ad ad

कारोबार


विश्लेषक भन्छन् : पर्याप्त बैंकिङ तरलता र घट्दाे ब्याजदरले बढ्नथाल्यो सेयरबजार

विश्लेषक भन्छन् : पर्याप्त बैंकिङ तरलता र घट्दाे ब्याजदरले बढ्नथाल्यो सेयरबजार

नेपालखबर
पुस २७, २०७६ आइतबार १०:३२,

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ।

नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायर पर्चेज कर्जामा कडाइ गरेको र बैंकमा तरलता बढ्दै जाँदा ब्याजदर घट्न गएकाले सेयर बजारका लगानीकर्ताको मनोबल बढेको छ। त्यसैको सकारात्मक प्रभाव परिसूचक नेप्सेमा परेको विश्लेषकहरु बताउँछन्।

बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज हुँदा ब्याजदर घट्ने र निक्षेपभन्दा सेयर बजारबाट बढी प्रतिफल लिन सकिने भएकाले सेयर बजारका परिसूचकहरु बढ्न थाल्छन्। आइतबारको बजारमा त्यस्तै अवस्था देखिएको सेयर विश्लेषकहरुको भनाइ छ। केही दिनयता बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र बैंकहरुले ब्याजदर घटाउन थालेकाले लगानीकर्ताको मनोबल बढ्न जाँदा सेयरको माग बढ्न गई कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ।

आइतबार ४२ दशमलव ६१ अंकले नेप्से बढेको छ। सेन्सेटिभ परिसूचक पनि ८ दशमलव ४७ अंकले बढेको छ। १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका सबै समूहका सूचकहरु बढेका छन्।

सेयर विश्लेषक रुक्मांगद काफ्लेले बजार बढ्नुमा बैंकमा तरलता अधिक हुनु र ब्याजदर घट्दै जानु रहेको बताए। त्यस्तै नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायरपर्चेज कर्जामा कर चुक्ता भएको आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न मिल्ने गरी ऋण प्रवाह गर्ने व्यवस्था गरेपछि बैंकहरुले सेयर धितोमा कर्जा बढाउँदा लगानी बढ्न गई नेप्सेमा सकारात्मक प्रभाव परेको उनले बताए।

आजकाे बजार : 
सेयरबजारमा ४३ अंकको छलाङ, कारोबार अर्ब कट्यो

त्यस्तै सेयर विश्लेषक सन्तोश बजगाईंले बैंकमा तरलता बढ्दै जानु र ब्याजदर कम हुन एउटा कारण भए पनि बैंक तथा वित्तीय संस्थाहरुले नगद लाभांश तत्काल लगानीकर्ताको खातामा पठाउँदा शेयर बजारमा लगानी बढेको बताए।

पछिल्लो समय सेयर बजारका लगानीकर्ताले नरुचाएका अर्थमन्त्री राष्ट्रिय सभाबाट बाहिरिने निश्चित भएपछि लगानीकर्ताले कारोबार बढाएका थिए। त्यसैबेला सेयर बजारलाई सकारत्मक प्रभाव पर्ने गरी राष्ट्र बैंकको नीतिहरु आउनुले लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरुको भनाइ छ।

बजारमा उच्च वृद्धि हुँदा आइतबार सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ८८ लाख रुपैयाँको भएको छ। त्यस्तै ५ वटा कम्पनीका सेयरधनीले १० प्रतिशतले कमाएका छन्। त्यस्तै झण्डै १० कम्पनीका सेयरधनीले करिब १० प्रतिशतले कमाएका छन्। बजारमा उच्च वृद्धि हुँदा समेत माउण्टेन हाइड्रो, सिनर्जी पावर डेभलोपमेन्ट लगायतका कम्पनीका सेयरधनीले भने गुमाएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .