ad ad

कारोबार


उद्योग वाणिज्य महासंघको ‘भिजन पेपर’ सँग सरकारले सम्झौता गर्ने

उद्योग वाणिज्य महासंघको ‘भिजन पेपर’ सँग सरकारले सम्झौता गर्ने

नेपालखबर
साउन १३, २०७९ शुक्रबार १५:२३, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० सँग सरकारले सम्झौता गर्ने बताएका छन्। 

शुक्रवार २८ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन्।

उनले उद्योग वाणिज्य महासंघले निकालेको भिजन पेपर, २०३० ले औँल्याएका केही विषयहरुमा सरकारले  आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको बताए।

मन्त्री बडूले नेपालको लजिष्टिक नीति अन्तिम चरणमा पुगेको बताए। उनले सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम गरिरहेको बताए।

मन्त्री बडूले मल्टिमोडल ट्रान्सफर याक्टको समयसापेक्ष संशोधन तथा नियमावली तत्काल जारी गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले उठाउँदै आएको भारतको बन्दरगाहदेखि वीरगञ्ज सुख्खा बन्दरगाहसम्मको रेल्वे सेवामा निजी क्षेत्रका रेल्वे सेवाप्रदायकहरुलाई अनुमति दिनुपर्ने माग सम्बोधन भएको छ। यसबाट कार्गो व्यवसायी आयात निर्यात व्यवसायीहरुले तुलानात्मक लाभ लिएको विश्वास लिएको छु। अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम भइरहेको छ। नेपालको लजिष्ट्रिक नीतिको मस्यौदा मन्त्रिपरिषद्मा पुगिसकेकाले अन्तिम चरणमा पुगेको छ। नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर,२०३० ले औंल्याएका केही विषय मन्त्रालयले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको छ। मल्टिमोडल ट्रान्सफर याक्टको समय सापेक्ष संशोधन तथा नियमावली यथाशीघ्र जारी गरिने छ।’

त्यस्तै कार्यक्रममा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले छिटै लजिष्टिक नीति कार्यान्वयनमा ल्याउने चरणमा पुगेको बताए।

उनले मन्त्रालयले व्यापार सहजीकरणको लागि अन्य पूर्वाधार निर्माणको काम पनि गरिरहेको बताए। सचिव पोखरेलले चालु आर्थिक वर्षमा उत्पादन बढाएर निर्यात गर्नको लागि सरकारले प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि र फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएकाले कार्गो व्यवसायीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने बताए।

उनले भने, ‘लजिष्टिक नीति मन्त्रालयले छिटै कार्यान्वयनमा ल्याउने चरणमा पुगेका छौं। अन्य पूर्वाधार विकासका कार्यमा पनि मन्त्रालय लागिरहेको छ। चालु आर्थिक वर्षमा दुईवटा ठूला कार्यक्रमहरु प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि  र फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएका छौं। नेपालमा कृषि र वनजन्य उत्पादनहरुलाई एक चरण प्रशोधन गरेर निर्यात गरौं भन्ने अभियानका हिसाबले फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएका हौँ। यसमा व्यवसायीहरुको साथ पाए सफलता पाउनेछ। सरकारले व्यापार सहजीकरण गर्न निर्माण गरेका पूर्वाधारहरुमा समीक्षा गर्नुपर्ने भए गरौं। तर बनेका पूर्वाधारहरुको पूर्ण प्रयोग गरौं भन्ने अनुरोध छ।’

सचिव पोखरेलले सरकारले व्यापार सहजीकरण गर्न निर्माण गरेका पूर्वाधारहरुका विषयमा सरकार समीक्षा गर्न तयार रहेको भन्दै तयार भएका पूर्वाधारहरुको पूर्ण प्रयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .