ad ad

कारोबार


मनसुनजन्य विपतबाट क्षति भोगेका किसानलाई आगामी वर्ष क्षतिपुर्ति

मनसुनजन्य विपतबाट क्षति भोगेका किसानलाई आगामी वर्ष क्षतिपुर्ति

नेपालखबर
असार २५, २०७८ शुक्रबार १४:४०,

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानलाई आगामी आर्थिक वर्षमा क्षतिपुर्ति दिनेगरी लगत संकलन गरिरहेको बताएको छ। 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले यस वर्षको मनसुनका कारण आएको बाढी तथा पहिरोका कारण कृषकहरुलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत संकलन गरिरहेको बताए।

मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत् के कति क्षति भएको छ, त्यसको तथ्यांक संकलन गरिरहेको उनले जानकारी दिए। एक हप्ताभित्र लगत संकलन भइसक्ने र असार २० गतेसम्मको प्रारम्भिक रिपोर्ट तयार पारेपछि किसानलाई आगामी आर्थिक वर्षमा क्षतिपुर्ति मार्फत् सम्बोधन गरिने उनले बताए। 

उनले भने, ‘एक हप्ताभित्र डाटा सबै ठाउँबाट संकलन हुन्छ। यो असारको २० गते सम्मको प्रारम्भिक रिपोर्ट तयार गर्न लागिरहेका छौँ। रिपोर्ट आइसकेपछि किसानलाई अर्को वर्षको कार्यक्रममा कसरी सम्बोधन गर्न सकिन्छ? खासगरी बिऊ, मल, प्रविधिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा हामी छलफललाई व्यापकता बनाइरहेका छौँ। संघीय सरकारबाट हाम्रो दायित्व मुख्य रुपमा प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने हो। त्यो समन्वय हाम्रो शाखा, महाशाखाहरुले गरिरहेका छन्। यो क्षतिबाट मुक्त हुन र अब बढी क्षति नहोस् भन्नका लागि सतर्कताका लागि म्यासेजहरु एफएम मार्फत्, एप्सहरुमार्फत् दिइरहेका छौँ। आगामी आर्थिक वर्षको कार्यक्रममा हामीले केही पैसा क्षतिपुर्तिमा दिने र केही बजेटको व्यवस्था पनि पहिलोपटक गरेका छौँ, संघीय मन्त्रालयको बजेटमा। भौगोलिक बनोटको आधारमा, बालीको आधारमा, नोक्सानीको आधारमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भएको समितिको सिफारिसको आधारमा यसलाई अगाडि बढाउँछौँ।’

सचिव कार्कीले यस वर्ष औसत रुपमा धान रोप्न ढिलाइ भइरहेको बताए। हालसम्म ५६ प्रतिशत धान रोपाई भएको उनले जानकारी दिए। यस वर्ष १५ लाख हेक्टरमा ६० लाख मेट्रिक टन धान फलाउने लक्ष्य लिइएको उनले बताए। निरन्तर भेलबाढी आइरहेमा सरकारको लक्ष्य प्राप्तिमा समस्या पैदा हुने उनको भनाई छ। बाढी, पहिरोबाट किसानलाई क्षति हुन नदिनका लागि मन्त्रालयको ध्यान केन्द्रित रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .