ad ad

राजनीति


सिक्किमका पूर्व मुख्यमन्त्री चाम्लिङको सुझाव: नेपाललाई अर्गानिक मुलुक बनाउनुहोस्

सिक्किमका पूर्व मुख्यमन्त्री चाम्लिङको सुझाव: नेपाललाई अर्गानिक मुलुक बनाउनुहोस्

नेपालखबर
माघ १, २०७६ बुधबार १६:२७,

भारतको सिक्किम राज्यका पूर्व मुख्यमन्त्री पवन चाम्लिङले नेपाललाई अर्गानिक मुलुक बनाउन सुझाव दिएका छन्। किराँत राई यायेक्खाले गरेको सम्मान ग्रहण गर्दै चाम्लिङले अग्र्यानिक देश बनाउन सके नेपालमा पर्यटकको कमी नहुने बताए।

‘म मुख्यमन्त्री हुँदा सिक्मिकलाई अर्गानिक राज्य घोषणा गरेँ। त्यसैगरी नेपाललाई पनि अर्गानिक देश घोषणा गर्नुहोस’ उनले भने, ‘नेपालमा पर्यटकको कहिले पनि कमी हुने छैन।’ उनले विषादी र रसायनीयक मल प्रयोग गर्न रोक्नुपर्ने सुझावसमेत दिए। ‘रसायनीक मल र विषादी आयात गर्न दिने अनुदान सरकारले जैविक मल बनाउन दिनु पर्छ,’ उनले भने।

यले सम्वत ५०८० को अवसरमा आयोजित कार्यक्रममा चाम्लिङलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ यलम्बर हाङ पुरस्कार प्रदान गरिएको थियो । किराँत बंशको पहिलो राजा यलम्बरको शासन शुरु भएको दिन माघे संघ्रान्ती दिनलाई नयाँ साल मान्ने गरेका छन् । यलम्बरको समयबाटै पशुपालन युगबाट कृषियुगमा प्रवेश गरेको मानिन्छ ।

पर्यटक तान्ने उपाय
‘हामीसँग जुन खानपान र संस्कृति छ त्यसलाई आधुनिकतासँग जोड्ने हो भने त्यो उत्पादन हुन्छ। त्यसलाई हामीले राम्रोसँग बेच्न सक्छौं’ उनले भने, ‘चीन त्यतिकै माथि गएको हो। पश्चिमी देशमा खेलेका रेस्टुरेन्टमा आउने पश्चिमा छन्। उनीहरु पिज्जा र बर्गर छाडेर मःम खान थालेका छन्। हामीले भारतलाई आफ्नो खानेकुरा बेच्न खोजेका छौं।’

उनले नेपाली भाषी जनजातिले खाने खानाजतिको विविधता अन्यसँग नभएको भन्दै त्यसलाई प्रयोग आधुनिक विधिमा जोडेर उत्पादन गर्न सके पर्यटक तान्न सकिने बताए। ‘तपाईहरु यस वर्षलाई भ्रमण वर्ष मनाउँदै हुनुहुन्छ। आफै खाना खुवाउनेमा जोड दिनुहोला,’ उनले भने।

एक घण्टा भाषण
बोल्न शुरु गर्दा लामो भाषण गर्ने र सुन्ने दुवैलाई वाक्क लाग्ने भन्दै बोल्न शुरु गरेका चाम्लिङले करिब एक घण्टा बोलेका थिए। ‘सन् १९७३ देखि राजनीतिमा छु। ‘सन् १९८५ देखी विधानसभाको सदस्य छु। मैले जति लामो भाषण कसले गरेको होला र सुनेको होला,’ चाम्लिङले भने, ‘लामो भाषणा हुँदा बोल्नेलाई पनि सुन्ने दुवैलाई वाक्क लाग्दो हुन्छ। १५ मिनेट बोल्छु।’

उदाहरण र कथा हाल्दै बोलेका चाम्लिङले आकर्षक भाषण गरेका थिए। दर्शकले भने ढिलै भएपनि थप भाषण गर्न माग गरेका थिए।

कार्यक्रममा उनले जिम्मेवारी र कर्तव्यको बारेमा चिनियाँ कथाकार लुसुनका कथा सुनाउने मन भएको बताए। ‘लुसुनका कथा सुनाउने मन थियो के गर्ने भाषणा लामो हुन्छ। आज समयपनि छैन,’ उनले भने।

भाषणामा उनको आफूले २५ वर्ष शासनमा हुँदा गरेको काम, उनले बताएको कीर्तिमानसम्मका विस्तार पूर्वक चर्चा गरेका थिए। ‘चुनाव जितेर ५ वर्ष पाँच पटक शासन गर्ने शासन शायद विश्वका पहिलो मुख्यमन्त्री मै हुला। यो विषयमा विद्वानहरुले खोज्ने हो,’ उनले भने, ‘कम्युनिष्टहरुमा कसैले लामो शासन गरेका थिए। क्युबामा फिडेल क्यास्ट्रोल ५० वर्ष शासन गरेका थिए।’

आफन्त ठानेर आएँ
व्यक्तिगत भ्रमणको क्रममा नेपाल आएको भन्दै चाम्लिङले देश र राष्ट्रियता फरक भएपनि भाषा, संस्कृति र परम्पराले जोडेको बताए। ‘सबैलाई आफन्त ठानेर आएको हुँ। माया र सम्मान दिनुभयो। म राजनीति गर्ने मानिस हुँ। तर अहिले अराजनीतिक भएर आएको छु,’ चाम्लिङले भने, ‘पितृको देशमा तीर्थाटन गर्नका लागि आएको हुँ। पितृलाई श्रद्धाञ्जली व्यक्त गर्न आएको हुँ। देश फरक हो। भाषा, संस्कृति र परम्परा एउटै छ। मन, भावना र इतिहास एउटै छ। पुरानो इतिहासलाई सम्झेर आएँ।’

सिक्किममा लगातार २५ वर्ष शासन गरेका चाम्लिङको दल गत वर्ष भएको विधानसभा चुनावमा पराजित भएको थियो। पाँच कार्यकाल पुरै समय शासन गरेर भारतका राजनीतिमा चाम्लिङले मुख्यमन्त्रीको कीर्तिमान बनाएका छन्। ‘यो अवधीमा सिक्किम पूर्ण साक्षर राज्य बन्यो, कसैको झुप्रो घर छैन। सबैको पक्कि घर छ, जनतामा न्युनमत आवश्यकताको विषय समेत पुरा भएको छ’ उनले भने।

नेपालमा पाएको सम्मानले निकै खुशी तुल्याएको बताए। ‘तपाई म प्रति जस्तो सकारात्मक सोच छ। राजनीति गर्नेले यस्तो पाउँदैनन्। विकासोन्मुख देशका राजनीतिज्ञ जहिले पनि जनताको नजरमा शंकाको घोरामै हुन्छ। यो राजनीतिक गर्नेहरुका लागि बिडम्बना हो’ उनले भने, ‘विकासोन्मुख देशमा राजनीतिक मूल्य र मान्यतामा आधारित छैन र सत्ता केन्द्रीत रहेको छ। त्यसैले यो स्वभाविक पनि हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .