कारोबार


फोरजी सेट बोके पनि अझै साढे ५ लाखले चलाउँछन् थ्रीजी सिम, अपग्रेड गर्न एनसेलको अपिल

फोरजी सेट बोके पनि अझै साढे ५ लाखले चलाउँछन् थ्रीजी सिम, अपग्रेड गर्न एनसेलको अपिल

नेपालखबर
असार १७, २०८३ बुधबार ११:४०, काठमाडौँ

फोरजी प्रयोग गर्न मिल्ने मोबाइल फोन प्रयोग गरिरहेको तर युसिम नलिएका ग्राहकहरूलाई युसिम वा ई-सिममा अपग्रेड गर्न एनसेलले आग्रह गरेको छ। 

चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) प्रयोग गर्न मिल्ने स्मार्टफोन बोकेर पनि त्यसलाई प्रयोग नगर्दा ग्राहकहरूले उच्च गुणस्तरको भ्वाइस वा तीव्र गतिको मोबाइल डेटा सेवाबाट वञ्चित हुनु परेको भन्दै अपग्रेड गर्न आग्रह गरेको हो।

८६ प्रतिशत ग्राहकसँग फोरजी सपोर्ट गर्ने मोबाइल उपकरण उपलब्ध भएपनि अझै झण्डै ५ लाख ५० हजार फोरजी मोबाइल प्रयोग गर्ने ग्राहकले फोरजी चलाउनका लागि यूसीम वा ई–सीम नलिएको एनसेलले जनाएको छ। त्यसैगरी ०.६ प्रतिशत ग्राहकले थ्रीजी सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने गरेका छन्।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले समेत सेवा प्रदायकहरूलाई ग्राहकलाई युसिम वा ई-सिमबारे जानकारी दिएर अपग्रेड गराउन आग्रह गर्दै आएको छ। 

एनसेलले चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्दै लगिरहेको छ। एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजनालाई निरन्तरता दिदै विभिन्न १३ जिल्लाका स्थानिय तहमा थ्रीजी सेवा बन्द गर्दैछ। यसले ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’(भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत बनाउने कम्पनीले जनाएको छ।

योसँगै थ्रीजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ। कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी नै चलाइरहेका हुन्छन्। अब भोल्टेको फाइदा लिन ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङ्मा भोल्टे अन गर्नु पर्ने एनसेलले जनाएको छ।

देशैभर फोरजी नेटवर्क विस्तार गरी फाइभजीका लागि कम्पनीले फ्रिक्वेन्सी मागिरहेको अवस्थामा थ्रीजी नेटवर्क बन्द हुनु नयाँ प्रविधिमा अपग्रेड हुने एक प्रक्रिया हो। यसले उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूलाई भ्वाइस अनि डेटामा झन् गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गराउने कम्पनीको दाबी छ। 

एनसेलले आफूले घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्दैछ। यसै योजना अन्तर्गत पाँच प्रदेशका १३ जिल्लाका २२० भन्दा बढी टावरहरुमा कम्पनीले असार २२ गतेबाट थ्रीजी सेवा बन्द गर्दै छ। 

कम्पनीले यी जिल्लाका सम्बन्धित स्थानहरुमा बसोबास गर्ने र फोरजीमा अपग्रेड हुन बाँकी ग्राहकहरूलाई भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ । यसअघि पनि गत माघमा कम्पनीले कोशीका तीन जिल्लाका विभिन्न स्थानियतहहरुमा थ्रीजी बन्द गरेको थियो। नेपाल टेलिकमले पनि चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्दै लगिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad