समाज


‘सवारी दुर्घटना सडकको अवस्थाले भन्दा मानवीय र यान्त्रिक कारणले’

‘सवारी दुर्घटना सडकको अवस्थाले भन्दा मानवीय र यान्त्रिक कारणले’

नेपालखबर
पुस ४, २०७६ शुक्रबार ९:२२,

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्रालयका सचिव कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत काम गरिरहेकाले सडक दुर्घटना न्यूनिकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताए।

देशभर ८० हजार किलोमिटर भन्दा बढी सडक रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत १२ हजार किलोमिटर सडक रहेकाले मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न नसक्ने बताए। उनले पछिल्लो समय सडकका कारणले भन्दापनि मानवीय र यान्त्रिक गडवडीका कारण दुर्घटना हुने गरेको बताए। त्यसको नियन्त्रण गर्ने काम सरकारको भएको र सबै तहका सरकारबीच समन्वय हुन आवस्यक रहेको बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक भिम ढकालले सडकको क्षमता भन्दा धेरै सवारीसाधन सञ्चालनमा आउँदा दुर्घटना बढेको बताए। त्यस्तै राजधानीभित्रको सडक बिना इन्जिनियरिङ निर्माण गरिएको तथा सडक अतिक्रमण हुने र कतिपय सडकको अवस्था जिर्ण भएकोले पनि दुर्घटना बढेको बताए। त्यस्तै सार्वजनिक यातायातहरुले सेवामुखी भन्दा पनि नाफामुखी भई सवारीसाधन चलाउँदा समेत दुर्घटना बढेको उनले बताए।

नेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा देशभर १० हजार ९ सय ६५ वटा दुर्घटना भएको र २ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ। त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा सडक दुर्घटनाको संख्या बढेर १३ हजार ३ सय ६६ पुगेको छ भने दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ।

त्यस्तै चालु आर्थिक वर्षको मंसिर १७ गते सम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भइसेको छ। यसमध्ये ९० प्रतिशत भन्दा बढी दुर्घटना मानवीय र यान्त्रिक कारणले भएको मन्त्रालयका सचिव कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad