कारोबार


डाबरले उत्पादन वृद्धिमा ९ अर्ब ६८ करोड लगानी थप्दै, लगानी बोर्डले दियो स्वीकृति

डाबरले उत्पादन वृद्धिमा ९ अर्ब ६८ करोड लगानी थप्दै, लगानी बोर्डले दियो स्वीकृति

नेपालखबर
माघ २५, २०७८ मंगलबार १६:५१, काठमाडौँ

बहुराष्ट्रिय कम्पनी डाबर नेपालले आफ्नो उत्पादन वृद्धिमा ठूलै लगानी थप्ने भएको छ। 

कम्पनीले ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप्नलागेको हो। यसका लागि लगानी बोर्डले स्वीकृति प्रदान गरेको छ। 

बोर्डको बैठकले डाबर नेपाल प्रालि उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणको लागि ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार  रुपैयाँको लगानी स्वीकृत गरेको हो। 

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा क्रमशः अनुमानित १ सय २५ मेगावाट तथा २ सय २५  मेगावाट गरी जम्मा ३ सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि अनुमानित लागत २३ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने गरी परियोजना विकासका सम्बन्धमा सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई सम्भाव्यता अध्ययनको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ। 

त्यसैगरी, बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण तरिकाबाट विकास गर्न छनौट भएको प्रस्तावक कम्पनी एसजेभीएन लिमिटेड इन्डियाले पेश गरेको प्रारम्भिक प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ। 

साथै, बैठकले लगानी प्रवर्द्धनका सम्बन्धमा विभिन्न संघ÷संस्थासँग समझदारीपत्र गर्न कार्यालयलाई अख्तियारी दिएको छ।

त्यसैगरी जेनेभास्थित वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट तथा प्रोफेसनल संस्थाको सदस्यता ग्रहण गर्न समेत स्वीकृति प्रदान गरेको छ।

बैठकले लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।

उक्त बैठकमा सम्माननीय प्रधनमन्त्री देउवाले लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक नीतिगत तथा कानूनी सुधार गरी लगानीमैत्री वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको विचार व्यक्त गरे। 

साथै आर्थिक विकासका लागि लगानी बोर्डको कार्यालय तथा नेपाल सरकारका सम्बन्धित निकायले पूर्वाधार संरचनामा विविधीकरण गरी सम्भाव्यता अध्ययनसम्बन्धी कार्यहरुलाई तीव्र रुपमा अगाडि बढाउँदै परियोजना निर्माणमा जोड दिनका लागि निर्देशन समेत दिएको लगानी बोर्डले जनाएको छ।  

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरेबमोजिम परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुबारे प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए

उक्त अवसरमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्म ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .