बर्लिनस्थित नेपाली दूतावास जर्मनीले रोमानियामा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गरेको छ।
राहदानी विभाग, काठमाडौँको समन्वयमा नेपाली राजदूतावास जर्मनीले रोमानियामा मार्च २६ देखि ३१ सम्म घुम्ती शिविरबाट राहदानी बनाउन आवेदन दिएका आवेदकहरूको तयार भएको राहदानी वितरण गरेको हो।
जर्मनीस्थित नेपाली राजदूतावास बर्लिननका नियोग उपप्रमुख सागरप्रसाद फुयालले जुलाई २६, २७ र २८ (३ दिन) बुखारेस्टस्थित द अदिति किचन रेस्टुरेन्टमा राहदानी वितरण गरेका हुन्।
राहदानी नवीकरण गर्दा सेवाग्राहीबाट अतिरिक्त शुल्क र चर्को हुलाक खर्च लिएको गुनासो आएकाले यसपटक दूतावास आफैँले रोमानियामा राहदानी वितरण गरेको हो।

उपप्रमुख फुयालका अनुसार १६ सयमा १२६८ जनाले आफ्नो राहदानी बुझेका छन्। विभिन्न कारणले राहदानी लिन नआएकाहरूको हकमा दूतावासले हुलाकमार्फत पठाउने उनले नेपालखबरसँग बताए।
त्यसैगरी पोल्यान्डका ८६३ जनामध्ये जुलाई २० मा २४८ जनाको राहदानी वारसास्थित अवैतनिक वाणिज्यदूतको कार्यालयमार्फत वितरण गरिएको छ। बाँकी रहेका राहदानी छिट्टै वितरण गरिने बताइएको छ।
यसैबीच रोमानियामा क्रियाशील नेपाली संघसंस्थाहरूले दूतावासका उपप्रमुख राहदानी वितरणका लागि रोमानिया आएको सन्दर्भ पारेर राजदूतावास स्थापना गर्न माग गरेका छन्।
नेपाल तामाङ घेदुङ, शेर्पा किदुग, नेपाल किरात समावेशी समाज, तमु समाज, नेपाल मगर संघ र कग्यु बुद्धिस्ट एसोसिएसनले उपप्रमुख फुयाललाई ज्ञापनपत्र बुझाउँदै राजदूतावास स्थापना गर्न पहल गरिदिन भनेका छन्।

यदि तत्काल राजदूतावास स्थापना गर्न सम्भव नभए पनि अवैतनिक वाणिज्यदूतावास भए पनि चाँडो भन्दा चाँडो स्थापना गरिदिन दूतावासमार्फत नेपाल सरकारलाई अनुरोध गरेका छन्।
लगभग ३० हजार नेपाली कामदार रहेको युरोपेली मुलुक रोमानियाका तत्कालीन नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेल कारबाहीमा परेपछि हाल त्यहाँ नेपालको कुनै औपचारिक कुटनीतिक संयन्त्र छैन।
नेपाली राजदूतावास जर्मनीको रोमानियासहित पोल्यान्ड, स्लोभाक, चेक गणतन्त्र, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत देशहरूमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।
Shares

प्रतिक्रिया