चालु आर्थिक वर्षको चौथो महिनामा पनि आयात घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार पहिलो चौमासिकमा गत आर्थिक वर्ष २०७५/७६ को भन्दा ६.९२ प्रतिशतले आयात घटेको हो।
अघिल्लो आवको पहिलो चार महिनामा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। चालु आवको कात्तिकसम्म यो घटेर ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।
चार महिनाको अवधिमा निर्यातको वृद्धिदर उत्साहप्रद देखिएको छ। गत आवको पहिलो चार महिनामा नेपालले २९ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेकोमा चालु वर्ष २३.९० प्रतिशतले बढेको छ। यो वर्ष निर्यात ३६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
तथ्यांकअनुसार चार महिनामा कूल ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। अघिल्लो आवको यसै अवधिमा ५ खर्ब १३ अर्ब रुपैयाँको कूल वैदेशिक व्यापार भएको थियो। यस वर्ष ५।१६ प्रतिशतले वैदेशिक व्यापार घटेको तथ्यांकले देखाएको छ।
प्रमुख निर्यात भएका वस्तुमा प्रशोधित पाम तेल ८ अर्ब ३६ करोड, सेन्थेटिक यार्न २ अर्ब ७९ करोड, उनी गलैंचा कार्पेट २ अर्ब ६२ करोड , तयारी कपडा २ अर्ब १६ करोड, भटमासको तेल प्रशोधित २ अर्ब २ करोड, अलैची १ अर्ब ५४ करोड रहेको छ।

प्रतिक्रिया