नेपालको जीवन शैली र संस्कृति झल्किने नेपाल भ्रमण वर्ष २०२० को प्रतीक (लोगो) सार्वजनिक गरिएको छ। भ्रमण वर्षमा पर्यटकलाई थप आकर्षित गर्नका लागि ब्राण्डिङमार्फत मुलुकको दैनिक जीवनशैली, संस्कृति र परम्परा झल्काउने मुख्य उद्देश्यले लोगो सार्वजनिक गरिएको हो।
लोगोमा पहेँलो र रातो रंगलाई मुख्य प्राथमिकता दिइएको छ। पहेँलो रंगले ज्ञान र अध्ययनलाई संकेत गर्छ जुन विभिन्न मन्दिर र गुम्बामा देख्न सकिन्छ। रातो रंगले प्रेमलाई संकेत गर्छ जुन नेपालीहरुको शुभ समारोह र मुख्य चाडमा प्रयोग गर्छन् । नेपालको संस्कृति, परम्परा र दैनिक जीवन शैली प्रतिविम्बित गर्ने रातो र पहेँलो रंग भएको कारण ब्राण्डिङका लागि यी दुईवटा रंगमार्फत डिजाइन गरिएको भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले जानकारी दिए।
भ्रमण वर्ष २०२०को ब्राण्डिङको जिम्मा भने इमेज आर कम्पनीले तयार गरेको हो। भ्रमण वर्षको लागि तयार पारिएको ब्राण्डिङमा रंगको सहायतले नेपालको पूर्ण परिचय झल्किने कम्पनीकी संस्थापक मार्यान्स होमग्रन सिल्भाले बताएकी छन् । भ्रमण वर्ष आत्मियता, संस्कृति र साहस लगायतमा केन्द्रित रहेको छ। नेपालको जीवन शैली र पर्यटक लक्षित चित्र मुलुकका बस विसौनी, सार्वजनिक यातायात, पर्यटक यातायात, ध्वजावाहक, दैनिक प्रयोग गरिने रिसाइकल ब्याग, नक्सा किताब, पहिरन लगायतमा प्रयोग गरिनेछ। जसले गर्दा नेपालको पहिचान झल्किनेछ।
नेपालमा धेरै पर्यटक आउने देशमा भारत पहिलो‚चीन दोस्रो र अमेरिका तेस्रोमा पर्छ। यी देशहरूका बाहेक अन्य देशहरूमा नेपाल सबैजसो पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी पुर्याउने र उनीहरूलाई आकर्षित गर्ने गरी काम अघि बढाइएको छ। भारत र चीन दुईवटा बजारमा अझै धेरै प्रचारप्रसार र म्यान्मार‚ भियतनाम‚ बंगलादेशबाट सङ्ख्या बढाउने सकिने पर्यटन विभागले जनाएको छ।

प्रतिक्रिया