कारोबार


आईपीओको तयारीमा रहेको नर्भिक अस्पतालद्वारा बम्पर लाभांश पारित

आईपीओको तयारीमा रहेको नर्भिक अस्पतालद्वारा बम्पर लाभांश पारित

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १९:२, काठमाडौँ

आईपीओ निष्काशनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ। 

शुक्रबार थापाथलीस्थित बिएलसीको सभाकक्षमा सम्पन्न दोस्रो साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावमा संसोधन गर्दै लाभांश केही बढाएर पारित गरेको हो। 

यसअघि सञ्चालक समितिले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरणको निर्णय गर्दै सोही प्रस्ताव साधारणसभामा लगेको थियो। सञ्चालक समितिले लगेको प्रस्तावअनुसार २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(करसहित) वितरण गरिने थियो। तर, साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

साधारणसभाको उद्घाटन नर्भिक अस्पतालका संरक्षक बसन्त चौधरी र अस्पतालको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए। 

हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ। साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै अब चुक्तापूँजी बढेर २७ करोड रुपैयाँ पुगेको छ। 

साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८÷७९, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गरेको छ। 

यस्तै, आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका अजेण्डाहरु पनि पारित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .