राजनीति


महराका बाबु–छोरा मुछिएको सुनकाण्ड पनि छानबिन गर्नेछ जाँचबुझ आयोगले

महराका  बाबु–छोरा मुछिएको सुनकाण्ड पनि छानबिन गर्नेछ जाँचबुझ आयोगले

नेपालखबर
भदौ ६, २०८० बुधबार १४:३६, काठमाडौँ

सरकारले असोज ५ गते गठन गर्ने भनिएको जाँचबुझ आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण्बहादुर महराका बाबुछोरा मुछिएको ९ किलो सुन तस्करी प्रकरण पनि अनुसन्धान गर्ने भएको छ। 

आज बिहान बसेको सर्वदलीय बैठकमा सत्ताधारीसहित राष्ट्रिय मान्यता प्राप्त सात दलले ६० किलो सुन तस्करीसहित गत माघमा विमानस्थलबाट बरामद भेपमा ल्याइएको ९ किलो सुन तस्करीबारे पनि आयोगद्वारा अनुसन्धान गर्ने सहमति भएको हो। 

९ किलो सुनकाण्डमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको नामसमेत जोडिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानको प्रतिवेदनमै उनीहरूले उक्त प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग पटकपटक फोन संवाद गरेको उल्लेख गरिएको छ। यद्यपि उनीहरूले भने फोन सम्पर्क हुँदैमा तस्करीमा संलग्न आरोप लगाउनु गलत भएको जिकिर गरिरहेका छन्।

बुधबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा राखेको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त सातै दलका प्रमुख सचेतकले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिपत्रअनुसार असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने र त्यही दिनदेखि यसले काम थाल्ने उल्लेख गरिएको छ। 

सहमतिपत्रको बुँदा नम्बर २ मा भनिएको छ, ‘विदेशबाट इलेक्ट्रिक सिगरेट (भेप्स) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक–सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुनलगायत पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०/०६/०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .