अमेरिकी प्रसिद्ध बास्केटबल खेलाडी कोबे ब्रायंटको आइतबार अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको एक हेलिकोप्टर दुर्घटनामा निधन भएको छ।
आफ्नो नीजी हेलिकोप्टरमा यात्रा गरिरहेका ब्रायंटसँगै उनकी १३ वर्षिया छोरी जियानासहित ९ जनाको पनि उक्त दुर्घटनामा ज्यान गएको छ।
संसारभरिबाट बास्केटबलका ५ महान खेलाडीको नाम लिइएमा कोबेको नाम पहिलो नम्बरमा लिइन्थ्यो। निधनसँगै संसारभर ट्विटर फेसबुकको शीर्ष ट्रेन्डमा उनकै नाम रहेकोबाट पनि उनी कति लोकप्रिय थिए भन्ने पुष्टि हुन्छ।
छोरि जियानाका साथ कोबे
कोबेको मृत्युको समाचारले नेपाली खेलजगत् समेत स्तब्ध बनेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले उनीप्रति समावेदना प्रकट गर्दै उनी आफू र आफ्नो पुस्तालाई उप्रेरित गर्ने खेलाडी भएको उल्लेख गरेका छन्।
यस्तै राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले कोबेको तस्बिरमा चुम्बन गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै आफ्नो हृदयमा चोट पुगेको उल्लेख गरेकी छिन्। उनले हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सबैप्रति समावेदना व्यक्त गर्दै परिवारजनमा धैर्यधारणको शक्ति प्रदान होस् भनेर प्रार्थना गरेकी छिन्।
नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ कोबेलाई सम्झदै
यस्तै कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले कोवे दुनियाँको सर्बश्रेष्ठ खेलाडी रहेको भन्दै उनको निधनले विश्व बास्केटबललाइ अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले कोवेको निधनको खबर अपत्यारिलो रहेको उल्लेख गर्दै उनीप्रति समावेदना व्यक्त गरेका छन्।
यस्तै नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले कोवेले धेरै पुस्तालाई उप्रेरित पारेको र उनी सधैँ आफ्ना प्रिय खेलाडी रहेको बताएका छन्।
नेपालमा मात्रै नभएर विश्वभरबाट उनलाई समावेदना प्रकट भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा लगायतले उनलाई सम्झेका छन्।
बाराक ओबामा लेख्छन्, ‘बास्केटबल खेलको कोर्टमा कोवे एक महान पात्र थिए। र, उनी आफ्नो जिन्दगीको दोस्रो अध्याय शुरु गर्न लागेका थिए। जियनालाई गुमाउनु एक आमा–बुबाको रुपमा ज्यादा मन दुख्ने घटना हो। मिसेल र हाम्रो परिवारको तर्फबाट उनको परिवारको सहनशक्तिको प्रार्थना गर्छौ।’
बास्केटबलका जादुगर थिए कोबे
पाँचपटक नेशनल बास्केटबल एसोसियसन(एनबीए)को च्याम्पियन रहेका कोबेलाई बास्केटबल इतिहासमा सबैभन्दा सफल र महान खेलाडीमध्ये एक मानिन्थ्यो।

उनको निधनपछि एनबीएले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोबे ब्रायंट र उनकी १३ वर्षीया छोरी जियानाको दुखद मृत्युले हामी सबै अकल्पनीय शोकमा छौं। २० वर्षसम्म कोबेले जब प्रतिभावान व्यक्तिले जितका लागि पूरै समर्पणका साथ आउँछ तब के सम्भव छ देखाइदिएँ।’
कोबेले आफ्नो २० वर्षे करिअरमा सधैँ लस एन्जेलस लेकर्सबाट खेले। २०१६ अप्रिलमा रिटायर भएका उनले २००८ मा सबैभन्दा पहिले एनबीएको महान खेलाडीको पुरस्कार जितेका थिए। उनले दुईपटक एनबीए फाइनलमा मोस्ट भ्यालुएवेल खेलाडीको उपाधि समेत जिते।
कोबेको नाममा दुई पटक एनबीए स्कोरिङ च्याम्पियन तथा दुई पटक ओलम्पिक खेलमा च्याम्पियनको उपाधि पनि छ। २००६ मा टोरेंटो रेपटर्सविरुद्ध उनले एक खेलमा ८१ अंक हासिल गरेका थिए। जुन उनको खेल जीवनको सर्वाधिक ठूलो सफलतामध्ये एक हो।
बास्केटबलदेखि ओस्कारसम्म
काेबेले बास्केटबलको दुनियाँमा पुरस्कार र सम्मान हासिल गर्नुका साथसाथै ओस्कारमा पनि अवार्ड हासिल गरेका थिए।
कोबेले २०१५ मा बास्केटबलको एक प्रेमपत्र लेखेका थिए। उक्त प्रेमपत्रमा आधारित भएर बनेको डियर बास्केटबल नामको छोटो एनिमेटेड फिल्मलाई ओस्कार अवार्डबाट सम्मानित गरिएको थियो।
Shares

प्रतिक्रिया