ad ad

कारोबार


घट्दो सेयरबजार : राष्ट्र बैंकतिर औँला उठाउने कि अर्थतन्त्रको यथार्थ स्वीकार्ने?

घट्दो सेयरबजार : राष्ट्र बैंकतिर औँला उठाउने कि अर्थतन्त्रको यथार्थ स्वीकार्ने?

दीपक भट्ट
असार ३, २०७९ शुक्रबार २१:०, काठमाडौँ

चालू आर्थिक वर्षको सुरुदेखि नै सेयरबजारमा लगातारजसो गिरावट आइरहेको छ। गत वर्ष झण्डै ३२ सयसम्म पुगेको नेप्से निरन्तरको गिरावटपछि २००० विन्दुबाट पनि झरिसकेको छ। 

शुक्रबारको कारोबारलाई हेर्ने हो भने नेप्से १९७१.३६ विन्दुमा पुगेको छ। साताको अन्तिम कारोबार दिन नेप्से ७.५७ अंकले घटेसँगै उक्त विन्दुमा झरेको हो। 

कोरोना महामारी रोक्न लगाइएको लकडाउनका बेला सेयरबजार निरन्तर बढेको थियो भने लगानीकर्ता पनि निकै हौसिएका थिए। अहिलेको सेयरबजारको अधोगतिले कति लगानीकर्तालाई हतास हुने अवस्थामा ल्याइदिएको छ। 

सेयरबजारलाई समग्र अर्थतन्त्रको एक सूचकका रुपमा समेत हेर्ने गरिन्छ। लगातार सेयरबजार घटेपछि लगानीकर्ता आन्दोलित हुनेमात्र होइन, अनशनमै बस्नेसम्मको अवस्थामा पुगेका छन्। संसदमै समेत घट्दो सेयरबजारबारे बहस हुनथालेको छ। 

पछिल्लो बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपालको सेयरबजार पछिल्लो समय दुर्घटनातर्फ अघि बढेको भन्दै चिन्ता जनाएका थिए। 

प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सेयरबजारलाई अर्थतन्त्रको मेरुदण्ड मानिए पनि नेपालका नियामक निकायको गम्भीर गल्तीको सजाय लगानीकर्ताले भोग्नुपरेको उल्लेख गरेका थिए। 

थापाले भने, ‘दुःख गरेर दुई पैसा जम्मा गरेर लगानी गरेकाहरु कोही झुन्डेर मर्छु भन्छन्। कोही सडकमा आइसकेँ भनिरहेका छन्।’
अहिले सेयर बजारमा संकट आउँदा पनि अर्थ मन्त्रालयले पनि गम्भीरतापूर्वक चासो नदिएको उनको भनाइ थियो। 

राष्ट्र बैंकप्रति आक्रोश कति ठीक? 
पछिल्लो मौद्रिक नीतिले सेयरबजार प्रभावित भएको गुनासो कति लगानीकर्ताले गर्दै आएका छन्। खासगरी ४–१२ करोडको नीति ठीक नभएको उनीहरुले गुनासो गर्दै आएका छन्। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था गरेको थियो। ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने मौद्रिक नीतिले व्यवस्था गरेको थियो।

कतिपय लगानीकर्ता त्यही नीतिले नै बजार घटेको आरोप लगाइरहेका छन्। 

नेपाल क्यापिटल इन्भेस्टर एसोसिएसनकी अध्यक्ष राधा पोरखरेल बजार घट्नुको मुख्य कारणले त्यही नीति रहेको बताउँछिन्।

उनले भनिन्, ‘नियामक निकायको पुँजीबजारप्रतिको दृष्टिकोण नै स्पष्ट छैन। किनभने ४–१२ को क्याप लगाउन जरुरी नै थिएन। कोर क्यापिटलको ४० प्रतिशत त कतिपय बैंकले ऋण नै दिएका छैनन्।’ 

सोसँगै नियामक निकायदेखि नेता मन्त्रीहरु समेत सेयरबजारप्रति सकारात्मक नहुँदा मार्केटमा समस्या आइरहेको उनको भनाइ छ। 

लगानीकर्तामात्र होइन, सांसद थापाले समेत राष्ट्र बैंकले सेयरबजारमैत्री नीति नलिएको बताउँछन्। 

‘राष्ट्र बैंकको नीतिले सेयर बजारमा संकट आएको छ’, उनले दुई दिनअघि संसदमा भनेका थिए, ‘सेयरबजारको विश्वास घट्न नदिन राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयले तत्कालै केही गरून्।’

तर सेयरबजार विज्ञ रुकमांगद काफ्ले भने बजारमा अहिले नेपालको अर्थतन्त्रकै छाया देख्छन्। उनका अनुसार अर्थतन्त्रको अवस्थाअनुसार नै सेयरबजार घटिरहेकोले यसलाई स्वाभाविक लिनुपर्ने उनको तर्क छ। 

उनले भने, ‘नेपालको सेयरबजार १५ सय अंकसम्मलाई बुलिस ट्रेन्ड नै मान्न सकिन्छ। त्योभन्दा तल झर्न थाल्यो भने मात्रै बियरिस हुन्छ।’

तर धेरै उच्च विन्दुमा पुगेपछि धेरै गिरावट आउँदा भने मार्केटमा गइसकेका सर्वसाधारण साना लगानीकर्ताहरु ठूलो घाटामा जाने उनको भनाइ छ। 

‘त्यसमा भने नियामक निकायदेखि सरकार पक्षले पनि केही ध्यान दिनुपर्ने देखिन्छ’, काफ्लेले भने। 

अध्यक्ष पोखरेल भने सेयरबजार ‘सेन्टिमेन्ट’ले चल्ने भएकाले पोलिसी मेकिङ (नीतिनिर्माण) सँगसँगै राज्यले या पोलिसी मेकिङमा बस्नेहरुले कस्तो नीति लिन्छन् उनीहरुको पुँजीबजारप्रतिको दृष्टिकोण कस्तो छ भन्ने कुराले प्रभाव पर्ने बताउँछिन्।

‘किनभने उहाँहरुले जस्तो बोल्नुहुन्छ, त्यहीअनुसारको नीति बन्ने हो। जस्तो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयरबजारबारे नेगेटिभ बोलिदिनुभयो। त्यसरी बोलिसकेपछि उहाँले लिने नीति ‘पोजिटिभ’ होला भनेर आकलन गर्न सकिँदैन नि!’, उनले भनिन्, ‘त्यसकारण जो नीतिनिर्माणमा बस्नुहुन्छ, राजनीतिज्ञहरु हुनुहुन्छ, उहाँहरुले नेगेटिभ बोलिदिँदा त्यसको प्रत्यक्ष असर पुँजीबजारमा पर्छ।’  

तर सेयर बजार विज्ञ काफ्ले भने सेयर बजारमा ठूला लगानीकर्ताहरुले धेरै खेल्ने बताउँछन्। 

उनी भन्छन्, ‘नेपालको अर्थतन्त्रसँग नमिल्ने गरी सेयरबजार बढिरहँदा पनि लगानी गर्नुपर्छ अझै बढ्छ भन्ने खालको चलखेल हुन्छ। यस्तोमा साना लगानीकर्ताहरु डुब्छन्।’ 

अहिले नेप्से २ हजार विन्दुमुनि आइरहँदा कतिपय लगानीकर्ता भने सेयरबजारको दोस्रो बजारमा प्रवेश गर्ने तरखरमा छन्। 

उनीहरुलाई काफ्लेको सुझाव छ, ‘२ हजार अंक भन्दा तल बजार आएको छ तर अझै लगानी गर्ने बेला भएको छैन। केही समय पर्खिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .