सरकारले सिमेन्टको गुणस्तर मापदण्ड परिवर्तन गर्न छलफल चलाइरहेकै बेला संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि चासो देखाएको छ। संसदीय समितिले आगामी सोमबार उक्त विषयमा छलफल गर्ने जानकारी दिएको हो।
नेपाल गुणस्तर परिषदको सिमेन्ट उत्पादनमा प्रयोग हुने रसायनको मात्रामा पुनरवलोकन गर्ने मस्यौदा सरकारले तयार पारेपछि लेखा समितिले चासो राखेको समितिका अध्यक्ष भरत शाहले जानकारी दिए।
‘मापदण्डमा परिवर्तन गर्न लागिएको रसायनले मजबुती दिने हो कि कमसल हुने हो, त्यस विषयमा विज्ञसँग कुरा गर्छौँ’, शुक्रबार समितिको बैठकमा अध्यक्ष शाहले भने।
केही दिनअघि उद्योगमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले ओपीसी सिमेन्टमा अघुलनशील पदार्थ (आईआर) को मात्रा २ बाट ४ र म्याग्नेसियम अक्साइडको मात्र ५ बाट ६ गराउँदा पनि मापदण्ड पुग्ने निर्णय लिएको थियो। म्याग्नेसियमको मात्र जति थोरै भयो त्यति नै सिमेन्टको गुणस्तर राम्रो मानिन्छ। परिषद्ले २०५५ सालमा तय गरेको म्याग्नेसियमको मात्रालाई परिवर्तन गरेर नयाँ मापदण्ड बनाउन लागिएको हो।
यस विषयमा समितिले नापतौल विभागका अधिकारी र विज्ञसँग छलफल गर्ने जनाएको छ।
Shares

प्रतिक्रिया