नेपाल भ्रमणमा रहेको बंगलादेशको संसदीय टोलीले नेपालकाे संविधानलाई बंगलादेशले अनुसरण गरेर कानुन सुधार गर्ने बताएका छन्।
भ्रमणरत् बंगलादेशी प्रतिनिधिमण्डलका तर्फबाट बोल्दै मनोरञ्जन शिल गोपालले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगकाे भेटवार्ताका क्रममा साे धारणा व्यक्त गरेकाे अध्यक्ष तिमल्सिनाको सचिवालयले जनाएको छ।
बंगलादेशको प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै सभापति मनोरञ्जन शिल गोपालले दलित र आदिवासीका अधिकारबारे नेपालकाे संविधानले गरेको कानुनी व्यवस्था प्रशंसायोग्य रहेको बताएका हुन्।
बंगलादेश सरकार दलित, अल्पसंख्यक तथा पिछडिएका वर्गको अधिकार र जीवनस्तर सुधारका लागि लागिपरेको जानकारी गराउँदै गाेपालले भने, ‘नेपालको संविधानमा केन्द्रदेखि स्थानीय तहसम्म सो समुदायका लागि दिएको अधिकारबाट बंगलादेशले सिक्दै कानुनी रुपमै सुधार गर्नेछ।’
बंगलादेश संसदको दलित र अल्पसंख्यक आदीवासीसँग सरोकार राख्ने समितिका सभापति गोपाल नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित कार्यकक्षमा भेट गरेको हाे।
नेपालको संसदीय अभ्यास तथा दलित, आदिवासी र अल्पसंख्यकको प्रतिनिधित्व तथा अधिकारबारे अध्ययन गर्ने उद्देश्यले सो प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दलित, आदिवासी तथा अल्पसंख्यकबारे नेपालको संविधानले विशेष अधिकार प्रदान गरेको उल्लेख गरेको सचिवालयले जनाएको छ।
‘नेपालको संविधानले जात, धर्म, भाषा, पेशा, वर्ग, शारिरिक अवस्था लगायतका आधारमा भेदभाव नगरिने कुरालाई सुनिश्चित गरेको छ,’ तिमिल्सिनाले बताए। ‘संघीय संसदले पनि यस सम्बन्धी मौलिक तथा अन्य थुप्रै कानुन निर्माण गरिसकेको छ ।’
दुई देशबीच शिक्षा, स्वास्थ्य, व्यापार, उर्जा, कृषि लगायतका क्षेत्रको सहकार्यलाई अझै बढाउनुपर्नेमा अध्यक्ष तिमिल्सिनाले जोड दिएका थिए। ‘हामीबीच थुप्रै अन्तर्राष्ट्रिय विषयमा पनि समान धारणा रहँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘अबको सहकार्य र सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउँदै जानुपर्छ ।’

प्रतिक्रिया