नेपालको पहिलो नाडा ईभी एक्स्पो आयोजना हुँदै छ। २ पांग्रे, ३ पांग्रे, चारपांग्रेको उपस्थितिमा ईभी एक्स्पो हुनलागेको हो।
असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो चल्नेछ। भृकुटीमण्डपको प्रदर्शनी हलमा स्टल रहनेछन्। नाडा ईभी एक्स्पोमा ५१ वटा स्टल बुकिङ भइसकेका छन्।
कोभिडको कारण २०२० र २०२१ मा नाडा अटो शो गर्न नसकेको नाडाले २०२२ मा सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा गर्न सकेन। नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका अध्यक्ष धु्रव थापाले नाडा अटो शो गर्ने तयारी भइरहँदा सरकारले अटो आयातमा प्रतिबन्ध लम्ब्याएसँगै ईभी एक्स्पो गर्न लागिएको बताए।
‘नाडाले नेपालमा ईभी एक्स्पो आयोजना हुनुलाई ऐतिहासिक क्षणको रुपमा लिएको छ’, उनले भने, ‘विद्युतीय गाडी उकालोमा चढ्न सक्छ कि सक्दैन? गुड्दागुड्दै बीचबाटोमै रोकिन्छ कि भन्ने चासो एकदमै छ। ईभी एक्स्पोले धेरै दुविधा हटाउनेछ।’
नाडाले सर्वसाधारणको विद्युतीय गाडीप्रति बढेको चासोलाई एक्स्पोले सम्बोधन गर्ने जनाएको छ। ४ दिनसम्म चल्ने एक्स्पोमा सर्वसाधारणको चाप हुनसक्ने आकलन गरेको छ।
‘अटो शो गर्दा भृकुटीमण्डपको पूरै जग्गा प्रयोग हुन्थ्यो’, थापाले भने, ‘ईभी ब्रान्डको उपस्थिति कम रहने आकलनले हलमा मात्रै बुकिङ ग¥यौँ। सर्वसाधारणको चासो बढ्दै जाँदा चाप बढी हुनसक्छ।’
नाडामा विद्युतीय सवारीको प्रदर्शनीसँगै त्यसको जानकारीको लागि सेमिनार आयोजना हुँदै छ। सेमिनार ७, ८ र ९ गते एक्स्पो स्थलमै हुनेछ।
वर्तमान समयमा विद्युतीय सवारीसाधनहरुको महत्व दिनप्रतिदिन बढदै गएको र यस्ता सवारीसाधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने अध्यक्ष थापाले बताए। ईभी एक्स्पोमा नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी हुनेछ।
नाडाका अनुसार १० प्रतिशत बजार हिस्सा ओगटिसकेको छ। अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा विद्युतीय गाडीको हुनसक्नेछ।
‘अहिले विद्युतीय चारपांग्रे बुकिङ गरेको ६ महिना बढीसम्म डेलिभरी गर्न सकिएको छैन’, अध्यक्ष थापाले भने।
५१ स्टल रहने, अनलाइन टिकट बुकिङ खुल्ला
चापको व्यवस्थापनको लागि नाडाले अनलाइन बुकिङ गरिरहेको छ। एक्स्पोमा सहभागी हुनेले अनलाइन प्रि–बुकिङ गर्न सक्नेछ।
नाडा ईभी एक्स्पोमा प्रि–टिकट बुकिङ खुल्ला भएको छ। पहिलोपटक विद्युतीय सवारी एक्स्पोमा अनलाइन टिकट काट्न सकिने भएको छ। एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २ सय रूपैयाँ लाग्नेछ।
नाडा अध्यक्ष थापाले अनलाइन टिकेटिङको व्यवस्था गरेको जानकारी दिए। थापाका अनुसार प्रि–बुकिङ टिकेटिङ गर्न सकिन्छ। प्रि–बुकिङमा छुटको व्यवस्था गरिएको जानकारी दिए।
ईभी एक्स्पो संयोजक अनुप बरालले असोज ५ गतेसम्म प्रि–बुकिङ गर्दा छुटको व्यवस्था गरिएको जानकारी दिए। उनले अनलाइन टिकट नकाट्नेले एक्स्पो गेटमै टिकट काट्न सकिने बताए।
बरालका अनुसार चारपांग्रे गाडीका ७ वटा स्टल रहनेछन् भने ३ पांग्रेको १ वटा स्टल रहनेछ। सातवटा ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन र ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहनेछ।
अग्नी इनर्जी प्रा.लिको ३ पांग्रे टेरो ब्रान्ड सहभागिता हुनेछ।
दुईपांग्रेका १६ वटा ब्रान्ड रहेका छन्। जसमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपलब्ध रहेका छन्।
ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहनेछन्। एक्स्पोमा ७ वटा ब्राण्डका चारपांग्रे, एउटा तीनपांग्रे, दुई पांग्रे, २ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरुको सहभागिता छ।
एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ। सिएटद्वारा प्रायोजित नाडा ईभी एक्स्पोमा साधन, पार्ट पुर्जा, वित्तीय सेवा उपलब्ध हुनेछ।
Shares

प्रतिक्रिया