कारोबार


मोदी सत्तामा आएयता ३७ प्रतिशतले अवमूल्यन भयो भारु

मोदी सत्तामा आएयता ३७ प्रतिशतले अवमूल्यन भयो भारु

नेपालखबर
साउन ५, २०७९ बिहिबार १८:४, काठमाडौँ

अमेरिकी डलरसँग भारतीय रुपैयाँ क्रमशः कमजोर बनिरहेको छ । मंगलबार यही क्रममा भारु अहिलेसम्मकै तल्लो स्थानमा आइपुगेको भारतीय मिडियाले जनाएका छन् ।

नवभारत टाइम्सका अनुसार प्रतिडलर बराबर भारु ८० को निकै नजिक आइपुगेको हो । यो आर्थिक वर्षमा मात्रै भारु अहिलेसम्म करिब सात प्रतिशतले गिरावट आएको छ ।

भारतीय वित्तमन्त्रीले सोमबारमात्रै लोकसभामा सन् २०१४ डिसेम्बरयता अहिलेसम्म करिब २५ प्रतिशतले भारुको अवमूल्यन भएको जानकारी दिएकी थिइन् । अझ मोदी सरकार बनेयता भारु ३७ प्रतिशतले अवमूल्यन भइसकेको छ ।

सत्तामा आउनुअघि मोदी सरकारले भारुको गिरावटलाई मुख्य मुद्दा बनाएको थियो तर अब मोदी सरकार पनि यही समस्या झेल्न बाध्य भएको छ । करिब आठ वर्षपहिले २०१४ मा भारतीय राजनीतिमा ठूलो फेरबदल भएको थियो ।

यूपीएको सरकारलाई हराउँदै मोदी सरकार सत्तामा आयो । मोदी सरकार सत्तामा आउँदा भारु केही बलियो देखियो । सो समयमा प्रतिडलर ५८.४० भारुको हाराहारीमा थियो । अहिले भने अवमूल्यन हुने क्रममा भारु ८० को स्तरमा आइपुगेको छ । मोदी सरकारको कार्यकालमा अहिलेसम्म भारु करिब २१.६० भारु अर्थात् ३७ प्रतिशतले गिरावट भएको छ ।

सन् २०१४ को २६ मेमा भारुको मूल्य प्रतिडलर ५८.४० भारु थियो । त्यही वर्ष डिसेम्बर ३१ मा भारु घट्दै घट्दै डलरको तुलनामा ६३.३३ भारुमा पुग्यो । सन् २०१५ डिसेम्बर ३१ मा ६६.३३ स्तरमा पुग्यो । यसपछि सन् २०१६ सम्म फेरि घटेर ६७.९५ को स्तरमा पुग्यो । सन् २०१७ को डिसेम्बरमा केही मजबुत भई ६३.९३ को स्तरमा रह्यो । तर फेरि सन् २०१८ मा गिरावट आएर ६९.७९ को स्तरमा आइपुग्यो । सन् २०१९ डिसेम्बरमा भारु घट्ने क्रममा ७१.२७ को स्थितिमा आयो । सन् २०२० को डिसेम्बरमा फेरि ७३.०५ मा पुग्यो । सन् २०२१ को डिसेम्बरमा भारुको मूल्य ७४.३० भारु भयो । सन् २०२२ को जुलाई १९ अर्थात् मंगलबार भारु ८० को स्तरमा आइपुगेको हो ।

रुस–युक्रेन युद्ध, कच्चा तेलमा भएको मूल्यवृद्धि र विश्वको वित्तीय अवस्थामा आएको कठिनाइलाई भारु गिरावटको मुख्य कारण मानिएको छ । भारुमात्र नभई अहिले डलरसँग जापानी येन, युरोजस्ता मुद्रा पनि कमजोर देखिएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad