कारोबार


भ्रमण वर्ष २०२०मा कुन संस्थाको कति छुट ?

भ्रमण वर्ष २०२०मा कुन संस्थाको कति छुट ?

नेपालखबर
पुस १३, २०७६ आइतबार ११:५९,

सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन अब २ दिन मात्रै बाँकी छ। भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रका पर्यटन व्यवसायी मात्र हैन नेपालमा सङ्गठित सबै संस्थाले यो अभियानलाई उत्सवकैरुपमा लिएर आफ्ना गतिविधि अघि बढाएका छन्। धेरै संस्था सरकारी तथा सार्वजनिक निकायको समन्वय, सहकार्य तथा साझेदारीमा पर्यटन प्रवद्र्धनका काम भइरहेको छ।

सन् २०२० जनवरी १ तारिखका दिन काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

सोही दिन सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन्। त्यस्तै जनवरी ७ तारिख विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने पर्यटन मन्त्रालयले जनाएको छ।

भ्रमण वर्ष उद्घाटन कार्यक्रममा १० भन्दा बढी देशको पर्यटनमन्त्री तथा विशिष्ट पाहुनाका साथै करिब ४० देशका सञ्चारमाध्यमका प्रतिनिधि पनि सहभागी हुँदै छन्। जहाँ ख्यातिप्राप्त राष्ट्रिय कलाकारको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ । भ्रमण वर्षलाई सफल तुल्याउन पर्यटन क्षेत्रका अगुवा सङ्गठनले आफ्ना सेवामा विभिन्न छुट अफर घोषणा गरेका छन्।

होटल एसोसिएसन अफ नेपाल (हान)ले भ्रमण वर्षलाई लक्षित गर्दै आफ्ना सदस्य कम्पनीबाट सबै सेवामा ३० प्रतिशत छुट अफरको घोषणा गरी सम्बन्धित होटललाई अनुरोध गरेको छ । हानका प्रथम उपाध्यक्ष विनायक शाहले भ्रमण वर्षमा विदेशी पाहुनालाई स्तरीय सुविधा उपलब्ध गराउन कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाए।

हानले सन् २०२० मा २५ लाख पर्यटकलाई धान्नसक्ने क्षमता रहेको जनाएको छ । हानमा आबद्ध पर्यटकीय स्थलदेखि पाँचतारे होलटसम्म गरी करिब दुई हजार होटल आबद्ध छन्। सरकारी तथ्याङ्कअनुसार अहिले ४५ हजार शय्या (बेडरूम) छन्। यस्तै पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले नेपाल भ्रमण वर्षलाई सफल बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमका साथै संस्थामा आबद्ध कम्पनीबाट २० प्रतिशत छुटको व्यवस्था गर्ने घोषणा गरेको छ। टानका अध्यक्ष खुमबहादुर सुवेदीले भ्रमण वर्षभर आफ्ना सदस्य कम्पनीले सञ्चालन गर्ने सबै पदयात्रा प्याकेजमा विदेशी पदयात्रीलाई २० प्रतिशतसम्मको छुटको व्यवस्था गर्न अनुरोध गरिसकेको बताए।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि भ्रमण वर्षलाई सफल बनाउन भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ । नाट्टाका अध्यक्ष सिएन पाण्डेले भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यसहित संस्थाले सम्बद्ध ट्राभल एजेन्सीबाट लिने टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिलाउने घोषणा गरिएको बताए ।

नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) ले भ्रमण वर्षको अवधिमा १५ प्रतिशत छुटको घोषणा गरिसकेको छ । भ्रमण वर्षमा विदेशी पाहुनालाई आफ्ना सेवामा १५ छुटको अफर दिएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले जानकारी दिए । नेपाल पर्वतारोहण सङ्घले पनि आफ्ना क्षेत्रमा विशेष छुट दिने बताएको छ ।

त्यसैगरी घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएसनले भ्रमण वर्षमा आउने विदेशी पर्यटकलाई सेवामा २० प्रतिशतसम्म छुट दिने भएको छ । संस्थाका अध्यक्ष केशव बडालले घरबासमा खाना बस्नमा ‘लजिङ फुडिङ’मा २० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिए । देशका ५७ जिल्लामा ६०० भन्दाबढी घरबास सञ्चालनमा रहेका छन् ।

राष्ट्रिय र अन्तरराष्ट्रियरुपमा नेपालको पर्यटन प्रवद्र्धनमा सशक्त भूमिका निर्वाह गर्दै आएको प्यासिफिक एशिया ट्राभल (पाटा)नेपाल च्याप्टरले भ्रमण वर्षलाई सफल बनाउन अन्तरराष्ट्रिय इभेन्ट गर्दैछ । पाटा नेपालले सन् २०२० को फेब्रुअरीमा नाइस कार्यक्रम (नेपाल भारत चाइना एक्सपो) आयोजना गर्दैछ भने हिमालयन ट्राभल मार्टको चौथो संस्करण पनि गर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad