नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले रू दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ।
विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिनुभयो। उहाँका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन।
इञ्जिनियर चौहनले उद्योगले हालसम्मको रू दुई अर्ब २४ करोड विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए।
'उद्योगलाई विद्युत् आपूर्ति सहज गराउन ‘लोडसेडिङ’को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो', उनले भने, 'त्यसबेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ।'
उद्योगसहित विद्युत् बक्यौता नतिर्ने नौ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताए।
महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उनको भनाइ थियो।
'कालोसूचीमा रहेका पाँच जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ', इञ्जिनियर चौहनले भने, 'पाँचजनाबाट एक लाख २२ हजार पाँच सय ९२ सङ्कलन गरिएको छ।'
उनका अनुसार सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भने भइरहेको छ।
प्राधिकरण हेटौँडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको उनले बताए।
विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ थियो।
विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले रू एक लाख ६६ हजार ९१ जरिवाना लिएको उनले जानकारी दिए।
Shares

प्रतिक्रिया