प्रवास


राहदानी नवीकरण नहुँदा सर्बियाका नेपाली समस्यामा, जर्मनी दूतावास भन्छ- चाँडै समाधान हुन्छ

राहदानी नवीकरण नहुँदा सर्बियाका नेपाली समस्यामा, जर्मनी दूतावास भन्छ- चाँडै समाधान हुन्छ

शेरबहादुर परियार
माघ ११, २०८२ आइतबार १८:३०, मध्य युरोप

संसार ‘ग्लोबल भिलेज’मा रूपान्तरण भएसँगै पछिल्लो समय युरोपमा रोजगारी र अध्ययनका लागि आइपुग्ने नेपालीको संख्या बढ्दो छ। काम तथा अध्ययन वा अन्य प्रयोजनका लागि विदेशिने नेपालीको मुख्य सम्पत्ति नै राहदानी हो। त्यही राहदानी नवीकरण गर्नु नै युरोपका केही मुलुकमा रहेका नेपालीलाई ठूलो समस्या बन्ने गरेको छ।

अझ राजदूतावास नभएका मुलुकमा रोजगारीमा आएका नेपालीलाई नवीकरण गरेर नयाँ राहदानी लिनु भनेको ठूलो युद्ध जित्नुसरह बन्न पुगेको छ।

राहदानीका लागि व्यक्ति आफैँले अनलाइन फाराम भर्न सक्ने भए पनि फोटो खिचाउन र विद्युतीय हस्ताक्षर गरेर पेस गर्न दूतावास जानैपर्ने वा दूतावासले गर्ने घुम्ती शिविर पर्खनुपर्ने बाध्यता छ।

राहदानीबिना रेसिडेन्स कार्ड लिने प्रक्रिया अवरुद्ध हुने र राहदानीकै कारणले अवैधानिक हुने, अनि कानुनी झन्झट भोग्ने नेपालीको संख्या युरोपमा धेरै छ।

यसै क्रममा युरोपेली मुलुक सर्बियामा रोजगारीको सिलसिलामा आएका नेपालीहरू राहदानी नवीकरण गर्न नसकेर समस्यामा परेका छन्।

उल्लेख्य संख्यामा सर्बियामा रहेका नेपाली होटल, कारखाना, क्लिनर, कन्स्ट्रक्सनलगायतका काममा रहेका छन्। 

राहदानी नवीकरणमा ढिलाइ हुने भएपछि सर्बियामा रहेका २ जना नेपाली महिला आज (आइतबार) नेपालमै नवीकरण गरेर पुन: सर्बिया फर्कने भन्दै काठमाडौँ उडेका छन्।

पछिल्लो समय पोल्यान्ड, रोमानिया, क्रोएसियालगायत युरोपेली मुलुकले कामदार भिसामा कडाइ गरेपछि धेरै नेपाली सर्बिया आइरहेका नेपाली प्रवासी सेवा समाज, सर्बियाका अध्यक्ष छिरिङ लामा बताउँछन्।

नेपालखबरसँगको टेलिफोन कुराकानीमा अध्यक्ष लामाले भने, ‘हामी राहदानी नवीकरण गर्ने नेपालीलाई सूचना गरिरहेका छौँ। धेरै साथी सम्पर्कमा आउनु भएको छ। यसबारे बर्लिनस्थित नेपाली दूतावासलाई पनि भनेका छौँ। दूतावासले चाँडै समस्याको सम्बोधन हुने आश्वासन दिएको छ।’

सुनसरी भोक्राहाका किशोर चौधरीको राहदानीको म्याद जनवरी ६ मा नै सकिएको हो। त्यसैगरी गोरखा आरुपोखरी-४ का रोशन सुर्खेतीको चाँडै सकिँदैछ।

यो किशोर र रोशनको मात्र समस्या होइन। सर्बियामा रहेका नेपालीको राहदानी नवीकरण साझा समस्या हो।

किशोर र रोशनको एउटै भनाइ छ, ‘हाम्रो राहदानी छिटो नवीकरण होस्।’

समस्या चाँडै समाधान हुन्छ : राजदूतावास
रोमानियाको राजधानी बुखारेस्टमा राहदानी नवीकरण घुम्ती शिविर चाँडै सञ्चालन गर्न लागिएको बर्लिनस्थित नेपाली राजदूतावास जर्मनीका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले बताए।

दूतावासले राहदानी विभाग काठमाडौँसँगको समन्वयमा रोमानियामा यो घुम्ती शिविर गर्ने भएकोले त्यही टोली सर्बियामा समेत पुगेर त्यहाँका नेपालीको राहदानी नवीकरणको समस्या समाधान गर्ने योजना रहेको कार्यवाहक फुयालले नेपालखबरसँग बताए।

दूतावास वा राहदानी विभागले चाहेर मात्र घुम्ती सेवा सञ्चालन हुँदैन। अर्थ मन्त्रालयको स्वीकृति हुनु पर्छ, जसका लागि महिनौँ कुर्नुपर्ने देखिएको छ। साथै, घुम्ती शिविर प्रयोजनका लागि राहदानी विभागबाट आउने कर्मचारीलाई एउटा मुलुक सकेर नेपाल नफर्काई अर्को मुलुकमा शिविर गर्न लगाउँदा उपयुक्त हुन्छ। यसबाट सरकारलाई आर्थिक भार कम हुन्छ भने राहदानी नवीकरण नभएर समस्या परेका नेपालीलाई राहत हुन्छ। 

बर्लिनबाट २ हजार किलोमिटर टाढा रहेको रोमानिया र १३ सय किलोमिटर टाढा रहेको सर्बियालगायत १० वटा देशमा सेवा दिन नेपाली राजदूतावास जर्मनीले सम्भव छैन। त्यसैले, ५० हजार नेपाली रहेको रोमानियामा नेपाली राजदूतावासको स्थापना गरेर स्लोभाकिया, सर्बिया, हङ्गेरी तथा बुल्गेरियालाई सेवा तथा कुटनीतिक क्षेत्र बनाएर त्यहाँ रहेका नेपालीलाई उत्कृष्ट सेवा दिनु नै सरकारको उपयुक्त विकल्प हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad