ad ad

कारोबार


दसैँ मनाउँदा ऋण लाग्यो, त्रिशूलीको बालुवामा सुन खोज्न निस्किए हर्कबहादुर बोटे

दसैँ मनाउँदा ऋण लाग्यो, त्रिशूलीको  बालुवामा सुन खोज्न निस्किए हर्कबहादुर बोटे

दसैँ मनाउँदा लागेको ४० हजार ऋण तिर्न त्रिशूलीको बालुवामा सुन खोज्न घरबाट निस्किएका हर्कबहादुर बोटे। तस्बिर: रासस


नेपालखबर
कात्तिक १२, २०८० आइतबार १३:१९, तनहुँ

दसैँ मनाउँदा लागेको ऋण तिर्न तनहुँको व्यास–१० कोमलटारीका बोटे समुदायका पुरुष त्रिशूली किनारतर्फ लागेका छन्। 

गाउँका १० भन्दा धेरै बोटे पुरुष सुनको कणको खोजीमा त्रिशूली किनारातर्फ लागेका हुन्

‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन। तीसरचालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो,’ शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ। आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला।’

पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताए। मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ।

यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मर्स्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन्। प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिए।

सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान ९पाटी० अनिवार्य  लैजानुपर्दछ।

सुन खोज्दा नदी किनारामा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ।घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुग्नुभएका कमल बोटेले बताए।

बालुवा चाल्ने क्रममा महिनाको करिब रु २० हजार बराबरको काँचो सुन संकलन हुनेसमेत कमलले जानकारी दिए।

घरमा मकैखेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताए। करिब ४५र५० दिन सुन चालेर घर फर्किने गरेको उनको भनाइ छ।

‘अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु,’ उनले भने, ‘माघे सङ्क्रान्ति मान्न घर फर्किँदा त्यस्तै २५र३० हजार हातमा पर्ला कि भन्ने विश्वासमा छु।मेहनतको कुरा हो यसै भन्न सकिँदैन।’

पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ।

सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले सुनाए।

यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .