ad ad

कारोबार


सेयरबजारमा नियामकीय निकायले किन गर्छ बेमौसमी प्रहार?

सेयरबजारमा नियामकीय निकायले किन गर्छ बेमौसमी प्रहार?

राधा पोखरेल।


राधा पोखरेल
फागुन ८, २०७८ आइतबार ९:१६, काठमाडौँ

सेयरबजार भन्नासाथ विभिन्न कम्पनीहरुको सेयर कारोबार हुने ठाउँ हो। यहाँ सानादेखि ठूला लगानीकर्तासम्मले सेयर किनबेच गर्छन्। कम्पनीहरुले निकाल्ने प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) होस् कि दोस्रो बजार (सेकेन्डरी मार्केट)मा हुने खरिदबिक्री सबैको कारोबार यहीँ हुन्छ। 

केही हजारदेखि करोडौँ लगानी गर्नेहरुलाई जोड्ने भनेकै सेयरबजारले हो। त्यसकारण सेयरबजारलाई संवेदनशील रुपमा लिनुपर्ने हुन्छ। तर नीतिनिर्माणको तहमा बस्नेहरुले नै यसलाई गम्भीर रुपले लिएका छैनन्।

सेयरबजारको नियमन, व्यवस्थापन गर्ने नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) देखि राष्ट्र बैंक तथा अर्थ मन्त्रालयजस्ता निकाय नै यसप्रति गम्भीर बनिरहेको देखिँदैन। 

एकपछि अर्को प्रहार
भर्खर वामे सर्दै गरेको नेपालको पुँजीबजारलाई प्रवर्द्धन गर्नुपर्ने ठाउँमा नियामक निकायले बेलाबखत बेमौसमी बाजा बजाउने गरेका छन्। यसले लगानीकर्ताहरुको सम्पत्तिमा गम्भीर सुरक्षा खतरा देखिने गरेको छ। 

नियामकबाटै बेला–बेला बेमौसमी प्रहार गर्दा यसको उतारचढावले लगानीकर्तालाई असर गर्छ। राष्ट्र बैंकको कुरा गरौँ, कतिपय यसका बजारविरोधी नीति छन्। ४–१२ को व्यवस्था गरेर अनावश्यक रुपमा क्याप लगाइएको छ। उसै पनि बैंकले कोर क्यापिटल (चुक्ता पुँजी)को ४० प्रतिशत मात्र सेयरबजारमा लगानी गर्न ऋण दिन्छ। त्योसँगै मार्जिनको व्यवस्था छँदै छ। त्यसमाथि ४/१२ को व्यवस्था ल्याइदिँदा लगानीकर्तालाई मार परेको छ। त्यसपछि ब्याजको मारमा लगानीकर्ता छँदै छन्। 

भर्खरै केन्द्रीय बैंकले मौद्रिक समीक्षा गरेको छ। त्यसमा सेयर कर्जामा झन् कडाइ हुने भनिएको छ। यसले त लगानीकर्ता, पब्लिकहरुले यसै भन्नसक्ने अवस्था छैन। उनीहरुले समाचारको आधारमा मूल्यांकन र आकलन गर्ने हो, बोल्ने हो। 

यसरी बजारप्रति नकारात्मक नीति लिइरहेको अवस्था छ। हाम्रा नियामक निकायको पुँजीबजारप्रतिको दृष्टिकोण नै स्पष्ट छैन। किनभने ४/१२ को क्याप लगाउन जरुरी नै थिएन। कोर क्यापिटलको ४० प्रतिशत त कतिपय बैंकले ऋण नै दिएका छैनन्। झन् झन् यस्तो व्यवस्था ल्याइरहँदा नियामक निकायहरु अर्थ मन्त्रालय, राष्ट्र बैंकजस्ता नीति निर्माता गम्भीर भएको देखिँदैन। 

सेन्टिमेन्टले चल्छ सेयरबजार 
सेयरबजार भनेको सेन्टिमेन्टले चल्छ। पोलिसी मेकिङ (नीतिनिर्माण) सँगसँगै राज्यले या पोलिसी मेकिङमा बस्नेहरुले कस्तो नीति लिन्छन्, उनीहरुको पुँजीबजारप्रतिको दृष्टिकोण कस्तो छ भन्ने कुरा हुन्छ। किनभने उहाँहरुले जस्तो बोल्नुहुन्छ त्यहीअनुसारको नीति बन्ने हो। जस्तो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयरबजारबारे नेगेटिभ बोलिदिनुभयो। त्यसरी बोलिसकेपछि उहाँले लिने नीति ‘पोजिटिभ’ होला भनेर आकलन गर्न सकिँदैन। त्यसकारण जो नीतिनिर्माणमा बस्नुहुन्छ, राजनीतिज्ञहरु हुनुहुन्छ, उहाँहरुले नेगेटिभ बोलिदिँदा त्यसको प्रत्यक्ष असर पुँजीबजारमा पर्छ। 

हाम्रो पुँजीबजार दैनिक २२ अर्बसम्म कारोबार भएको पुँजीबजार हो। पुँजीबजार बढ्दै गएपछि लगानीकर्तामा पनि ‘पोजिटिभ सेन्टिमेन्ट’ हुन्छ। त्यहीअनुसार कारोबार पनि बढ्दै जाने हो। तर बजार घट्दै गएपछि कतिपयलाई अझै बजार घट्छ कि भन्ने डर हुन्छ। घट्दै जाँदा लगानीकर्ता आफूसँग भएको सेयर होल्ड गर्नतिर लाग्छन्। अहिले कारोबार रकम कम हुनुमा पनि यही कुरा जस्तो लाग्छ। 

बजार बढ्दै गएपछि हामीले २२ अर्बको कारोबार र इन्डेक्स पनि ३२ सयसम्म पुगेको देख्यौँ। अहिले बजार घट्दै गएपछि कारोबार रकम पनि घटेको छ। एउटा कुरा त हामी सबैले बुझ्नु पनि पर्छ। जस्तो जब लकडाउन भयो, कोभिडको मारमा लगानीकर्तालगायत सबै परे। पैसा पनि थुप्रिएर बसेको थियो। बैंकमा पनि पैसा फालाफालको अवस्था थियो। तरलता पुग्दो थियो। बैंकले घरघरमा पैसा पुर्याउन जाने अवस्था थियो। 

त्यस्तो अवस्थामा यत्तिकै किन राख्नु भनेर पैसा सेयरबजारमा आयो। तर अब कोभिडको अवस्था सामान्यीकरणतर्फ जाँदा अन्य सेक्टर पनि खुल्दै गए। अनि अन्य सेक्टरमा जाने पैसा त्यतै जानथाल्यो। त्यसले गर्दा पनि अहिले कारोबार रकम घटेको हो। 

हामी ५० लाख लगानीकर्ता पुगेको भन्छौँ। अहिले डिम्याटअनुसार यति लगानीकर्ता पुगेका छन्। प्रत्यक्ष अप्रत्यक्ष रुपमा उहाँहरु सेयरबजारमा जोडिनुभएको छ। लकडाउनको समयमा त सबैजसो यहीँ थिए, विशेष ध्यान नै सेयरबजारतिर थियो। तर अहिले लकडाउनको अवस्था होइन। त्यसो हुँदा अन्य क्षेत्रमा पनि पैसा गएको हो। यसले गर्दा कारोबार रकममा सानो आकार देखिएको हो। यो कुरा सबैले बुझ्नुपर्छ। 

आईपीओबाट सेकेन्डरीतिर जाँदा ध्यान दिऔँ 
लगानीकर्ताहरुले धेरै ध्यान पुर्याएर बजारमा जानुपर्छ। आईपीओमा जानको लागि त हामीले त्यति धेरै पुँजीबजारसम्बन्धी ज्ञान नभए पनि भयो। तर सेकेन्डरीतिर जानेले चाहिँ यससम्बन्धी अध्ययन बढाएर आउँदा राम्रो हुन्छ। बजार त हावामा भनेअनुसार पनि चल्ने हुन्छ। अरुको भरमात्रै परेर लगानी गर्नु भएन। हामीले बजारमा आउनुअघि हामीसँग कस्तो पैसा हो, कुन रुपमा लगानी गर्छौँ, छोटो समयका लागि हो कि लामो समयको लागि, अथवा मध्यम समयको लगानी हो कि भन्ने निश्चिन्त हुनुपर्यो। मैले बजारमा कति समयसम्म होल्ड गर्न सक्छु भन्ने पनि हेक्का राख्नुपर्यो। पुँजीबजार सधैँ बढ्ने हुँदैन, घट्छ पनि, राजनीतिक अवस्था, तरलता, समय–समयमा फेरिने नीतिहरु यी यावत् कुरा मनन गरेर सेकेन्डरीतिर जाने हो। 

चारैतिरबाट सेयरबजारलाई प्रहार हुने हुन्छ। आफू अनुकूल सेयरबजार चलाउन खोज्नेहरु हुन्छन्। यसलाई लगानीकर्ताले अलि बुझ्नैपर्ने हुन्छ। बजार घटिहाले पनि नआत्तिने गरी तयार भएर सेकेन्डरी बजारमा आउनु उपयुक्त हुन्छ। 

सिंहदरबारकै वरिपरि छ नेपाली सेयरबजार 
सेयरबजार उसै पनि सेन्सिटिभ क्षेत्र हो। विदेशमा बजारमा केही समस्या आएमा त्यहाँ पोलिसी मेकरले अथवा राज्यले नै सेयरबजारमा किन यस्तो समस्या आयो भन्ने हिसाबले कमिटी नै बनाएर समस्याको समाधान खोजिरहेका हुन्छन्। तर नेपालमा त्यस किसिमको परिपाटी नै छैन। यहाँ त जति बजार घटे पनि झन् झन् प्रहार बढ्छ। 

यसले लगानीकर्ताको सम्पत्तिमा बेला–बेलामा चुनौती देखिन्छ। गम्भीर असर देखिन्छ। यसले गर्दा नीतिनिर्माणको तहमा बस्नेहरुले सेयरबजारप्रति स्पष्ट धारणा बनाउनुपर्यो। नेपालको सेयरबजार अहिले पनि सिंहदरबारकै वरिपरि छ। काठमाडौंकै वरिपरि छ। यसलाई देशव्यापी बनाउन, सबैतिर लैजान बैंकलाई ब्रोकर चाहियो। यदि ब्रोकरहरु नै जान खोज्छन् भने उनीहरुको शाखा विस्तारमा पनि राज्यले जोड दिनुपर्यो। 

हामीले अर्थ मन्त्रालयलाई ५८ बुँदै माग पनि राखेका थियौँ। त्यसमध्ये १२/१३ बुँदा बाँकी नै छ। त्यो सम्बोधन भए बजारको अधिकांश समस्या समाधान हुन्छ। हामीले राखेका माग कतिपय राष्ट्र बैंकले पूरा गर्नुपर्ने खालको छ, कतिपय ब्रोकरले गर्नुपर्ने छ। जस्तो मार्जिन लेन्डिङको कुरा, बैंकलाई ब्रोकरको कुरा, ब्रोकर कमिसनलगायत रहेका छन्। यसमा कति माग अर्थ मन्त्रालयले पनि पूरा गर्नुपर्छ भनेका छौँ। 

नयाँ नेतृत्वले पुरानाकै बाटो नहिँडून् 
अब त नियमन र व्यवस्थापनका काम गर्ने धितोपत्र बोर्ड र नेप्से दुवै निकाय हाँक्ने प्रमुखको पदपूर्ति भइसकेको छ। 

उहाँहरुले लिने नीतिले सेयरबजारलाई प्रभाव पार्नेछ। बोर्डले ५१ वटा कम्पनीबारे विवरण सार्वजनिक गर्दा बजारमा पहिरो गएको थियो। त्यही बेलादेखि बजार ओरालो लागेर अहिलेसम्म उठ्न सकेको छैन। त्यसकारण उहाँहरुले बजारप्रति हेर्ने दृष्टिकोण, नीतिनिर्माण कस्तो गर्ने भन्ने कुराले अर्थ राख्छ। 

आशा गरौँ, पुराना नेतृत्वकर्ताहरुले गर्नुभएका काम उहाँहरुले दोहोर्याउनु हुने छैन। लगानीकर्ताको हितमा काम गर्नुहुनेछ। 

(कुराकानीमा आधारित। पोखरेल नेपाल क्यापिटल इन्भेस्टर एसोसिएसनको अध्यक्ष हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .