आफ्नो नानो भूउपग्रहले पृथ्वीका कक्ष परिक्रममा गर्न थालेको करिब तीन महिनापछि नेपालले सिधै सम्पर्क गर्ने ग्राउण्ड स्टेसन स्थापना गरेको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा स्थापना गरिएको ग्राउण्ड स्टेसन पूर्ण रुपमा सञ्चालन भने भैसकेको छैन। सञ्चालनमा आएपछि नेपालको ग्राउण्ड स्टेसनबाटै अन्तरिक्षमा रहेको भूउपग्रहसँग अप लिंक (निर्देशन दिने) र डाउन लिंक (डेटा संकलन गर्ने) काम हुनेछ।
नास्टका अधिकारीहरुले ग्राउन्ड स्टेसन प्राविधिक परीक्षणको चरणमा रहेको जनाए।
नेपाल स्याट वान नामको त्यो नेपालको पहिलो नानो भूउपग्रह असार २ गते अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस) बाट पृथ्वीको कक्षमा छाडिएको थियो। नेपालको सँगै बड्र्स थ्री परियोजना निर्माण गरिएको श्रीलंकाको रावण वान र जापानको युगुइसी नामको नानो भूउपग्रहहरु पृथ्वीको सतहतभन्दा चार सय किलोमिटर माथि कक्षमा परिक्रमा गरिरहेका छन्।
‘ग्राउण्ड स्टेसन स्थापना गर्ने काम सम्पन्न भयो, अहिले हामी भूउपग्रहसँग सम्पर्क गर्ने कोसिसमा छौं’, नास्टका प्रविधि संकायका प्रमुख रविन्द्र ढकालले नेपालखबरसँग भने, ‘अहिले प्राविधिक परीक्षणको चरणमा छौं। हामीले भएको गल्ती र कमजोरीबाट सिक्दै नयाँ चरणमा जाने प्रयास गरिरहेका छौं।’
भविष्यका लागि पनि काम गर्न सक्ने गरि ग्राउण्ड स्टेसन निर्माण गरिएको बताउँदै ढकालले भने, ‘अहिलेसम्म नेपालले स्थापना गरेको ग्राउण्ड स्टेसनबाट एक पटक पनि सम्पर्क गर्न सकेका छैनौं, प्रयास गरिरहेका छौं।’
जापान र श्रीलंकाले भने ग्राउण्ड स्टेसनबाट सम्पर्क गरी बड्र्स थ्री परियोजनाका स्याटलाइटहरुले फोटो खिच्ने र अन्य परीक्षणहरु गर्ने काम सम्पन्न गरेका छन्।
जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा विद्यावारिधी गरिरहेका आभास मास्केले बड्र्स थ्री परियोजना अन्तर्गत नानो भूउपग्रह निर्माण गरेका हुन्। सो परियोजनामा बड्र्स फोर कार्यक्रममा सहभागी भएका नास्टका प्राविधिक हरिराम श्रेष्ठ पनि सहभागी भएका थिए। श्रेष्ठसहित विश्वका विभिन्न देशका विद्यार्थीहरुले नानो भूउपग्रह निर्माण गरेका हुन्।
नेपाल स्याट वान भूउपग्रह पृथ्वीको सतहभन्दा चार सय किलोमिटर माथि अन्तरिक्षमा परिक्रममा गरिरहेको छ। प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्छ। त्यो क्रममा दैनिक चार पटक नेपालको आकाशमा आइपुग्छ।
पृथ्वीमा रहेको ग्राउन्ड स्टेसनले भूउपग्रहसँग एक पटकमा दस मिनेट मात्रै सम्पर्क गर्न सक्छ।
नेपालले अन्तरिक्षमा नानो स्याटलाइट प्रक्षेपण गर्नका लागि २ करोड रुपैयाँ उपलब्ध गराएको थियो।
नेपाल स्याट वान १० सेन्टिमिटर अग्लो, १० सेन्टिमिटर लामो र १० सेन्टिमिटर चौडा छ। हातमा अट्ने यो क्युस्याट १ किलो ३३० ग्राम तौलको छ।
यो भूउपग्रहलाई बैशाखमा अमेरिकाबाट कार्गो यानमा राखेर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पठाइएको थियो। केन्द्रमा पुगेको करिब दुई महिनापछि मात्रै त्यसलाई अन्तरिक्षमा छाडिएको थियो।
‘हामीले पहिलो पटक यस्तो काम गरिरहेकाले पनि केही समस्याहरु उत्पन्न भएका हुन्। नेपालमा ठेक्का गर्ने कम्पनी नयाँ थियो। हामीमा पनि अनुभवको कमी रह्यो,’ ढकालले भने, ‘अबको केही दिनमा ग्राउण्ड स्टेसन पूर्ण रुपमा चल्छ। त्यसपछि नेपालबाटै भूउपग्रहसँग सम्पर्क गरी फोटो खिच्ने र अन्य परीक्षणहरु गर्ने छौं।’
लामो सरकारी प्रक्रिया पूरा गर्नु पर्दा र सामान खरिदका लागि ढिलो गरी बोलपत्र आह्वान गर्दा ग्राउण्ड स्टेसन निर्माण ढिलो भएको हो। एक त सामान ल्याउनै ढिलाइ भएको थियो, त्यसमाथि पहिलो पटक ल्याइएको सामाना उल्टो परेर ठेकेदार कम्पनीले अर्को पटक मगाउनु परेको थियो।
क्युटेकले ग्राउण्ड स्टेसन निर्माण र सञ्चालनका लागि नास्टका प्राविधिकलाई पुस महिनामै तालिम दिएर नेपाल पठाएको थियो।
प्रतिक्रिया