कारोबार


नेपाल टेलिकमको खुद मुनाफा १८ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो ३ अर्ब ८९ करोड

नेपाल टेलिकमको खुद मुनाफा १८ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो ३ अर्ब ८९ करोड

नेपालखबर
फागुन १, २०७८ आइतबार १२:२४, काठमाडौँ

चालू आर्थिक वर्षको ६ महिना अर्थात् पुससम्म नेपाल टेलिकमले आफ्नो खुद मुनाफा बढाएको छ। 

टेलिकमको खुद नाफा १८ प्रतिशतले बढेर ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको हो। 

गत आवकोे द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको खुद मुनाफा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेको थियो। गत वर्षभन्दा खुद मुनाफा ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ बढी हो। 

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को द्वितीय त्रैमासिकको वित्तीय विवरण अनुसार गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) मा ईबीआईटीडीए ८ अर्ब ६१ करोड ३ लाख १७ हजार रहेकोमा चालू आवको सोही अवधिमा ७७ करोड ५८ लाख ७३ हजार (अर्थात ९.०१ प्रतिशत)ले वृद्धि भई ईबीआईटीडीए ९ अर्ब ३८ करोड ६१ लाख ९० हजार रहेको छ। 

त्यस्तै गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रहेकोमा चालू आवको सोही अवधि (२०७८ पुस मसान्त) सम्ममा १ अर्ब ४८ करोड २३ लाख ३ हजार (अर्थात, ८.३६ प्रतिशत) ले वृद्धि भई १९ अर्ब २० करोड ७२ लाख १६ हजार रहेको छ। 

गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको कुल आय २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेकोमा चालू आवको सोही अवधि (२०७८ पुस मसान्त) सम्ममा कुल आय १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार (अर्थात्, ६.८७ प्रतिशत) ले वृद्धि भई २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रहेको छ।

त्यसैगरी गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) मा मात्र कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रहेकोमा चालू आवको सोही अवधि (२०७८ पुस मसान्त) को मात्र कुल सञ्चालन आय ३४ करोड २३ लाख ४९ हजार (अर्थात्, ३.७७ प्रतिशत) ले वृद्धि भई ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रहेको छ।

गत आवको द्वितीय त्रैमासिक अवधिको तुलनामा चालू आवको द्वितीय त्रैमासिकमा कम्पनीको आर्थिक स्वास्थ्य सकारात्मक हुनुमा फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको टेलिकमले जनाएको छ। 

यसैगरी टुजी/थ्रिजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत टुजी/थ्रिजी/फोरजी सेवाको पहुँच विस्तार गरिएको कारणले ग्राहक आधार वृद्धि हुन गएको, कम्पनीको एफटीटीएच सेवा प्रति ग्राहकको आकर्षणमा वृद्धि भई एफटीटीएचमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटीभी सेवाका ग्राहकहरु वृद्धि हुन गई फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको टेलिकमको भनाइ छ। 

मुलुक तथा विश्वव्यापी रुपमा कोभिड १९ विरुद्धको खोप कार्यक्रमपश्चात् कोभिड १९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालू आ. व.को शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको कम्पनीले जनाएको छ। 

कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डेटा प्याकेज उपलब्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजस्व वृद्धि हुने अवस्था नरहेतापनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको टेलिकमको भनाइ छ। 

कोभिड १९ महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभइसकेको वास्तविकता तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहे पनि अनलाइन व्यवसाय, अनलाइन क्लास, सोसल नेटवर्किङ, इन्टरनेट मनोरञ्जन आदिमा भएको वृद्धिको कारणले कम्पनीको भ्वाइस सेवा, डेटा सेवा, एसएमएस सेवा र भीएएस सेवामा गत आ. व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) को तुलनामा चालू आवको सोही अवधिमा सुधार आएको टेलिकमले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad