प्रवासी नेपाली मञ्च पोल्यान्डको पाँचौँ अधिवेशनबाट अध्यक्षमा अक्षय रिजाल चयन भएका छन्। नेकपा (एमाले) निकट रहेको मञ्चको उपाध्यक्षमा रामप्रसाद सुवेदी र सचिवमा सुवास खतिवडा रहेका छन्।
१३ सदस्यीय सर्वसम्मत चयन भएको कार्यसमितिको सहसचिव तथा आर्थिक प्रमुख निराजन आचार्य र महिला उपसचिवको जिम्मेवारी अञ्जु लामाले पाएका छन्।
त्यसैगरी, सदस्यहरूमा विशाल आचार्य, प्रदिप पुलामी मगर, सविना घतानी, सागर देवकोटा, श्याम गुरुङ र प्रज्वल सुवेदी छानिएको अध्यक्ष रिजालले बताए।

पोल्यान्डको भ्रोस्वाभ सहरस्थित डिबी होटलको सभाकक्षमा हिजो (आइतबार) मञ्चको अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य सन्तोष भट्टराईको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो।
मञ्चको अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा पोल्यान्ड इन्चार्ज कल्पना त्रिपाठी, युरोप महादेश कमिटीका संयोजक मुक्त गुरुङ, युरोप सचिव शालिकराम थपलिया, स्पेन अध्यक्ष शिवप्रसाद गौतमलगायत पोल्यान्डका विभिन्न संघसंस्थाका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिएका थिए।
पोल्यान्ड राष्ट्रिय कमिटीका अध्यक्ष इश्वर देवकोटाको अध्यक्षता तथा सचिव सुवास खतिवडाको सञ्चालनमा अधिवेशन भएको हो।
Shares

प्रतिक्रिया