ad ad

कारोबार


चीन–अमेरिकाबीच ९६ पृष्ठको व्यापार सम्झौतामा हस्ताक्षर, चीन भ्रमण गर्न ट्रम्प तयार

चीन–अमेरिकाबीच ९६ पृष्ठको व्यापार सम्झौतामा हस्ताक्षर, चीन भ्रमण गर्न ट्रम्प तयार

नेपालखबर
माघ १, २०७६ बुधबार १८:४०,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्। यस्तै, चिनियाँ राष्ट्रपतिको प्रतिनिधिका रुपमा भाइस प्रिमियर लिउ हेले पनि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतामा पहिलो वर्षमा चीनले यसअघि खरिद गरेभन्दा दोब्बर अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको छ ।

९६ पृष्ठ लामो सम्झौताले १८ महिनायताको व्यापारयुद्ध र दुई देशको सहमतिपछि अन्तिम रुप पाएको अमेरिकी मिडियाले जनाएका छन्। व्यापारयुद्धले अमेरिकी भटमास निर्यातमा सिधा असर पुगेको थियो।

यसबीचमा अमेरिकाले किसानलाई क्षतिपूर्ति रकम समेत उपलब्ध गराएको थियो। अमेरिकी किसानले २८ अर्बको रकम सरकारबाट पाएका थिए। सम्झौतासँगै अमेरिकी किसानका लागि ठूलो राहत भएको छ। राष्ट्रपतीय चुनाव आउनैलाग्दा ट्रम्पले व्यापार सम्झौतामा हस्ताक्षर गरेका हुन्।

‘हामी दुवै राष्ट्रले मिलेर गलतलाई सही बनाउन सक्यौँ भने भविष्यको अर्थ प्रणालीलाई न्याय दिनसकेका छौँ’, ह्वाइटहाउसको पूर्वी कोठाबाट राष्ट्रपति ट्रम्पले भने, ‘धेरै मानिसले सम्झौता नै हुन नसक्ने सोचेका थिए।’

सहमतिअनुसार चीनले यही वर्षमात्रै १२ अर्ब ५० करोड डलरको थप कृषि उत्पादन खरिद गर्ने सीएनएनले जनाएको छ। त्यसलगत्तै दुई वर्षभित्र १९ अर्ब ५० करोड डलरको सामग्री खरिद गर्नेछ। यसलगत्तै ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्। सम्झौताअनुसार चीनले खरिद गर्ने सामग्री सन् २०१७ मा भन्दा २४ अर्ब डलरले बढ्ने बताइएको छ। अमेरिकी फार्म ब्युरोका प्रमुख जिपी डुभलले यसलाई महत्वपूर्ण भनेका छन्। उनले पहिले चीनले धेरै वस्तु खरिद गरे पनि कर बढाइएपछि उक्त परिमाण घटेको बताए। यो सम्झौताले अमेरिकी कृषि निर्यातमा बढोत्तरी हुने उनले बताए।

अमेरिकी कृषि सामग्री खरिद बढाउनु २ खर्ब डलरको प्याकेजअन्तर्गतकै भएको बताइएको छ। यसअन्तर्गत उत्पादन र ऊर्जा क्षेत्रका उत्पादन निर्यातयोग्य वस्तु पर्नेछन्। हस्ताक्षर भएको ३० दिनलगत्तै यो सम्झौता कार्यान्वयन हुने बताइएको छ। ट्रम्पका मुख्य वार्ताकार रोबर्ट लाइथाइजरले यसलाई पहिलो असल कदमका रुपमा व्याख्या गरेका छन्।

अर्को अमेरिकी मिडिया फक्स न्युजले भने यो सम्झौताल ९४ पृष्ठ लामो भएको बताएको छ। ठूलो सम्झौताको पहिलो चरणको सम्झौताका रुपमा यसलाई उल्लेख गर्दै फक्सले धेरै अझै आउनै बाँकी रहेको बताएको छ। फक्स न्युजलाई ट्रम्प मैत्री मिडियाका रुपमा समेत हेर्ने गरिन्छ। यसले अमेरिकी अर्थतन्त्रलाई मद्दत गर्ने पनि बताइएको छ।

दुई वर्ष लामो वार्तामा केही कुराहरुमा कठिनाइ भए पनि आफ्नो वार्ता सदस्यले हिम्मत नहारेको हेले बताए। यो सहमति डिसेम्बरमै भएको थियो।

यो पनि
१८ महिना लामो व्यापारयुद्ध रोक्दै ट्रम्प र लिउ हे, सम्झौतामा के छ?

फक्स न्युजका अनुसार चीनले ५० अर्बको कृषि सामग्री, ४० अर्बको सेवा, ५० बिलियनको ऊर्जा, ७५ देखि ८० अर्ब डलरसम्मको उत्पादन क्षेत्रको उत्पादन खरिद गर्नेछ। लाइथाइजरले यसलाई कार्यान्वयन हुनैपर्ने बताएका छन्। दुवै देशले सम्झौता उल्लंघन गरेका वा पालना नभएको खण्डमा अपिल (पुनरावेदन) समेत गर्न सक्ने भएका छन्।

सम्झौताअनुसार अमेरिकाले केही चिनियाँ उत्पादनमा कर घटाउनेछ। तर ३ खर्ब ७५ अर्ब डलरका वस्तुमा भने लागू भइराख्नेछ। त्यस्तै २ खर्ब ५० अर्ब डलरका चिनियाँ वस्तुमा भने २५ प्रतिशत कर लाग्ने र १ खर्ब २५ अर्ब डलरका चिनियाँ वस्तुमा ७.५ प्रतिशत लेभी लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .