प्रवास


पोल्यान्डमा १ हप्तामै २ नेपालीको मृत्यु, शुक्रबार कास्कीका ३३ वर्षीय सुमनले गुमाए ज्यान

पोल्यान्डमा १ हप्तामै २ नेपालीको मृत्यु, शुक्रबार कास्कीका ३३ वर्षीय सुमनले गुमाए ज्यान

शेरबहादुर परियार
माघ ४, २०८२ आइतबार १२:३४, मध्य युरोप

पोल्यान्डमा झापाका ४२ वर्षीय गोपालबहादुर लिम्बू शेर्माको निधन भएको १ हप्तामा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ।

कास्कीको मादी-११, उपल्लो साप्ले घर भएका ३३ वर्षीय सुमन गुरुङको हृदयघातका कारण शुक्रबार (१६ जनवरी) मा मृत्यु भएको हो।

गतवर्ष (१६ भदौ २०८१) रोजगारीको सिलसिलामा नेपालबाट रोमानिया आएका सुमन ११ मे २०२५ देखि पोल्यान्डमा थिए। उनको श्रीमती र ७ वर्षका छोरा छन्।

पोल्यान्डको राजधानी वारसाबाट १५० किलोमिटरमा रहेको प्लातेरुफको ओस्त्रोमेचिनमा रहेको टिएमएस ग्रुप कम्पनीमा उनी च्याउ उत्पादन गर्ने कम्पनीमा काम गर्थे।

पहिले पनि तीन पटकसम्म श्वास-प्रश्वाससम्बन्धी समस्या भइसकेका सुमनलाई जनवरी १६ मा अचानक  श्वास फेर्न गाह्रो भएर कोठामै बेहोस भएका थिए।

‘कहिलेकाहीँ उनलाई श्वास फेर्न अप्ठ्यारो हुन्थ्यो। तर, १६ तारिख बिहान ७ बजे हृदयघात नै भएजस्तो भयो,’ सुमनसँग एउटै कोठामा बस्दै आएका पोखराका सागर ठकुरीले नेपालखबरलाई भने, ‘घरबेटीले प्राथमिक उपचार गरेपछि एम्बुलेन्स बोलाएर अस्पताल लगियो। तर, अस्पतालले पुर्‍याउनेबित्तिकै मृत घोषित गर्‍यो।’

यता, नेपालमै रहेकी सुमनकी श्रीमती सुनिता गुरुङ घटनाबाट भावविह्वल छिन्। नेपालखबरसँगको टेलिफोन कुराकानीमा भक्कानिँदै उनले भनिन्, ‘मेरो जिन्दगीमा कल्पनासमेत नगरेको दुःखद घटना घटेको छ। म बोल्न सक्ने अवस्थामा छैन। पोल्यान्डका संघसंस्था तथा नेपाली समुदायले सकेको सहयोग गरिदिनु होला।’

सुमनको मृत्यु र अबको सहजीकरणका सम्बन्धमा नेपालखबरले पोल्यान्डसमेत कार्यक्षेत्र रहेको जर्मनीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालसँग जिज्ञासा राखेको थियो। 

शव छिट्टै नेपाल पठाउन आवश्यक कदम चालिसकिएको जानकारी दिँदै फुयालले भने, ‘रोजगारदाता कम्पनीसँग सम्पर्क र समन्वयका साथै आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव छिट्टै नेपाल पठाउन वारसाको अवैतनिक वाणिज्यदूतावासलाई आवश्यक निर्देशन दिइसकिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad