कारोबार


५ महिनामै १७ कराेडकाे विद्युत् चुहावट

५ महिनामै १७ कराेडकाे विद्युत् चुहावट

प्रकाश न्यौपाने
माघ १३, २०७६ सोमबार ५:३२,

रुपन्देहीमा ५ महिनामै १ करोड ८० लाख युनिट विद्युत् चुहावट भएको पाइएको छ।

विगतको तुलनामा चुहावट केही घटे पनि अझै १ करोड ८० लाख युनिट चुहावट भएको नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले जनाएको छ। यो तथ्यांक ०७६ साउनदेखि मंसिर मसान्तसम्मको हो।

उक्त युनिटबराबर १७ करोड मूल्य हुन आउँछ। पुस महिनामा कति चुहावट भयो भन्ने अझै तथ्यांक ननिस्किसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरण वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झाले अहिले प्रतिमहिना सवा तीन करोड मूल्यबराबरको विद्युत् चुहावट हुने गरेको जानकारी दिए। वितरण केन्द्रको भैरहवा, लुम्बिनी र धकधई कार्यक्षेत्र पर्छ।

‘गत आर्थिक वर्षको तुलानामा चालु वर्षमा २ प्रतिशतले चुहावट घटेको छ। तर, नियन्त्रण गर्न सकिएको छैन’, उनले भने।

अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ मा १२ दशमलव ९ प्रतिशत विद्युत् चुहावट भएको थियो। चालू आवमा चुहावट दर गरेर १० दशमलव ९ प्रतिशतमा पुगेको छ।

‘हाम्रो प्रयासले चुहावट घटेको छ। हामी रातदिन चुहावट निर्मूल पार्न लागेका छौं। तर आमनागरिक जिम्मेवार नबन्दा केही समस्या परेको छ’, झाले भने।

उनका अनुसार प्रत्येक महिना चुहावट दर घटिरहेको छ। साउनमा ७९ लाख युनिट विद्यूत चुहावट भएकामा मंसिर महिनामा आउँदा घटेर १५ लाख युनिटमा पुगेको छ। प्राधिकरणले चालु आवमा बाइपास मिटर गरेका ४५ जना र हुकिङ कार्यमा संलग्न ५ जना गरी ५० जनालाई कारबाही गरेको छ। पछिल्लो समय चुहावट गर्नेहरु घट्नु प्राधिकरणलाई धेरै सफलता मिलेको उनले जनाए।

झाका अनुसार कारबाहीमा परेका ५० जनालले ४२ हजार एक सय ९० युनिट चुहावट गरेका थिए। उनीहरुलाई कारबाही गरी १२ लाख रकम असुली समेत भएको उनले बताए। चुहावट हुने विद्युत्मा प्राविधिकतर्फ ५० प्रतिशत र अप्राविधिकतर्फ ५० प्रतिशत छ। प्राविधिक भन्नाले तारमा करेन्ट बगेर हुने चुहावट हो भने अप्राविधिक भन्नाले हुकिङ, मिटर बाइपास, डिमान्ड चुहावट हो।

प्राधिकरणको कार्यक्षेत्रअन्तर्गत मासिक आयत २ करोड ५६ लाख १२ हजार युनिट छ। तर, विक्री युनिट भने २ करोड ३९ लाख ८९ हजार भएको झाले बताए। प्राधिकरण भैरहवा शाखाअन्तर्गत ७२ हजार ग्राहक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad