कारोबार


दराजको प्रबन्धनिर्देशकबाट बाहिरिइन् आँचल, बेन यीले पाए कार्यवाहकको जिम्मेवारी

दराजको प्रबन्धनिर्देशकबाट बाहिरिइन् आँचल, बेन यीले पाए कार्यवाहकको जिम्मेवारी

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १३:४७, काठमाडौँ

ई–कमर्स प्लेटफर्म दराज समूहले दराज नेपालको प्रबन्ध निर्देशक पदबाट आँचल कुँवर बाहिरिने घोषणा गरेको छ। यद्यपि आगामी दिनमा कम्पनीलाई सल्लाहकारका रूपमा उनले सहयोग जारी राख्ने भएकी छिन्। 

दराज नेपालको आगामी विकास यात्राको नेतृत्व गर्न बेन यी कार्यवाहक प्रबन्ध निर्देशकको भूमिकामा रहनेछन्। त्यसैगरी, कम्पनीको व्यावसायिक सञ्चालनको नेतृत्व गर्न रतिश लुइटेल प्रमुख व्यावसायिक अधिकृत नियुक्त भएका छन्। यो नेतृत्व परिवर्तन असार १७, २०८३ देखि लागू हुनेछ।

कुँवरले साढे चार वर्षभन्दा बढी समय दराजमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै कम्पनीलाई उल्लेखनीय वृद्धि र रूपान्तरणको चरणसम्म पुर्‍याएकी छन्। उनको नेतृत्वमा दराज नेपालको व्यवसाय दोब्बरभन्दा बढी विस्तार भएको छ। कम्पनीको ग्राहक संख्या ३० लाखभन्दा माथि पुगेको छ भने विक्रेता सञ्जाल २४ हजारभन्दा बढी पुगेको छ, जसमध्ये ८५ प्रतिशत साना तथा मझौला उद्योग छन्। साथै, दराजको पहुँच देशभरका १४० भन्दा बढी स्थानसम्म विस्तार भएको छ।

यी उपलब्धिहरू सँगै कुँवरले नेपालमा उद्यमशीलता र डिजिटल व्यापार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेकी छन्। उनले कैयौँ साना व्यवसायलाई सशक्त बनाउँदै लाखौं नेपालीको दैनिक जीवनमा ई–कमर्सलाई अभिन्न हिस्सा बनाउन योगदान पुर्‍याएकी छन्। स्वामित्व भावना, उत्तरदायित्व र ग्राहक केन्द्रित संस्कृतिमा आधारित एक सक्षम नेतृत्व टोली निर्माण गर्दै उनले दराज नेपाललाई आगामी सफलताका लागि अझ सुदृढ अवस्थामा पुर्‍याएकी छन्।

दराज समूहले कुँवरको योगदान, समर्पण र प्रतिबद्धताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उनको निर्णयको सम्मान गरेको जनाएको छ।

नेतृत्व हस्तान्तरणलाई सहज र प्रभावकारी बनाउन तथा दराज नेपालका सरोकारवालाहरूको निरन्तर सफलताका लागि कुँवरले पौष १६, २०८३ सम्म सल्लाहकारको भूमिकामा दराजलाई सहयोग गरिरहनेछिन्।

यस प्रक्रियालाई सहजीकरण गर्न दराज समूहका प्रमुख व्यावसायिक अधिकृत तथा हाल दराज बंगलादेशका प्रबन्ध निर्देशक रहेका बेन यीले दराज नेपालको कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नेछन्। सन् २०१५ मा अलिबाबा समूहमा आबद्ध भएदेखि यीले डिजिटल बजार विस्तार, सीमापार व्यापार, व्यवसाय विकास तथा प्ल्याटफर्म सञ्चालनका क्षेत्रमा उल्लेखनीय नेतृत्व अनुभव हासिल गरेका छन्।

त्यसैगरी, दराज नेपालमा सात वर्षदेखि कार्यरत तथा वित्तीय व्यवस्थापन र सञ्चालन क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएका रतिश लुइटेलले दराज नेपालको प्रमुख व्यावसायिक अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्। हाल उनी दराज नेपाल तथा दराज श्रीलंकाका लागि वित्त प्रमुखका रूपमा कार्यरत छन्। नेपाली बजारको गहिरो बुझाइ र संस्थागत अनुभवले उनलाई नयाँ भूमिकामा थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

आँचलले भनिन्, ‘जब म नेपाल फर्किएँ, मेरो उद्देश्य केवल एउटा व्यवसायलाई विस्तार गर्नु मात्र थिएन। म आफूभन्दा ठूलो केही निर्माण गर्न चाहन्थेँ—एक सशक्त संस्था, सक्षम नेतृत्व र नेपालको लागि सबल डिजिटल इकोसिस्टम। हामीले सँगै हासिल गरेका उपलब्धिहरू प्रति म अत्यन्त गर्व गर्छु र यस यात्रामा साथ दिने सबैप्रति आभारी छु। अनुभवी व्यवस्थापन समूहको नेतृत्वमा दराज नेपालले आगामी दिनमा अझ प्रगति गर्नेमा म विश्वस्त छु। आगामी केही महिनासम्म सल्लाहकारका रूपमा कम्पनीलाई सहयोग गर्न पाउँदा म उत्साहित छु।’

व्यापारमार्फत समुदायलाई सशक्त बनाउने आफ्नो उद्देश्यप्रति दराज निरन्तर प्रतिबद्ध छ। नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई मार्गदर्शनका रूपमा लिँदै कम्पनीले ग्राहकहरूलाई प्राथमिकता प्रदान गर्दै, विक्रेता तथा ब्रान्डहरूलाई सशक्त बनाउने तथा प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत सञ्चालन उत्कृष्टता अझ सुदृढ बनाउने कार्यलाई प्राथमिकता दिनेछ।

दिगो विकासलाई प्रवद्र्धन गर्दै थप व्यवसाय र उपभोक्तालाई ई–कमर्सका अवसरहरूबाट लाभान्वित गराउने तथा नेपालको डिजिटल रूपान्तरणलाई गति दिने कम्पनीको लक्ष्य रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad