ad ad

कारोबार


भैरहवा–लुम्बिनी सडकमा अब धूलो उड्दैनः यातायातमन्त्री नेम्वाङ

भैरहवा–लुम्बिनी सडकमा अब धूलो उड्दैनः यातायातमन्त्री नेम्वाङ

प्रकाश न्यौपाने
मंसिर २२, २०७६ आइतबार ७:८,

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले अब पर्यटकीय मार्ग भैरहवा–लुम्बिनी सडकमा धूलो नउड्ने दाबी गरेका छन्।

उनले धूलो नउड्ने गरी ठेकेदारलाई काम गर्न निर्देशन दिएको बताउँदै अब धूलोको समस्या समाधान हुने जिकिर गरे। दैनिक हजारौं पर्यटक ओहोरदोहोर गर्ने बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने यो सडक अहिले स्तरोन्नतिको काम भइरहेको छ। तर, ठेकेदारले पानी नहाल्दा लुम्बिनी पुग्ने पर्यटक धूलोले नचिनिने हुन्छन्।

आइतबार प्रेस संगठन, रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले भने, ‘लुम्बिनी अत्यन्तै महत्वपूर्ण पर्यटकीय स्थल हो। त्यसैले यहाँको संवेदनशीलतालाई बुझेर ठेकेदारलाई २०७७ को वैशाखभित्रै काम सक्न निर्देश्न दिएको छु। तत्काल धूलो नउड्ने गरी काम गर्न निर्देशन दिएको छु। अब धूलो न्यून उड्छ।’

मन्त्री नेम्वाङले नेपाल भ्रमण वर्ष सफल पार्न पनि यहाँको सडकमार्गको महत्वपूर्ण भूमिका हुने जनाए। उनले यो सडक खण्डमा अलपत्र दुईवटा पुलको ठेक्का सम्झौता तोडेर निर्माण थालिने बताए। ‘अलपत्र रहेका पुलको सम्झौता तोडेर लुम्बिनीसम्म दुई÷दुई लेनका थप सातवटा पुल तत्काल बनाउन सुरु गर्दै छौँ’, उनले भने।

मन्त्री नेम्वाङले अब मुलुकभरका काम हुन नसकेका आयोजनाका विषयमा पुनर्विचार गरिने पनि बताए। शुक्रबार गैडहवा गजेडी जोड्ने कञ्चन नदीको पुल उद्घाटन गरेका मन्त्री नेम्वाङले रुपन्देहीसहित कपिलवस्तु र नवलपरसीमा निर्माणाधीन त्यस्ता ३५ वटा पुल यसै वर्ष निर्माण सम्पन्न हुने बताए।

‘यी तीन जिल्लामा अहिले ७० बढी पुल निर्माणको चरणमा छन्, यो वर्ष आधा निर्माण गरे सकिन्छ’, उनले भने। उनले बेलहिया–बुटवल चार लेन सडक चार महिनाभित्र सक्न निर्देशन दिएको जनाए। यो सडक आठ वर्षसम्म पनि निर्माण किएको छैन। यस्तै, मन्त्री नेम्वाङले सिद्धबाबा क्षेत्रमा सुरुङ बनाउन डीपीआर भइसकेकाले अबको एक महिनाभित्रै टेन्डर आह्वान हुने जनाए।

आफू भर्खरै मन्त्री भएकोले अहिले देशैभरका रुग्ण आयोजनाहरु अवलोकन गर्न हिँडेको र आवश्यक निर्देशन, नीतिगत समस्या समाधानमा पहल र कामै नभएको ठाउँको ठेक्का तोडिने बताए। मन्त्री नेम्वाङले सरकारले पूर्व–पश्चिम राजमार्ग अब आठ लेनसम्मको बनाउने तयारी थालेको बताए। ‘त्यसको सुरुवात बुटवल–नारायणगढ सडकखण्डबाट सुरु भएको छ’, उनले भने। उनले उक्त सडकखण्ड तीन वर्ष भित्र निर्माण सम्पन्न भएरै छाड्ने दाबी गरे।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यातयातमा सिन्डिकेट हट्नु ठूलो उपलब्धि भएको बताउँदै यातयातलाई थप व्यवस्थित गर्नुपर्ने बताए। उनले अझै यातायात व्यवसायी मनपरी भाडा लिने गरेको बताउँदै त्यस्तालाई तत्काल कारबाही गरिने बताए। सडक विभागका महानिर्देशक काशीराम शर्माले बुटवल पश्चिमको सडक विस्तारको काम यसै वर्ष हुने बताए।

उनले भैरहवा–लुम्बिनी सडक खण्डमा निर्मार्णाधीन पुलमध्ये २ वटा पुल बन्न नसकेकाले ती पुलको ठेक्का तोडिने निर्णयमा मन्त्रालय पुगेको बताए। उक्त सडक खन्डमा पप्पु बागमति जेभीले २०७५ असार २५ मा निर्माण सम्पन्न दुईवटा पुल ठेक्का लिएको थियो। तर समयावधि सकिँदासम्म पनि पुल अलपत्र छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .