जेठ महिनामा चकमन्न घामको राप।
मुगुको सदरमुकाम गमगढीमा स्थानीयले बिहानै पसल खोल्न थालेका थिए। सँगै देखिए चिकित्सकहरूको टोली पनि।
उनीहरू आफनो सामान निकालेर बस्न थालेका के थिए, २० कटेका युवतीहरूको एक टोली त्यहाँ आइपग्यो। चर्को घाममा पनि ५० वर्ष उमेर समूहका महिलाहरू पनि हस्याङफस्याङ गर्दै आइरहे।
काठमाडौंबाट चिकित्सक आउने खबर एक साताअघि नै मुगु जिल्लाका गाँउमा फैलिएको थियो। अस्पताल कहिल्यै नगएका महिलाहरू चिकित्सक गाउँमै आउने थाहा पाएर ५ घण्टा लामो बाटो हिँडेर पुगेका थिए।
ग्लोबल आईएमई बैंकले परिवार नियोजन संघको सहकार्य र स्थानीयतहको समन्वयनमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न त्यहाँ हेल्थ क्याम्प आयोजना गरिएको थियो। सो क्याम्पमा स्वास्थ्य जाँचका लागि मुगुका २७३ जना महिना पुगेका थिए। त्यहाँ बसोबास गर्नेहरूलाई उपचार गराउन १५ देखि १६ घण्टा यात्रा तय गरेर जोखिमको बाटो हुँदै सुर्खेत पुग्नुपर्ने बाध्यता थियो।
आफ्नो नजिकै चिकित्सक आउने भएपछि महिलाहरू आफूलाई केही समस्या छ कि भन्दै पुगेका थिए।

चिकित्सकको टोली दिनभर परीक्षणमा जुट्यो। महिलाहरू भने केही असहज मान्दै परीक्षण गराउन पुगिरहेका थिए। चिकित्सकको टोलीले कुनै लक्षण देखे नदेखेको भन्दै सोध्न थाले।
सोही भिडमा थिइन्– ५० वर्षीया कमला रावल (नाम परिवर्तन)।
निकै समयदेखि गुम्सिएको स्वास्थ्य समस्या देखाउन पाइने आशामा उनी गमगढी पुगेकी थिइन्।
‘कहिलेकाहीँ तल्लो पेट दुख्थ्यो, रगत बग्थ्यो। कतिलाई भन्नु? लाज लागेर सहेरै बसेकी थिएँ’, शिविरको पालो पर्खिरहँदा उनले मधुरो स्वरमा भनिन्, ‘यहाँ सित्तैमा जाँच्न पाइन्छ भनेर आएकी।’
परीक्षण गर्दा उनमा पाठेघरको मुखको क्यान्सर देखियो।
क्यान्सर फैलिसकेको चाल पाएपछि कमलाले आँखाभरि आँशु पार्दै चिकित्सकसँग सोध्न थालिन्, ‘मलाई ठूलै रोग लागेको हो र?’
कमलाले मलिनो स्वरमा अब के गर्नुपर्छ, उपचार गर्न कति पैसा लाग्छ, उपचार गर्न कुन अस्पताल जानुपर्छ भन्दै छटपटिँदै चिकित्सकसँग सोधिन्।
चिकित्सकले उनलाई पाठेघरको मुखको क्यान्सर भएको र उपचार गरे निको हुने बताए।
‘तपाईंको जस्तै रोग पहिचान भएका तर कमजोर आर्थिक अवस्थाले गर्दा उपचार गराउन नसक्ने महिलाहरूको उपचारको लागि ग्लोबल आईएमई बैंकले यहाँ शिविर सञ्चालन गरेको हो’, चिकित्सकले सम्झाउँदै भने, ‘तपाईंको उपचारको लागि हामीले यहीँ व्यवस्था मिलाउँछौँ। अनि उपचारको लागि लाग्ने खर्च पनि बैंकले नै आफैँ व्यवस्था गरेको छ।’
चिकित्सकले त्यति भनेपछि कमलाको अनुहारमा अलि सहजता देखिएको थियो। अलि सहज अनुहारसहित कमलाले चिकित्सकसँग सोधिन्, ‘अब उपचारको लागि मैले के–के गर्नुपर्ने हुन्छ?’
उक्त शिविरमा त्यही उपचारको लागि चिकित्सकहरूसहित ‘थर्मोकोएगुलेसन’ उपकरण बोकेर लगिएको थियो।
चिकित्सकले कमलाको प्रश्नको उत्तर दिए।
‘उपचार गरे निको हुन्छ। यहीँ नै चिकित्सकको टोलीले तपाईंको उपचार गर्नुहुन्छ। उपचारका लागि तपाईंको श्रीमानको स्वीकृति चाहिन्छ, परिवारको स्वीकृति लिएर तपाईंको उपचार हुन्छ’, चिकित्सकले आश्वस्त पारे।

कमला उत्साहित भइन्। आफ्नो घरमालिकलाई बोलाउन भन्दै नजिकै रहेकी अर्को साथीलाई फोन गर्न लगाइन्।
फोन गरेको ३० मिनेटमै कमलाको श्रीमान् शिविर रहेको स्थानमा आइपुगे। कमला र उनका श्रीमान्सँग चिकित्सकले रोगको जानकारी दिए र रोगको उपचारको प्रक्रियाबारे समेत जानकारी दिए।
कमला र श्रीमानको स्वीकृतिपश्चात् चिकित्सकहरु उपचारको तयारीमा लागे। कमलाको श्रीमान् शिविर रहेको ठाँउमा बसेर र अलि डराएजस्तो देखिन्थे।
उनले त्यहाँ शिविरमा बैंकको कोही मान्छे भए भेट्ने इच्छा जाहेर गरे। बैंकको प्रतिनिधिसँग भेटे र बैंकको प्रतिनिधिलाई धन्यवाद दिँदै भने, ‘म विदेशमा गएर पनि राम्रो कमाइ गर्न नसकी नेपाल फर्किएको थिएँ। श्रीमतीले बेलाबखतमा पेट दुःखेको कुरा सुनाउँथिन्। तर उपचारको लागि पैसाको चाँजोपाँजो नहुदाँ सुर्खेत जान समेत सकेको थिइनँ। तर आज बैंकले यहीँ घरनजिकै चिकित्सकको टोली र उपचारको व्यवस्था गरिदिँदा साह्रै खुसी लाग्यो।’
शिविरको भित्रबाट एक कर्मचारीले कमलाको श्रीमान्लाई बोलाउँदै भने, ‘उपचारको प्रक्रिया सकियो। उहाँलाई राम्रो छ, उपचार राम्रो भयो।’
शिविरमा आएका २७३ जना महिलाको परीक्षण गर्दा कमलासहित ८ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको थियो। र, एक जनाबाहेक बाँकी ७ जना महिलाको उपचार त्यहीँ गरिएको थियो।
क्यान्सरको कोषिकाहरू बढ्न नदिन चिकित्सकले थर्मोकोएगुलेसनको प्रयोगबाट नष्ट गर्ने गर्छन्।
स्वास्थ्य क्याम्पमा ७ जना महिलालाई त्यही प्रविधिमार्फत उपचार गरिएको थियो। यसरी उपचार गरिएकाहरू पछि अस्पतालमा ‘फलो अप’मा जानुपर्छ।
स्वास्थ्यशिविरमा गएका परिवार नियोजन संघका उपत्यका शाखा प्रबन्धक प्रकाश डंगोल पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गरेपछि त्यहीँ उपचार गर्ने गरेको बताउँछन्।
‘चिकित्सक र तालिमप्राप्त जनशक्तिसहित जान्छौँ। त्यहीँ परीक्षण गर्छौँ। परीक्षण गर्दा क्यान्सर देखिए उपचार गर्ने व्यवस्था पनि मिलाएका छौँ’, उनले भने, ‘थर्मोकोएगुलेसनमार्फत क्यान्सरको सेल सेकेर मार्ने गरेका छौँ।’

ग्लोबलको पहल
ग्लोबल आईएमई बैंकले विगत ५ वर्षदेखि ‘स्वास्थ्य नारी पहल’ कार्यक्रमअन्तर्गत वर्षेनी सातै प्रदेशमा हेल्थ क्याम्प गर्दै आएको छ। जसमा मुगु जिल्लामा सबैभन्दा बढी ८ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको परीक्षणमा सहभागी चिकित्सकले जनाएका छन्।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरेको महिला स्वास्थ्य शिविरबाट ५ वर्षमा २० हजार ५०८ जनाले लाभ लिएका छन्।
आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ८६ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो। आर्थिक वर्ष २०७९/८० मा दुई हजार ७८ जना, आर्थिक वर्ष २०८०/८१ मा दुई हजार २४७ जना र गत आर्थिक वर्ष दुई हजार १५० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो।
त्यस्तै, चालू आर्थिक वर्षमा भने सबैभन्दा बढी ११ हजार ९४७ जनामा परीक्षण गरिएको जनाइएको छ। चालू आर्थिक वर्षमा पनि सबैभन्दा बढी कर्णाली प्रदेशमा दुई हजार ८७५ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ।
यस्तै, लुम्बिनी प्रदेशमा दुई हजार ५८९ जना, मधेश प्रदेशमा एक हजार ५०२ जना, कोशीमा १ हजार ४९७ जना, बागमतीमा एक हजार ३७१ जना, सुदूरपश्चिममा एक हजार १८६ जना, र गण्डकीमा ९२७ जना महिलामा परीक्षण गरिएको छ।
तीमध्ये २७ जनामा पाठेघरको मुखको क्यान्सर देखिएको थियो। चिकित्सकको टोलीले १० जना महिलाको उपचार स्वास्थ्य क्याम्पमा नै गरेका थिए।

त्यस्तै, बैंकले सातै प्रदेशमा स्वास्थ्यशिविरको कार्यक्रम सञ्चालन गरेको थियो। यसै क्रममा सुदूरपश्चिम प्रदेशमा पाठेघर खसेर उपचार गर्न नसकेका महिलाहरूको संख्या धेरै रहेको चिकित्सकहरू बताउँछन्।
सोही क्याम्पमा अन्य आधारभूत स्वास्थ्य चेकजाँच र आवश्यक औषधि वितरणको व्यवस्था पनि उपलब्ध थियो।
साथै, बैंकले स्वास्थ्य क्षेत्रमा आँखाको परिक्षण कार्यक्रम पनि सञ्चालन गरेको छ। देशभरका विभिन्न स्थानहरूमा मोतियाबिन्दुको उपचारको लागि बैंक शिविरहरू सञ्चालन गरी दुई हजार ७९८ जनाको आँखाको परीक्षणसहित गरिएको थियो। जसअन्तर्गत ४९० जनाको मोतियाबिन्दुको उपचार गरिएको थियो।
आँखा परीक्षणको कार्यक्रम विद्यालयस्तरमा पनि सञ्चालन गरिरहेको छ। जसमा दुई हजार ३०८ जना विद्यार्थीहरूको आँखा परीक्षण गरी निःशुल्क चस्मा वितरण गरिएको छ।
Shares

प्रतिक्रिया