कारोबार


आईफ्याडद्वारा नेपालमा आठवटा कृषि परियोजनामा २० करोड डलर लगानी

आईफ्याडद्वारा नेपालमा आठवटा कृषि परियोजनामा २० करोड डलर लगानी

नेपालखबर
पुस ३, २०७६ बिहिबार १०:१६,

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईफ्याड)ले नेपालमा विगत ७ वर्षमा २० करोड डलरभन्दा धेरै लगानी गरेको छ। सन् २०१३ देखि २०१९ सम्म आईफ्याडले आठ परियोजनामा २० करोड ६७ लाख अमेरिकी डलर लगानी गरेको बिहीबार सार्वजनिक गरिएको रिपोर्टमा उल्लेख छ।

आईफ्याडले लगानी गरेका परियोजनाहरुमा पश्चिम उच्च पहाडी क्षेत्रमा गरिबी उन्मूलन (डब्लुयूपीएपी), लिजहोल्ड फरेस्ट्री एण्ड लाइभस्टक प्रोग्राम (एलएफएलपी), गरिबी उन्मूलन कोष परियोजना २, पहाडी र हिमाली भेगमा हाइभ्यालु एग्रिकल्चर प्रोजेक्ट, किसानका लागि उन्नत बीउबीजन कार्यक्रम, पहाडी क्षेत्रमा अड्याप्टेसन फर स्मलहोल्डर्स कार्यक्रम, समृद्धि–रुरल इन्टरप्राइजेज एण्ड रेमिट्यान्स प्रोजेक्ट र एग्रिकल्चर सेक्टर डेभलपमेन्ट प्रोग्राम रहेका छन्।

ifad 11

सन् १९७८ मा नेपालमा काम सुरु गरेको आईफ्याडका हालसम्म १७ वटा कार्यक्रम स्वीकृत भएका छन्। यसको लागि दुई सय ८४ मिलियन अर्थात् २८ करोड ४० लाख अमेरिकी डलर लगानी भएको आईफ्याडले जनाएको छ।

के छ रिपोर्टमा ?
नेपालसम्बन्धी तयार पारेको देशीय रणनीति तथा कार्यक्रम मूल्यांकन रिपोर्ट सार्वजनिक गर्दै आईफ्याडले आफ्नो सहयोगमा नेपालको ग्रामीण क्षेत्रको उत्पादन र आयस्रोतमा वृद्धि भएको जनाएको छ।

संयुक्त राष्ट्रसंघ कृषिक्षेत्रको विशेषज्ञ निकायका रुपमा आईफ्याडलाई लिइन्छ। सन् २०१३ देखि २०१९ सम्मको रिपोर्टले ग्रामीण अर्थतन्त्र विकसित भइरहेको देखाएको हो।

ifad 12

आईफ्याडको स्वतन्त्र मूल्यांङ्कन ब्युरो (आईओई)ले रिपोर्ट तयार पारेको हो। विशेषगरी आईफ्याडको सहयोगले साना किसानलाई उत्पादनमा सहयोग पुगेको, उच्च मूल्यका कृषि सामग्री उत्पादनमा सुधार, अफ सिजन तरकारी, फलफूल दाल र दुग्धजन्य वस्तु उत्पादनमा वृद्धि भएको रिपोर्टमा जनाइएको छ।

नेपालको कृषि क्षेत्र परम्परागत ढंगले चल्दा उत्पादनमा वृद्धि हुनसकेको छैन तर आईफ्याडको सहयोगले कर्णाली प्रदेशका ८३ प्रतिशत लाभान्वितमध्ये उच्च खालको बीउबीजन तथा सिँचाइ सुविधा प्रयोग गर्दा उत्पादनमा वृद्धि भएको रिपोर्टमा उल्लेख छ।

ब्युरोले आईफ्याडलाई ७ वटा सुझाव दिएको छ। ग्रामीण अर्थतन्त्र विकासको लागि स्थानीय निकायलाई सहयोग गर्नुपर्ने मुख्य सुझाव छ। त्यस्तै सीमान्तकृत समुदायलाई उच्च मूल्यका कृषिवस्तु उत्पादनमा निरन्तर सहयोग गर्न भनेको छ। सबै कार्यक्रममा प्रकृतिक प्रकोप तथा जलवायु परिवर्तनसम्बन्धी जानकारी किसानले पाउनुपर्ने लगायतका सुझाव दिएको छ।

रिपोर्ट सार्वजनिक कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आईफ्याडले प्रविधि हस्तान्तरण र ज्ञान हस्तान्तरणमा सहयोग गर्दा उपयुक्त हुने बताए। ‘आईफ्याडबाट कृषकले कसरी सहयोग पाउन सक्छन् भन्ने उनीहरुलाई जानकारी हुनुपर्छ’, उनले भने, ‘नेपालले ठूला कृषी फार्म स्थापना गरी व्यवसायीकरण गर्न आवश्यक रहेको छ।’

नेपालले अन्तर्राष्ट्रिय निकायसँग सहयोग लिइरहे पनि ग्रामीण किसानले त्यसको फाइदा उठाउन सके कि सकेनन् ठूलो प्रश्न यही रहेको उनले बताए। ग्रामीण उत्पादनलाई अर्गानिक वा हिमालय ब्राण्डमार्फत विदेशमा वस्तु निर्यात गर्नुपर्ने बताए ।

आईफ्याड कार्यक्रम व्यवस्थापन विभागका एसोसिएट उपाध्यक्ष डोनाल ब्राउनले ग्रामीण जनाताको खाद्य तथा पोषण सुरक्षाको लागि नेपाल सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad