कारोबार


राजस्व संकलनमा पूरा भएन सरकारको लक्ष्य, विकास खर्च पनि न्यून

राजस्व संकलनमा पूरा भएन सरकारको लक्ष्य, विकास खर्च पनि न्यून

नेपालखबर
असार १३, २०८३ शनिबार १५:३१, काठमाडौँ

चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन भने विकास खर्च पनि न्यून देखिएको छ। 

सरकारले राजश्व संकलनमा लक्ष्यको ७५.१७ प्रतिशत मात्रै हासिल गरेको छ। सरकारको दैनिक बजेटरी हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार, असार १२ गतेसम्म ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। बाँकी दिनमा तीन खर्ब ६७ अर्ब ५१ करोड राजश्व संकलन गर्नुपर्नेछ। त्यसका लागि दैनिक करिब १९ अर्ब ३४ करोड बराबर संकलन गर्नुपर्ने हुन्छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार, कर राजस्व संकलनतर्फ लक्ष्यको ७६.२० प्रतिशत प्रगति भएको छ। कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म १० खर्ब १० अर्ब १६ करोड तीन लाख संकलन भएको छ।

त्यस्तै, गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म एक खर्ब दुई अर्ब ३२ करोड ४३ लाख प्राप्त भएको छ। यस्तै, अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख प्राप्त गर्ने लक्ष्य रहेकामा हालसम्म २४ अर्ब ११ करोड १२ लाख मात्रै प्राप्त भएको छ। जुन लक्ष्यको ४५.११ प्रतिशत बराबर हो।

यो अवधिमा अन्य प्राप्ति शीर्षकमा ६ अर्ब ५० करोड ५३ लाख संकलन भएको छ। यससँगै सरकारको कुल प्राप्ति ११ खर्ब ४३ अर्ब १० करोड ११ लाख पुगेको छ। जुन वार्षिक लक्ष्यको ७४.५४ प्रतिशत हो।

यस्तै, कूल सरकारी खर्च १४ खर्ब चार अर्ब ९८ करोड ८६ लाख बराबर पुगेको छ। यो कूल लक्ष्यको ७१.५३ प्रतिशत हो। शुक्रबार मात्रै पाँच अर्ब ३६ करोड ८२ लाख खर्च भएको छ।

खर्चको प्रकृतिअनुसार, चालु तर्फ ८०.४२ प्रतिशत रहेको छ। कूल ११ खर्ब ८० अर्ब ९८ करोडको लक्ष्यमध्ये नौ खर्ब ४९ अर्ब ७५ करोड ९५ लाख खर्च भएको छ।

विकास निर्माणको काममा खर्च हुने पूँजीगततर्फ एक खर्ब ४२ अर्ब २३ करोड ६८ लाख पुगेको छ। जुन लक्ष्यको ३४.८७ प्रतिशत हो। 
चालु आर्थिक वर्षका लागि चार खर्ब सात अर्ब ८८ करोड ८० लाख पूँजीगत खर्च गर्ने लक्ष्य तय गरिएको थियो।

त्यसैगरी वित्तीय व्यवस्थापनतर्फको खर्च ८३.४१ प्रतिशत पुगेको छ। वित्तीय व्यवस्था विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि खर्च गरिन्छ। 

वित्तीय व्यवस्थातर्फ कूल तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख लक्ष्यमध्ये तीन खर्ब १२ अर्ब ९९ करोड २३ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad