कारोबार


हाकिमसँगै बसेर मदिरापान गर्न किन डराउँदै छन् जापानी कर्मचारी?

हाकिमसँगै बसेर मदिरापान गर्न किन डराउँदै छन् जापानी कर्मचारी?

भर्जिनिया ह्यारिसन
पुस ४, २०७६ शुक्रबार ९:१५,

२८ वर्षीय रिकु कितामारा आफ्नो पहिलो मदिरा पार्टीलाई जापानमा नयाँ स्नातक उपाधि लिएझैँ सम्झिन्छन्।

रिकुले एउटा मार्केट रिसर्च फर्मसँग आबद्ध भएर काम गरे। उनको टोली हरेक साँझजसो सामूहिक रुपमा मदिरापान गर्थ्याे।

‘(सुरुमा) म एकदमै दबाब महसुस गर्थेँ किनकि मैले धेरै पिउनुपर्थ्याे, अरुले जति नै पिउनुपर्थ्याे। यसले मलाई धेरै मदिरा सेवन गर्नेजस्तो बनायो’, उनी भन्छन्।

यसलाई जापानी समाजमा नोमिकाई भनिन्छ। अर्थात् मदिरा पार्टी ! कसैसँग बलियो सम्बन्ध बनाउने मुख्य पाटोको रुपमा समेत जापानमा यसलाई लिइन्छ।

riku kitamara 22रिकु कितामारा । तस्बिरः बीबीसी

तर केही कार्यालयहरुमा भने यो संस्कृति विस्तारै छोडिनथालेको छ। यसो हुनुमा कारण छ – पावर ह्यारेसमेन्ट अर्थात् शक्तिले सताउने क्रम बढ्नु।

(विशेषगरी जापानमा विश्वविद्यालय, स्कुलहरु, हस्पिटलजस्ता कार्यस्थलमा यस किसिमको व्यवहार हुने गरेको छ। पावर ह्यारेसमेन्टभित्र कर्मचारीलाई हैरानी दिनेदेखि गम्भीर प्रकृतिका शक्ति दुरुपयोगसम्मको व्यवहार पर्छ। कामको सीमाभन्दा बढी नाघेर काममा दलाउने प्रचलन जापानमा बढी पाइन्छ। अझ पावर ह्यारेसमेन्टलाई अवैध र विभेदपूर्ण व्यवहारदेखि राजनीतिक र मानसिक शोषण, बदमासीको एउटा स्वरुपका रुपमा समेत लिइन्छ।)

पावर ह्यारेसमेन्टकै कारण धेरै कामदारलाई आफ्नो कामको बारे बोस अर्थात हाकिमबाट थाहा पाउने परम्परागत बाटोबाट पर लाँदै छ।

अफिसका कर्मचारीहरु कार्यस्थलमा एक्लिनेदेखि आफूभन्दा ठूला कर्मचारीबाट शारीरिक दुव्र्यवहारसम्म भोग्नुपर्ने परिस्थिति ‘पावर ह्यारेसमेन्ट’भित्र अटाउँछ।

Japan drinking culture 23हाकिम र कर्मचारी मदिरापार्टीमा रमाउँदै। तस्बिरः ट्रिपसेभीबाट

‘कामदारलाई मदिरा पार्टीमा जान बाध्य पार्ने कार्यलाई समेत कहिलेकाहीँ दुव्र्यवहार (ह्यारेसमेन्ट)का रुपमा लिइन्छ’, क्योतो युनिभर्सिटी अफ फरेन स्टडिजका प्राध्यापक कुमिको नेमोतो भन्छन्, ‘विगतमा यस्तो सधैँजसो हुन्थ्यो। यसलाई साधारण व्यावसायिक संस्कृतिका रुपमा जापानमा लिइन्थ्यो तर अहिले यसलाई शक्तिको दुरुपयोगका रुपमा लिनथालिएको छ।’

शक्तिको दुरुपयोग रोक्न अर्को वर्षदेखि जापान सरकारले रोजगारदाताका लागि नयाँ नियम ल्याउन खोज्दै छ। सरकारको यस्तो कदमलाई कार्यस्थलमा हुने हानिकारक व्यवहारलाई रोक्ने ठूलो प्रयासका रुपमा यसलाई हेरिएको छ।

किनकि जापानमा धेरैभन्दा धेरै काममा दलाउने र कतिपय अवस्थामा कामदारको मृत्यु नै हुने गरेको स्थिति छ।

सोही कारण कतिपय मेनेजरहरु आफ्ना स्टाफ (कर्मचारी)लाई काम सकिएपछि मदिरापार्टीमा बोलाउन समेत हिच्किचाउन थालेका छन्।

कितामुराका अनुसार पछिल्ला तीन वर्षमा बोसहरुले आफ्ना स्टाफलाई पार्टीमा सहभागी हुनैपर्छ भन्न छाडेका छन्।

‘मेनेजरहरु सम्भावित आरोपदेखि डराउनथालेका छन्’, उनी भन्छन्, ‘म आफैँले यस्तो महसुस गरेको छु। मेनेजरहरु आजकल जोखिम मोल्न चाहँदैनन्।’

‘मानिसहरु पनि सचेत बनिरहेका छन्’
यस्ता मेनेजरहरुमध्ये पर्छन् ४७ वर्षीय तात्स कात्सुकी।

जापानी ट्रेडिङ हाउसका मेनेजर रहेका कात्सुकी आफैँ स्वीकार्छन्, ‘काम सकिएपछि हामीले कर्मचारीलाई मदिरापार्टीमा बोलाउन छोड्यौँ।’ त्यसो त उनको कम्पनीले कार्यस्थलमा हुने दुव्र्यवहारविरुद्ध कडा नीति अख्तियार गरेको छ।

Street in Tokyo's Shinjuku district

‘हिजोआज मानिसहरु शक्ति, यौनलगायत सबै किसिमको दुव्र्यवहारविरुद्ध सचेत बनिरहेका छन्’, उनी भन्छन्।

विगत पाँच वर्षयता जापानीहरुमा यस्तो सचेतना देखिएको हो। आजकल यस्तो व्यवहार गर्नेलाई कम्पनीले नै निकाल्ने समेत गर्नथालेको छ।

कात्सुकी भन्छन्, ‘दुव्र्यवहार रोक्न कम्पनीमा उजुरीपेटिका समेत राखिनथालेका छन्, जसका कारण पीडितले सिधै बेनामे उजुरी गर्न सक्छन् भने इमेलबाट समेत यस्तो सुविधा दिन थालिएको छ।’

२० वर्ष अघिदेखि कात्सुकीले आफ्नो व्यावसायिक करिअर सुरु गरेका थिए। जतिबेला अहिलेजस्तो थिएन।

उनका अनुसार त्यतिबेला फरक मानसिकता थियो। उनी आफँै हप्तामा चार पटकसम्म आफ्ना साथीहरुसँग टोक्योमा मदिरापार्टीमा सामेल हुन्थे।

‘बोसहरु त्यतिबेला भन्थे, ‘तिम्रो काम सकियो? लौ हिँड पार्टीमा जाऔँ!’, कात्सुकी सम्झिन्छन्, ‘बोसले भनेपछि नाइँ नास्तिको कुरै थिएन, जानैपथ्र्यो!’

उक्त पार्टी क्लाइन्टहरुको डिनरपछि सुरु हुन्थ्यो, कहिलेकाहीँ त त्योभन्दा चाँडै नै सुरु हुन्थ्यो।

कात्सुकी अत्यधिक रुपमा पिउँथे र त्यसकै ह्यांगओभरमा झगडा समेत गर्न पुग्थे।

तर समग्रमा पार्टी त्यस्तो नमज्जा किसिमको नहुने उनको सम्झना छ।

‘त्यतिबेला मलाई यो ठीकै पनि लाग्थ्यो किनकि मदिरापार्टीमा सामेल हुँदा आफ्नो बोसबारे जान्न पनि त पाइन्थ्यो नि!’, कात्सुकी भन्छन्, ‘हामी प्रायः कामकै कुरा गथ्र्यौँ, अलि अलि अप्रासंगिक कुरा हुन्थे भने कोभन्दा को राम्रो भन्नेबारे पनि कुराहरु चल्थे।’

Related image

सन् १९९० को सुरुतिर जापानले आर्थिक संकट सामना गरेपछि कात्सुकीको पुस्ता कार्यस्थलमा आयो।

उदारताको युग लामो आर्थिक संकटपूर्ण अवधिले अन्त्य गरिदियो। यसलाई जापानीहरु हराएको दशकका रुपमा लिन्छन्। त्यसपछि दुःख सुरु भयो।

‘जब फर लाइफ’ अर्थात् जीवनका लागि रोजगारीको मान्यता सुरु भयो। परम्परागत जापानी संघ÷संस्थाहरु पनि परिवर्तन हुनथाले भने कार्यस्थलमा पार्टटाइम स्टाफ र महिलाहरुको उपस्थिति बढ्नथाल्यो।

प्राध्यापक नेमोतोका अनुसार आर्थिक संकटअघि मदिरापार्टीलाई कामकै एउटा अंगका रुपमा लिइन्थ्यो। तर व्यावसायिक वातावरण परिवर्तन भएसँगै कर्मचारीहरुको आशा र चाहनाहरु पति परिवर्तन हुनथाले। त्यसपछि बोससँग कर्मचारीहरु धेरैभन्दा धेरै घुलमिल हुनथाले।

नयाँ नियम
कात्सुकी भन्छन्, ‘अहिले त जापानको वर्कप्लेस विश्वका अन्य ठाउँका जस्तै देखिनथालेका छन्। कम्पनीको वेलकम डिनरजस्ता कार्यक्रमहरुको पहिले नै योजना बनाइन्छ।’

त्यस्तै हिजोआज हुने पार्टीमा धेरै मदिराको प्रयोग गरिन पनि छाडिएको कात्सुकीको भनाइ छ। बोसहरुले पनि कमै मात्र यस्तो पार्टीमा आफ्ना स्टाफलाई बोलाउँछन्। यो सबै हुनुमा दुव्र्यवहारको आरोप लाग्ने डर मुख्य कारण रहेको छ।

कात्सुकीको अनुभवले पनि कार्यस्थलमा व्यापक परिवर्तन भइरहेको प्रतिविम्बित गर्छ। तर नयाँ नियमबारे भने धेरैजसो कामदारहरु जानकार छैनन्।

यसबारे उनी आफैँ पनि आफ्नो टोलीसँग नियमित रुपमा कुरा गर्छन्। अझ केलाई दुव्र्यवहार मान्ने केलाई नमान्ने भन्ने बारेमा जापानीहरु नै निश्चिन्त देखिँदैनन्।

बहिष्कृत भएजस्तो
अझै मेनेजरहरुले नयाँ चलन आत्मसात् गर्दैगर्दा कतिपय कनिष्ठ कामदारहरु भने आफू छुटेको वा बहिष्कृत भएजस्तो अनुभव गर्छन्। पार्टीमा जाँदा हुने जोखिम बुझेका कारण मेनेजरहरुबाट यस्तो भएको हुनसक्ने नयाँ कामदारहरुले सोच्ने गरेका छन्।

कितामुरा अहिले टोक्योमा रहेको मार्केट रिसर्च फर्म कार्टरजेएमआरएनमा प्रोजेक्ट मेनेजर हुन्। उनी भन्छन्, ‘नयाँ कर्मचारीले अहिले मदिरापार्टीमा नबोलाएको जस्तो अनुभव गर्नथालेका छन्।’

‘उनीहरुले आफूलाई बहिष्कृत भएको सोच्नथालेका छन्। पिउनु अझै पनि सामाजिक कार्य नै हो भने मेनेजरसँग नजिक हुने सुअवसर पनि’, कितामुरा भन्छन्, ‘अहिले त उनीहरु यस्ता देखिन्छन् कि सिधै मेनेजरलाई किन हामीलाई पार्टीमा नबोलाएको भन्लान् जस्तो।’

Men sit at a table at an after-work drinking party in Japan

कितामुराका अनुसार उनी पनि सुरुवाती करिअरमा काममा जान दबाबजस्तो अनुभव गर्थै तर पार्टीमा जान उनलाई औधी मजा लाग्थ्यो र अरुले पनि सँगै लगेजस्तो लाग्थ्यो।

सोफिया युनिभर्सिटीका इन्टरनेशनल मेनेजमेन्टका प्राध्यापक परिसा हागिरियन जापानमा डिनर र ड्रिंक सामाजिक रुपमै एकआपसमा बाँधिएको हुँदा यसलाई महत्वपूर्ण मान्छिन्।

उनका अनुसार पिउनु, चुरोट सेवन गर्नुलाई जापानमा आनन्दको एउटा बाटोका रुपमा लिइन्छ। यसलाई धेरै खराब कुराका रुपमा लिइन्न।

‘मतलब हामी यो सबै सँगै गर्छौँ’, उनी भन्छिन्, ‘यसको एउटा पाटोका रुपमा पार्टीमा सहभागी हुनु अति नै महत्वपूर्ण कुरा हो।’ बीबीसी न्युजबाट अनुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad