सामान्यतया व्यवसायीहरू अत्यन्तै व्यस्त हुन्छन् किनभने उनीहरू एकैसाथ धेरै भूमिका र जिम्मेवारी सम्हाल्छन्। फलस्वरूप उनीहरू व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्न निकै संघर्ष गरिरहेका हुन्छन्। जसले गर्दा परिवार, साथीभाइ र व्यक्तिगत सोखलाई तिलाञ्जली दिन बाध्य हुन्छन्।
तर, बेलायतका सफल व्यवसायी सुमन राईको हकमा भने यो कुरा मेल खाँदैन। उनी समय व्यवस्थापनमा पनि उत्तिकै माहिर छन्। र, हरेक गतिविधिलाई अर्थपूर्ण बनाउनतिर लाग्छन्।
उनले हालै विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनबाट पृथ्वीलाई बचाउ भन्ने अभियान लिएर नेपालको ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिकको सफल आरोहण गरेका छन्। उनले गत सोमबार बिहान करिब साढे ८ बजेतिर उक्त शिखर चुमेका हुन्।

को हुन् सुमन राई?
लामो समयदेखि बेलायत बस्दै आएका उनी सफल व्यवसायी, समाजसेवी र सामाजिक अभियन्ता हुन्। उनी खोटाङका स्थायी बासिन्दा हुन्।
सन् २०१३ मा अनुग्रह ज्वेलरी सञ्चालनमा ल्याएका उनले हालसम्म बेलायतमा ४ वटा शाखा खोलिसकेका छन् भने निकट भविष्यमा अर्को शाखा खोल्ने तयारीमा रहेको बताए।
नेपाली समुदायमाझ ‘किङ अफ ज्वेलर्स’को छवि बनाएका उनको व्यवसाय ‘डाइभर्स’ रहेको छ। व्यवसायको विशेषता नै जोखिमयुक्त रहेको र त्यसले गर्दा सबै अण्डा एकै बास्केटमा राख्न नहुने तर्क राईको छ। त्यसैले उनका अनुग्रह बुलियन (जसले सुन, चाँदी, हिरा र लक्जरी घडीहरूको व्यवसाय गर्छ), अनुग्रह होम्स (घरजग्गा कारोबार), ग्रेस ट्राभल्स, अनुग्रह फाउन्डेसन जस्ता संस्था छन्। उनी यी सबैका निर्देशक हुन्।

फाउन्डेसनमार्फत समाजसेवा
कुल आम्दानीको १० प्रतिशत रकम परोपकारी कार्य र समाजसेवामा खर्चिने लक्ष्य राखेको राईले नेपालखबरलाई बताए। उनले यसै संस्थाको लागि कोष जुटाउने र वातावरण तथा पर्यावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यसहित मेरा पिक आरोहण गरेका हुन्। अर्को वर्ष ७ हजार मिटरमाथिको हिमाल चढ्ने लक्ष्य राखेका छन् भने अन्तिम गन्तव्य चाहिँ सगरमाथाको शिखर चुम्ने रहेको छ।
फाउन्डेसनमार्फत नेपालमा शिक्षा, स्वास्थ, बाटोघाटो लगायतको सुधारका लागि खर्चिने योजना रहेको पनि उनले सुनाए।

गोर्खा वरियर-२ निर्माण गर्ने
राई फिल्म निर्माता समेत हुन्। चर्चित फिल्म ‘गोर्खा वरियर’ उनकै निर्माणमा बनेको हो। यस बाहेक अन्य केही फिल्ममा पनि उनी निर्माता रहेका छन्। गोर्खा वरियरको सफलताले हौसिएका उनी निकट भविष्यमै दोस्रो सिक्वेल निर्माणमा लाग्ने बताउँछन्।
उनको अनुग्रह ग्रुपले बेलायतमा नेपालीद्वारा आयोजित विभिन्न इभेन्टमा प्रायोजन गर्दै आएको छ।
Shares

प्रतिक्रिया