ad ad

कारोबार


मधेशका ५५० भन्दा बढी स्थानबाट टेलिकमको जीएसएम सेवा उपलब्ध

मधेशका ५५० भन्दा बढी स्थानबाट टेलिकमको जीएसएम सेवा उपलब्ध

नेपालखबर
साउन ७, २०८० आइतबार १९:५, काठमाडौँ

नेपाल टेलिकमले मधेश प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ।

यस्तै, कम्पनीले ३० भन्दा बढी स्थान (ओएलटी) बाट एफटीटीएच वितरण गरिरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले बताएका छन्।

टेलिकमले मधेश प्रदेशको जनकपुरधाम र सिमरामा आयोजना गरेको टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रममा पौडेलले मधेशमा जनसंख्या धेरै भएको र यसको अनुपातमा कम्पनीका प्रयोगकर्ता समेत बढाउनका लागि आवश्यक सहकार्य गर्न आग्रह गरे।

निर्देशक पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०।८१ मा मर्मत संभार कार्यलाई विशेष सेवाको रुपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरु तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आग्रह गरिन्। यसका लागि आवश्यक योजना बनाउन र डिजिटल डिभाइडलाई न्यूनीकरण गर्नका लागि निर्देशन दिइन्। सरकारले प्रत्येक प्रदेशका कम्तीमा दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने योजनाका साथ कार्य गरिरहेको र क्रमशः सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने बताइन्।

मधेश प्रदेशका पर्यटन मन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पुर्याउनु पर्छ भन्ने मान्यता जनतामा रहेको र यसका लागि छिटो छरितो रुपमा सेवा उपलब्ध गराउनु पर्ने बताइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं कम्पनी सञ्चालक समितिका निमित्त अध्यक्ष बाबुराम भण्डारीले नेपाल टेलिकमलाई कस्तो बनाउने र कता लैजाने भन्ने विषयमा महत्वपूर्ण सुझाव प्राप्त गरेको बताउँदै सुझाव र निर्देशनका लागि आभार व्यक्त गरे।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको उपभोग गर्न पाउनु सबैको अधिकार भएको र यसका लागि समन्वयको भूमिकामा प्राधिकरण रहेको बताउँदै मधेश प्रदेशका राजमार्ग लगायतका स्थानमा टावर लगायतका संरचना निर्माणमा समन्वय गरिदिनका लागि जनप्रतिनिधिहरुको भूमिका हुने बताए।

नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमुल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवा र आगामी योजनाका वारेमा जानकारी दिए। आगामी दिनमा ग्राहकको सबै गुनासो प्रदेशस्तरमै समाधान गर्ने लक्ष्यका साथ कार्य भइरहेको बताउँदै उनले आगामी दिनमा ग्राहक सेवा केन्द्रलाई चुस्त दुरुस्त बनाई अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले आम उपभोक्ताले प्रयोग गर्ने दूरसञ्चार सेवा गुणस्तरीय बनाउनु कम्पनीको दायित्व भएको र यसका लागि प्राधिकरणले नियामकको रुपमा सधै सहयोग गर्ने बताए।

सो अवसरमा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुको वारेमा उप–प्रबन्धक नवल चौधरी र ब.ई. बन्टी श्रेष्ठ, कम्पनीका सेवाहरु विदेशमा समेत प्रयोग गर्न सकिने रोमिङ सेवाको वारेमा उप–प्रबन्धक समिर बहादुर श्रेष्ठ र मधेश प्रदेशमा नेपाल टेलिकमको सेवाको अवस्था वारेमा उप–प्रबन्धक निरञ्जन घिमिरेले प्रस्तुतिकरण गरेका थिए।

अन्तरक्रियाको अवसरमा जनप्रतिनिधिहरुले नेपाल टेलिकमको सेवा वारेमा आफ्नो धारणा व्यक्त गर्नुका साथै यसलाई प्रभावकारी बनाउने बारेमा आफ्नो अनुभव प्रस्तुत गरेका थिए।

जनप्रतिनिधिहरुले राखेका विभिन्न जिज्ञासाको बारेमा माननीय मन्त्रीका साथै कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेल तथा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, वायरलेस सेवा निर्देशनालय निर्देशक मिनु प्रधान लगायतले स्पष्ट पारेका थिए।

कार्यक्रममा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ र ज्वालाकुमारी साह, संघ र प्रदेशका सांसदहरु, स्थानीय निकायका प्रमुखहरु र अन्य क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .