कुनै वेला बाजुरामा सहयात्री थिए, लालबहादुर थापा र प्रकाशबहादुर शाह। सँगसँगै नेकपा (एमाले) को संगठन निर्माणदेखि चुनावी अभियानमा गाउँबस्ती पुग्थे। झन २०७४ सालमा त बाजुराबाट थापा प्रतिनिधि सभा र शाह प्रदेश सभाको चुनाव लडे। वाम गठबन्धनका उम्मेदवार दुवै जना सांसद पनि बने।
राजनीतिक यात्रामा कतिवेला र कसरी मोड आउँछ, निश्चित हुँदैन। अहिले थापा र शाहको राजनीतिक सम्बन्ध पनि यस्तै मोडबाट गुज्रिरहेको छ। एकताका सहयात्री यसपटक बाजुराबाट प्रतिनिधि सभा सदस्यको चुनावमा आमनेसामने भएका छन्।
थापा एमालेबाट उम्मेदवार हुँदा शाहलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अघि सारेको छ। एमालेका केन्द्रीय सदस्य समेत रहेका शाह केही समयअघि मात्रै पार्टी परित्याग गरेर नेकपामा सामेल भए।
२०४५ सालमा विद्यार्थी राजनीति सुरु गरेका शाह २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए। २०४७ सालमा अनेरास्ववियु बाजुराको अध्यक्ष भएका उनी २०५५ सालमा एमालेको जिल्ला कमिटी सचिव बने। त्यसको दुई वर्षपछि प्रतिनिधि सभा निर्वाचनका लागि टिकट पनि पाएका थिए तर चुनाव नै भएन।
२०६६ सालमा एमाले बाजुराको अध्यक्ष बनेका शाह २०७० सालमा केन्द्रीय सदस्य निर्वाचित भए। एमाले र माओवादीबीच एकीकरणपछि बनेको नेकपाको पनि केन्द्रीय सदस्य पनि भएका थिए।
त्यतिवेला भएको २०७४ सालको चुनावमा उनी बाजुरा १ ‘ख’ बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। सुदूरपश्चिम सभामा एमालेको संसदीय दलका नेता भएका उनी प्रदेश सरकारमा सहभागी भए। तीन वर्ष आन्तरिक मामिला तथा कानून र एक वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाले।
२०७८ सालमा सम्पन्न एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी केही महिनाअघि एमाले त्यागेर नेकपामा सामेल भएका हुन्। अहिले नेकपाबाट उम्मेदवार बनेका उनी पूर्व सहकर्मी थापासँगको प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिएको बताउँछन्। ‘समृद्धि र विकासको लागि केन्द्र सरकारमा बाजुराको आवाज सशक्त रुपमा उठान गर्न उम्मेदवारी हो,’ शाह भन्छन्, ‘लामो समयसँगै भए पनि अहिले अलग-अलग छौँ। राजनीति सिर्जनात्मक हुनुपर्छ र यो प्रतिस्पर्धा स्वाभाविकै हो।’
२०७४ सालमा पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धी भनेका उनी पहिलो प्रयासमै सफल भए। त्यतिवेला माओवादीको सहयोगमा नेपाली कांग्रेसका पदमबहादुर शाहीलाई पराजित गरेका थिए।
प्रदेश सभाको जितलाई निरन्तरता दिँदै अहिले पटक संघीय संसद् छिर्ने योजनामा छन्, शाह। तर यसपटक उनको साथमा पुरानो पार्टी एमाले छैन। बरु एमालेबाटै विभाजित भएको नेकपा (एकीकृत समाजवादी) र माओवादी मिलेर बनेको नेकपा छ।
एमालेका उम्मेदवार थापाले भने नेपाल ल क्याम्पसमा अध्ययनरत रहँदा २०४३ सालमा अखिलमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए। २०४८ सालमा बाजुरा-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षहुँदै २०५३ सालमा एमालेको बाजुरा जिल्ला सचिव बने। त्यसको एक वर्षपछि जिल्ला विकास समितिको सभापति निर्वाचित भए।
त्यस्तै, २०६९ सालमा एमाले बाजुराको अध्यक्ष बनेका उनी नवौँ महाधिवेशन र दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने। त्यससँगै बाजुरा इन्चार्जको जिम्मेवारी पनि पाए।
यहिबीच २०७४ सालमा बाजुरामा वाम गठबन्धनका साझा उम्मेदवार बनेका थापा सांसद निर्वाचित भए। त्यसको पाँच वर्षपछि भने संघीय संसद् छोडेर प्रदेशमा झरे। उनको प्रदेश सभा यात्रा भने सफल हुन सकेन। २०७९ सालको चुनावमा बाजुरा १‘ख’मा कांग्रेसका पदमबहादुर शाहीसँग पराजित भए।
यस पटक उनी २०७९ सालको बदला लिँदै संघीय संसद पस्ने रणनीतिमा छन्। ‘संविधान र राष्ट्रियतामाथि आक्रमण भएको वेला एमाले मजबुत हुनु जरुरी छ। चुनाव जितेर सशक्त र निर्णायक शक्तिका साथ आएर संविधानलाई ट्रयाकमा ल्याउनुछ,’ थापा भन्छन्, ‘विदेशीने श्रमशक्तिलाई उत्पादनसँग जोडेर युवालाई रोक्नुपर्छ। त्यसका लागि पार्टीले काम गर्छ।’
यसअघि एमालेसँग बाजुरामा मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसकै हुने गरेको थियो। यस पटक कांग्रेस, एमाले र नेकपाको त्रिपक्षीय प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मिसिएको छ।
बाजुरामा राजनीतिक दल र स्वतन्त्र गरी आठ उम्मेदवार छन्। कांग्रेसका जनकराज गिरी, रास्वपाका हेमराज थापा र राप्रपाका केशरबहादुर शाही प्रतिस्पर्धा गरिरहेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का दिपककुमार डिसी र नेकपा (माओवादी) का भूपेन्द्र ल्वारसँगै स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही चुनावी प्रचारमा लागेका छन्।
२६ वर्षपछि ‘कमब्याक’ गर्ने योजना
कांग्रेसका जनकराज गिरी बाजुराका लागि ‘भेट्रान’ उम्मेदवार हुन्। उनी २६ वर्षपछि ‘कमब्याक’ गर्ने योजनासहित प्रतिनिधि सभाको चुनावी मैदानमा उत्रिएका छन्।
उनले २०३८ सालबाट नेविसंघमार्फत राजनीति यात्रा सुरु गरेका थिए। त्यससँगै २०४६ सालको जनआन्दोलनमा अग्रमोर्चामा रहेका उनी २०६२/६३ सालको जनआन्दोलनमा सहभागी भएका थिए। भरखरै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका छन्।

साढे दुई दशकअघि नै उनले संसदीय यात्रा सुरु गरेका थिए। २०५६ सालमा निर्वाचनमा बाजुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनी भूमि सुधार सहायकमन्त्री बनेका थिए।
लामो समयपछि २०७४ सालमा बाजुरा १ ‘क’बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए, तर एमालेका बलदेव रेग्मीसँग पराजित भए। २६ वर्षपछि अहिले संघीय संसद्का लागि प्रतिस्पर्धा उत्रिएका छन्। कांग्रेसको जितलाई निरन्तरता दिँदै ‘कमब्याक’ गर्ने योजनामा उनी छन्।
आलोपालो जस्तै इतिहास
बहुदलीय व्यवस्था पुनःस्थापनापछि भएका सात निर्वाचनमध्ये बाजुरामा कांग्रेसले चार पटक र एमालेले तीन वटा जित हासिल गरेको छ। २०४८ सालको चुनावमा कांग्रेसका देवराज जोशीले एमालेका हिक्मतबहादुर शाहीलाई हराउँदै संसद् यात्रा तय गरेका थिए।
त्यसपछि २०५१ सालको चुनावमा एमालेका शाहीले कांग्रेसका जोशीलाई हराउँदै २०४८ सालको बदला लिएका थिए। त्यसयता २०५६ र २०६४ सालको चुनावमा लगातार कांग्रेसले बाजी मारेको थियो।
२०५६ सालमा कांग्रेसका जनकराज गिरी एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै सांसद बनेका थिए। त्यसपछि २०६४ सालको संविधान सभा चुनावमा कांग्रेसका देवराज जोशीले एमालेका थापालाई नै हराएका थिए।
२०७० सालको संविधान सभाको चुनावमा एमालेका कर्णबहादुर थापाले कांग्रेसका मानबहादुर रावललाई पराजित गरेका थिए। त्यसपछि २०७४ सालको चुनावमा एमालेका लालबहादुर थापाले कांग्रेसका कविराज पण्डितलाई हराएका थिए। त्यसवेला प्रदेश सभा दुवै क्षेत्रमा पनि एमालेले जितेको थियो।
डेढ दशक जितविहीन बनेको कांग्रेसलाई २०७९ सालमा बद्रीप्रसाद पाण्डेले जित दिलाएका थिए। उनले एमालेका कर्णबहादुर थापालाई पाँच हजार ४३७ मतान्तरले पराजित गरेका थिए।
२०७९ सालमा प्रदेश सभा निर्वाचन भने बाजुरा १‘क’ मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही र बाजुरा १‘ख’ मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका थिए।
परीक्षणमा रास्वपादेखि कांग्रेससम्म
प्रतिनिधि सभाको यो निर्वाचनमा रास्वपादेखि कांग्रेससम्म एक्लाएक्लै चुनावी मैदानमा छन्। अघिल्लो चुनाव माओवादी र एकीकृत समाजवादीसँग तालमेल गरेर जितेको कांग्रेस एक्लै चुनावमा होमिँदा शक्ति परीक्षण हुनेछ।
विशेश महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएसँगै कांग्रेसमा आन्तरिक किचलो कम भएको छैन। बाजुरामा पनि यसको प्रभाव देखिन्छ। कांग्रेसलाई एकजुट गरेर चुनावमा होमिनै गिरीका लागि चुनौती छ।
नेकपा पनि जित निकाल्ने गरी चुनावमा होमिएको छ। तर नेकपाका उम्मेदवार शाहसँग लामो समयसम्म काम गरेको पार्टी संगठन साथमा छैन।
त्यस्तै, एमाले छोडेर नेकपाबाट उम्मेदवार बनेका शाहले गर्ने क्षति न्यूनिकरण गर्नु पर्ने चुनौतीमा एमालेका थापा छन्। आफ्नो मत एकीकृत राखेर कांग्रेसको असन्तुष्ट मत तान्न सके जित निश्चित हुने एमाले नेताहरू सुनाउँछन्।
नयाँ शक्तिको चर्चाबीच रास्वपाका उम्मेदवार ३३ वर्षीय हेमराज थापा पाका नेतालाई उछिन्ने रणनीतिमा छन्। २०७९ सालको चुनावमा रास्वपाले बाजुरामा समानुपातिकमा २३५ मत पाएको थियो।
समानुपातिक मतका आधारमा कांग्रेस अगाडि छ। कांग्रेस २७ हजार ९७२ र एमालेको २६ हजार २९९ मत पाएको थियो। त्यस्तै, नेकपा (माओवादी केन्द्र) को एक हजार ९७८, नेकपा (एकीकृत समाजवादी) को एक हजार ७२८ र राप्रपाको १७८ मत थियो।
Shares

प्रतिक्रिया