सुरु गरिसक्छ। मदिराका लागि आवश्यक पानीको संकलन चुङ युङ पर्वपछि सुरु हुन्छ।
‘यो नदीको पानी कञ्चन–ताजा छँदैछ, उत्तिकै मीठो पनि छ’ उपरोक्त पुस्तकमा भनिएको छ, ‘वैज्ञानिक परीक्षणबाट यो नदीको पानी मानिसको शरीरका लागि निकै लाभदायक भएको कुरा पनि पुष्टि भइसकेको छ।’
माओथाई कम्पनीले चीनका अन्य केही प्रान्तमा यसको उत्पादन प्रक्रिया सुरु गरेको थियो। तर, अन्य स्थानमा उत्पादित मदिरा माओथाईका जस्तो स्वादिलो र गुणस्तरीय हुन सकेनन्।
समुद्री सतहबाट ४ सय मिटरको उचाइमा रहेको माओथाई तीनतिर पहाडले घेरिएको सानो सहर हो। पहाडको खोँचमा चिसुई (रेड रिभर) छ। चीनका उष्ण सहरहरूको सूचीमा पर्ने यहाँको तापक्रम गर्मी मौसममा ४० डिग्री सेल्सियसम्म पुग्छ।
‘मदिराको स्वाद र गुणस्तर निर्धारणमा निर्माण प्रक्रियाका अलावा हावापानी र वातावरणको समेत महत्वपूर्ण भूमिका हुँदो रहेछ,’ अनुसन्धाता मुले भनिन्, ‘चिसुई नदीको पानी त छँदैछ, यो मदिराको गुणस्तर र स्वादमा यो स्थान (माओथाई) को मुख्य भूमिका छ।’
पारखीहरूका लागि यो मदिरा विशेष महत्वको हुने नै भयो, गुणस्तरका कारण यसको चर्चा अन्तर्राष्ट्रिय कूटनीतिमा पटक–पटक हुने गरेको छ। यसको महत्व र भूमिका नेपाल–चीन सम्बन्धमा समेत उत्तिकै छ।
ड्रिङ्क अफ डिप्लोमेसी
अनौपचारिक कुराकानीका क्रममा अनुसन्धाता मुले आफ्नो संकलनमा यस्तो एक तस्बिर रहेको बताइन्, जसमा ‘नेपालकी रानी र चिनियाँ राष्ट्रपति सँगै छन्’ भन्ने उनको भनाइ थियो।
अर्काे दिन ‘विच्याट’ मार्फत् उनले त्यो तस्बिर मलाई पठाइन्। असोज २०१८ मा राजा महेन्द्रको चीन भ्रमणका बेला खिचिएको तस्बिर रहेछ त्यो। तस्बिरमा चिनियाँ राष्ट्रपति ल्यू शाओचीसँग तत्कालीन बडामहारानी रत्नले मदिराको प्याला समातेर ‘चियर्स’ गरिरहेकी छन्।
यो तस्बिर उनले यसर्थ राखेकी रहिछन् कि चिनियाँ राष्ट्रपति ल्यू शाओची र रानी रत्नको हातमा रहेको प्यालामा माओथाई थियो।
नेपालका राष्ट्राध्यक्षको पहिलो चीन भ्रमणका बेला आयोजित रात्रिभोजमा पनि माओथाई नै प्रयोग गरिएको रहेछ भन्ने कुराको प्रमाण हो, त्यो तस्बिर।
राजा महेन्द्रअघि नेपालका दुई प्रधानमन्त्रीले चीनको भ्रमण गरे। त्यसमध्ये पहिलो भ्रमण प्रधानमन्त्री टंकप्रसाद आचार्यको थियो। चीन भ्रमण गर्ने दोस्रो प्रधानमन्त्री बीपी कोइराला थिए।
नेपाली प्रधानमन्त्रीले गरेका यी दुबै चीन भ्रमणमा आयोजित ब्याङ्क्वेट (भोज) मा माओथाईलाई नै ‘टोस्ट प्रस्ताव’ का लागि प्रयोग गरिएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यस्ता भोजमा माओथाईको प्रयोगलाई अतिथिहरूलाई ‘उच्च सम्मान’ गरिएको रुपमा अर्थ्याउने गरेका छन्।
राष्ट्रपतिका रुपमा सी चिनफिङको पहिलो अमेरिका भ्रमण सन् २०१३ भएको थियो। उनको सम्मानमा अमेरिकी राष्ट्रपतिले क्यालिफोर्नियामा ब्याङ्क्वेट आयोजना गरे। त्यहाँ माओथाईले ‘चियर्स’ गरे।
दुई महाशक्ति राष्ट्रका राष्ट्रपतिको भेटसँगै माओथाईको प्रयोगले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ठूलो चर्चा पायो।
अमेरिकी टेलिभिजन केवल न्युज नेटवर्क (सीएनएन) ले १८ जनवरी २०२१ (५ माघ २०७७) को अनलाइन संस्करणमा माओथाईबारे विशेष समाचार–सामग्री प्रकाशित गरेको थियो। एसिया–प्यासिफिक क्षेत्र कभर गर्ने बिजनेस संवाददाता मिसेल तोहले सो समाचार सामग्री तयार पारेकी थिइन्। त्यसमा उनले माओथाईलाई चीनको ‘ड्रिङ्क अफ डिप्लोमेसी’ (कूटनीतिक मदिरा) को उपमा दिएकी छन्।
सो सामग्रीसँगै सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको सम्मानमा प्रधानमन्त्री चाउ एनलाइले आयोजना गरेको ‘ब्याङ्क्वेट’ मा खिचिएको तस्बिर पनि प्रकाशित छ।
तस्बिरमा निक्सन र चाउ एनलाइ माओथाईको प्याला चियर्स गर्दै चीन–अमेरिका सुमधुर सम्बन्धको कामना गरिरहेका छन्।
अमेरिका–चीन सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालीन अमेरिकी विदेशमन्त्री (सेक्रेटरी अफ स्टेट) हेनरी किसिन्जरको निमन्त्रणमा सन् १९७४ मा चिनियाँ नेता देङ स्याओपिङले अमेरिकाको भ्रमण गरेका थिए। किसिन्जरले देङको सम्मानमा राजकीय भोज आयोजना गरे।
किसिन्जर–देङबीचको वार्तालापको अंश पनि ‘सीएनएन’ को सो समाचार सामग्रीमा उद्धृत गरिएको छ। कुराकानीमा किसिन्जरले दुई मुलुकबीचको सम्बन्ध सुदृढीकरणमा माओथाई मदिराको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
‘आज हामी प्रशस्त माओथाई पिऊँ,’ अमेरिकी विदेशमन्त्री किसिन्जर चिनियाँ नेता देङसँग भन्छन्, ‘यदि हामीले माओथाई पियौँ भने हामी (चीन–अमेरिका सम्बन्धका) जस्तोसुकै समस्या पनि समाधान गर्न सक्छौँ।’
यो भनाई ठट्टाजस्तो लाग्न सक्छ। तर यो अभिव्यक्ति कूटनीतिक–राजनीतिक वार्तालापका बेला माओथाईले हार्दिक वातावरण निर्माण गर्छ भन्ने किसिन्जरको विश्वासको परिणाम थियो।
संयोग पनि कस्तो भने क्यालिफोर्नियामा राष्ट्रपति सीसँग सँगै बसेर माओथाई पिएका अमेरिकी राष्ट्रपति बाराक ओबामाको पालासम्म चीन–अमेरिका सम्बन्ध सुमधुर रह्यो। ओबामा यताका राष्ट्रपतिद्वय डोनल्ड ट्रम्प र जो बाइडेनसम्म आइपुग्दा दुई मुलुकको सम्बन्ध अत्यन्त खराब छ।
नेपाल–चीन सम्बन्धमा पनि माओथाईको भूमिका देखिन्छ।
आफ्नो ‘आत्मवृत्तान्त’ मा बीपीले चीन भ्रमणको वर्णन गरेका छन्। उनको चीन भ्रमणको एउटा अभिन्न पक्ष माओथाई समेत थियो।
पिउने कुरामा शौखिन थिए बीपी। थोरै होस्, तर उच्चस्तरको पेय मन पराउँथे। उनको यो स्वभाव भाइ गिरिजाप्रसाद कोइरालाले समेत पछ्याए।
थोरै तर मीठो पिउन मन पराउने बीपीको सम्मानमा आयोजित रात्रिभोजमा चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले माओथाईकै बन्दोबस्त गरे। त्यो बेला खिचिएको दुई प्रधानमन्त्रीको हातमा देखिने प्याला माओथाईकै हो।
त्यो भ्रमणपछि यी दुई नेताबीचको सम्बन्ध थप सौहार्द्रपूर्ण बन्यो। बीपीको ज्यादा निकटता भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग थियो। तर सम्बन्धमा सौहार्द्रता भने चाउ एनलाइसँग बढी थियो।
जस्तो कि आत्मवृत्तान्तमा बीपी भन्छन्, ‘चू एनलाइजस्तो सभ्य र सुसंस्कृत मान्छे मैले कम्ती देखेको छु, (देख्न त) जवाहरलाल नेहरुलाई (पनि) देखेको छु। मलाई लाग्छ– दुइको तुलना मैले गर्नुपर्यो भने चु एनलाइ ज्यादा परिष्कृत जस्तो लाग्छ।’
बीपीको चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङसँग समेत भेटवार्ता भएको थियो। हाङ्जाओमा दिनभर घुमफिर र भेटवार्तामा बिताएका बीपीले सुत्न लागेका बेला माओसँग भेटवार्ता हुने खबर पाएका थिए।
आत्मवृत्तान्तमा उल्लेख भएअनुसार माओसँग भेटघाट हुनुअघि उनले अलिकति ‘ड्रिङ्क’ पनि गरिसकेका थिए।
तैपनि दुईबीचको भेटवार्ता (१७ मार्च १९६० अर्थात् ४ चैत्र २०१६) सौहार्द्रपूर्ण रह्यो। जबकि भेटवार्तामा नेपाल–चीनबीच पेचिलो विषय बनेको सगरमाथाको स्वामित्व सम्बन्धी विषयले पनि प्रवेश पाएको थियो।
दुई नेताबीचको कुराकानीको विवरण चीनको परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित ‘माओत्सेतुङ अन डिप्लोमेसी’ पुस्तकमा छ। त्यसबाट दुई नेताबीचको कुराकानी कति सौहार्द्र थियो भन्ने जानकारी पाउन सकिन्छ।
राजा महेन्द्रदेखि वीरेन्द्र र ज्ञानेन्द्रसम्म, प्रधानमन्त्री टंकप्रसाद आचार्यदेखि पुष्पकमल दाहाल (प्रचण्ड) सम्म जो–जो चीन भ्रमणमा गएका छन्, तिनको स्वागतमा आयोजित भोजको मेनुमा माओथाई हुन्छ–हुन्छ।
हरेक उच्चस्तरीय भ्रमणहरूको सुखद संयोग यो छ कि ती भ्रमण विवादरहित छन्। सफल छन्। विवाद निरुपण भएका छन्।
विवाद निरुपणमा माओथाईको पनि भूमिका हुन्छ भन्ने किसिन्जरको भनाइलाई स्वीकार गर्ने हो भने नेपाल–चीन सम्बन्धलाई उचाइमा पुर्याउन माओथाईको पनि भूमिका छ भन्ने कुरा मान्नुपर्ने हुन्छ।
Shares
प्रतिक्रिया