शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा आएका प्रतिनिधिहरुले एकैखालको झोला बोकिरहेका छन्।
त्यो झोलामा कुनै बुट्यानको पातअंकित एउटा चिह्न देखिन्छ। त्यो पात हो लागूऔषध मानिने गाँजाका बोटका। अर्थात् प्रतिनिधिहरुले बोकेको झोला गाँजाको बोटबाट निस्किने रेशाले बनेका हुन्।
कांग्रेसले १४औँ महाधिवेशनमा गाँजाको बोटबाट बनेका झोला आफ्ना प्रतिनिधिलाई बाँडेको हो।
महाधिवेशनका लागि देशभरबाट आएका करिब ४५ सय प्रतिनिधिलाई पार्टीले नेपालमै बन्ने गाँजाका झोला वितरण गरेको हो।
नेपाली कांग्रेसले ‘हिमालय हेम्प ब्याग’ सबै प्रतिनिधिलाई वितरण गरेको छ।
‘हिमालय हेम्प ब्याग’ कुनै एउटा कम्पनीको ब्रान्डभन्दा पनि साझा नाम हो। हेम्प अर्थात् गाँजाका बोटबाट रेसा निकालेर झोला बनाउँछन्।
नेपालमा विदेशीहरुको बढी रोजाइमा हेम्प ब्याग पर्ने गरेका छन्। नेपालको चिनोको रुपमा ठमेललगायतका ठाउँबाट विदेशीले यस्तो झोला बढी खरिद गर्ने व्यवसायी बताउँछन्।
७ सयदेखि २५ सयसम्म पर्छ मूल्य
नेपाली बजारमा गाँजाका झोला ७ सयदेखि २५ सय रुपैयाँसम्म होलसेलमा किन्न पाइन्छ। खुद्रामा भने यो झोला १ हजारदेखि ४ हजार रुपैयाँसम्म मूल्यमा बिक्री हुने गरेको छ।
जति राम्रो हेम्प प्रयोग गर्यो त्यति झोला महंगो हुने व्यवसायीहरुको भनाइ छ। झोलामा चेनको गुणस्तर कस्तो छ भन्नेले पनि थोरै मूल्य फरक पर्ने उनीहरु बताउँछन्।
नेपालमा गाँजा लगाउन कानुनीरुपमा प्रतिबन्धित छ। प्रहरीले विभिन्न ठाउँमा बेलाबखत गाँजाका बोटहरु फँडानी गर्दै आएको छ।
तर नेपालका विभिन्न ठाउँमा गाँजाका रेसा र भाङका लागि बोटहरु लगाइने गरिएको छ।
कस्तो छ हेम्प ब्यागको बिक्री?
यस्ता झोलाहरु काठमाडौंका पसलहरुमा झुण्डिरहेकै हुन्छन्। चल्तीका झोलाभन्दा फरक देखिने यस्ता ब्यागको राम्रै किनबेच हुने गरेको छ।
यही झोला बिक्री गर्दै आएका छन् काठमाडौंका व्यवसायी लोमस जोशी।
उनले हेम्पका विभिन्न सामग्री अनलाइनमार्फत बिक्री गर्दै आएका छन्।
आफ्ना साथीका उद्योगबाट उत्पादन भएको हेम्पब्यागलगायतका सामग्रीलाई बजारमा पठाउने गरेको उनले बताए।
जोशीका अनुसार झोला बनाउन प्रयोग हुने गाँजा बाग्लुङ पश्चिमका जिल्लामा बढी पाइन्छ। पश्चिमका पहाडी गाउँमा बढी उत्पादन हुन्छन्।
पश्चिम पाहाडी भेगमा गाँजाको गेडा अर्थात् भाङका लागि उत्पादन गरेको हुन्छ। पश्चिमको भाङ पौष्टिक र ठूलो आकारको हुन्छ। गाउँ–गाउँमा अचारमा बढी प्रयोग गर्छन्।
गाउँ गाउँमा गेडा उत्पादन भएपछि बोटको रेसा कसैले संकलन गरेका हुन्छन् भने कसैले आगो बाल्ने गरेका छन्।
‘गाउँ–गाउँमा प्रोसेसिङ प्लान्ट नभएको हुँदा आगो बालेरै सकाउने गरेका छन्’, उनले भने, ‘गाउँमा भाङ उत्पादन भएका बोटबाट रेशा उत्पादन गर्न सके करोडौँको आर्थिक आर्जन गर्न सकिन्छ।’
‘कानुनले रेशा उत्पादनलाई पनि रोकेको छ’
गाँजा एक नशालु पदार्थ हो। त्यही भएर सरकारले यसलाई प्रतिबन्धित गरेको छ। पछिल्लो समय भने गाँजाको प्रतिबन्ध फुकुवा गर्नुपर्ने आवाजहरु उठिरहेका छन्।
त्यही प्रतिबन्धको कारण यस्ता ब्याग बनाउने प्रयोजनको लागि रेशा उत्पादन गर्न पनि कानुनले रोकेको छ।
यसका बाबजुद रुकुम लगायत ठाउँमा भने नशालु पदार्थ उत्पादन नगर्ने सम्झौता र शर्तमा गाँजाको बोट लगाउन दिइएको उनको भनाइ छ।
गाउँपालिकाहरुले भाङ उत्पादन गर्नको लागि छुट लिएका छन्। कसैले नशालु पदार्थ उत्पादन गरे गाउँपालिकालाई खबर गर्ने सहमति गरेका छन्।
भाङ (भाँगो)लाई सुपर फुड मानिने उनी बताउँछन्। गाउँ–गाउँमा भाङको १ पाथी गेडाबाट २–३ पाथी चामल आउने गरेको छ।
रेशा बनाउनै गाह्रो, विदेशबाट समेत आयात
जोशीका अनुसार गाँजाको बोटबाट रेशा बनाउन धेरै गाह्रो हुन्छ।
‘तराईमा हुने बोटभन्दा पहाडी भेगका बोटहरु अग्ला हुन्छन्’, जोशी भन्छन्, ‘अग्लो बोटबाट राम्रो रेशा निस्किन्छ। बलियो पनि हुन्छ।’
नेपालका पहाडी ठाउँमा उत्पादन भएको गाँजाका बोट त्यसै खेर जाँदा रेशा चीनलगायतका देशबाट मगाएर पनि नेपालमा हेम्प ब्याग उत्पादन भइरहेको उनी बताउँछन्। किनकि नेपाली गाँजाको रेशा पाउनै मुस्किल छ।
‘नेपालमा हेम्पको डिमान्ड यति धेरै छ कि हालको उत्पादनले धान्नै सक्दैन’, उनले भने, ‘नेपालमा हेम्पका विभिन्न सामग्री बनेर बाहिर निर्यात हुन्छ।’
कतिपय व्यापारीले गाँजाको रेशालाई कटनसँग मिक्स गरेर विभिन्न कपडाका सामग्री समेत बनाउने गरेका छन्।
Shares
प्रतिक्रिया