नेपाली युवा विदेशिने लहर चलेको लामै समय भयो। कोही पर्यटक भिसामा, कोही विद्यार्थी भिसामा त कोही कार्य भिसामा विश्वका विभिन्न मुलुक पुग्नु आजको बाध्यताजस्तै भइसकेको छ।
छोराछोरी बढाएर, पढाएर विद्यालय शिक्षा पार गराइसकेपछि धेरै अभिभावकको समान बाध्यता अघि आउने गरेको छ- अब बच्चाले कुन देश जान्छु भन्छ, त्यसैमा मुन्टो हल्लाउनुपर्ने।
चाहे पर्यटक, विद्यार्थी वा कार्य भिसा जुनसुकै माध्यमबाट गए पनि अधिकांशको उद्देश्य भने एउटै हुने गरेको छ- आकर्षक कमाइ।
यही सपना बोकेर दशकअघि युरोप छिरेका स्याङ्जाका हरि चापागाईँ यतिबेला पोर्चुगलमा स्थापित व्यवसायी बन्न सफल भएका छन्। तीन वर्षअघि विदेशीलाई नेपाली खानाको स्वाद चखाउने उद्देश्यसहित खोलेको उनको ‘ओभन’ रेस्टुराँ अहिले मिचेलियन गाइडमा प्रवेश गरेको छ।

जुन मिचेलियनमा छिर्ने सम्भवत: पहिलो नेपालीको रेस्टुराँ बन्न पुगेको छ। यसको एक प्रमाणका रूपमा पोर्चुगिज न्युजपेपरको कभरेजलाई पनि लिन सकिन्छ। जसलाई पछ्याउँदै नेपालखबर उनीसमक्ष पुगेको थियो।
सन् १९२० बाट निश्चित भौगोलिक क्षेत्रभित्रका रेस्टुराँलाई उत्कृष्टताका आधारमा र्याङ्किङ गर्ने मिचेलियन गाइड रेस्टुराँ क्षेत्रको प्रसिद्ध प्रकाशन हो। जसमा पर्नु रेस्टुराँका लागि ठूलो उपलब्धि मानिन्छ। मिचेलियन गाइडले वानदेखि थ्रि स्टारसम्म प्रदान गर्ने गर्दछ।
युरोप छिर्नुअघि सेफ हरि चापागाइँ पनि विदेश कि स्वदेश भन्ने अलमलमै थिए। कलेज पढ्दै गर्दा काठमाडौँमै रेस्टुराँ खोल्ने उनको योजना परिवारको अनिच्छाका कारण तुहियो।
पढाइपछि परिवारले छोरो अस्ट्रेलिया जाओस् भनेर राखेको चाहना उनले तुहाइदिए। कारण थियो- युरोप छिरेर रेस्टुराँ व्यवसायी बन्ने।
युरोप त छिर्ने तर कुन देश जाने? यसमा उनले स्पेन रोजे। यसमा पनि कारण थियो- दिदी भिनाजु उतै थिए। उतै मात्र होइन, उनकै चाहनाअनुसारको व्यवसायमा थिए, रेस्टुराँ क्षेत्र।
२०११ मै काठमाडौँको बानेश्वरमा रेस्टुराँ लिन ठिक्क परेका उनलाई घरपरिवारले सानै छ भनेर रोकिदियो। तर, उनको यो हुटहुटीले यहीँ विश्राम भने लिएन। २०१४ मा जर्मन हानिए। त्यहाँबाट स्पेन छिरे र दिदी-भिनाजुको रेस्टुराँमा काम गर्न थाले। जर्मन उनको ट्रान्जिट प्वइन्ट थियो।
यहाँ ८-९ महिना काम गरेपछि पोर्चुगल लागे र एउटा पोर्चुगिज रेस्टुराँमा काम सुरु गरे। यहाँका सेफ रिकार्टो भिटाली उनका प्रेरणाका स्रोत बने। उनैबाट काम गर्ने तौरतरिका सिके। केही समय काम गरेपछि उनकै मद्दतबाट पोर्चुगलकै लक्जरीमध्येको मानिने सुसी रेस्टुराँमा पुगे।
सुसीमा काम गर्न पाउनु नै एक त इज्जतिलो सिँढी थियो भने अर्कोतर्फ आम्दानीको हिसाबले पनि मजबुत। यसका सञ्चालक ओलिभियर दाकोस्टा थिए, जसको बिजनेस गर्ने तरिकालाई उनले नजिकबाट नियाल्ने मौका पाए।

केही समय सुसीमा काम गरेपछि उनलाई यहाँ काम गरेर मात्र आफ्नो सपना पूरा हुन्छ भन्ने लागेन र फेरि स्पेन नै फर्किए। अनि, दिदी-भिनाजुकै रेस्टुराँमा जोडिए। दिदीलगायत अन्य टिमबाट काम सिके, जतिबेला उनकी दिदी करी सेफ थिइन्।
राम्रो कमाइ हुने इज्जतिलो सुसी रेस्टुराँमा काम छोडेर पुन: स्पेन फर्कनुमा उनको अभीष्ट थियो- नेपाली खानामा पोख्त बन्नु। यो चाहनालाई उनले दिदीको रेस्टुराँमा प्रयोग गरे।
२०१७ मा स्पेन फर्किएका उनले सबैभन्दा पहिले प्लेटिङबाट परिवर्तन सुरु गरे।
‘ग्राहकलाई खानेकुरा त दिइन्छ, स्वाद पनि हुन्छ नै। यही कुरा पहिले आँखालाई खुवाउनुपर्यो भन्ने लाग्यो,’ चापागाईँ भन्छन्, ‘रेस्टुराँ राम्रै चलिरहेको थियो। तर, मैले प्लेटिङ परिवर्तन गरेपछि त झन् बिक्रीको मात्रा दोब्बर बढेर गयो।’
यतिले मात्र उनी पूर्ण सन्तुष्ट भने भएनन्। खानामै फरकपन ल्याउने हुटहुटी झन् बढ्दै गयो। अनि, नयाँ वर्ष, रेस्टुराँको वार्षिकोत्सव, भ्यालेन्टाइन डेजस्ता अवसर पारेर टेस्टिङ मेनुहरू पस्किन थाले।
मान्छेले नयाँ प्रयोग कत्तिको मन पराउँछ भनेर जाँच्नु थियो उनलाई। प्रयोग सफल भएको देखेपछि उनलाई अब पोर्चुगल नै फर्कनुपर्छ भन्ने लाग्यो।
अनि भिनाजुसँग सल्लाह गरे, ‘स्पेनमा यो खाल (इन्डियन-नेपाली) का रेस्टुराँ टन्नै छन्, पोर्चुगलमा कम छन्। त्यसैले अब म पोर्चुगल जान्छु र रेस्टुराँ खोल्छु।’
भिनाजुबाट आर्थिक लगानीसम्मकै सहयोग पाएपछि उनी पोर्चुगल हानिए। यहाँको हब मानिने लिजवनको केन्द्रमा रेस्टुराँ खोले- ओभन।
हो, ३ वर्षअघि खोलेको यही ओभन छोटो समयमै अहिले मिचेलियन गाइडमा परेको छ।

चापागाईँले ओभनलाई मिचेलियन प्राप्त गराउन जे-जस्तो काम गरे, त्यो व्यवसाय गर्न चाहने जोकोहीलाई प्रेरणादायी हुन सक्छ।
एउटा नेपाली युवाले विदेशी भूमिमा गएर यो सफलता हात पार्नु भनेको चानचुने कुरा होइन। त्यसमा पनि विदेशी शैलीको नक्कल गरेर होइन, आफ्नै देशलाई चिनाएर, नेपाली खानाको प्रवर्धन गरेर।
उनले स्पेन छँदा जेजति ‘इनोभेसन’को प्रयोग गरे। त्यसलाई आफूले खोलेको रेस्टुराँमा लागू गरे। उनी भन्छन्, ‘मैले स्पेनमा छँदा जेजति प्रयोग गरेँ, यसका अलावा भविष्यमा आफ्नो रेस्टुराँ भयो भने यसरी गर्छु भनेर एउटा मेनुचाहिँ दिमागमा राखिरहेको थिएँ।’
उनको दिमागमा भएको त्यो सोच थियो, ओपन किचन। उनले अन्यभन्दा पृथक देखिने गरी ओभनमा सुरु गरेको पहिलो इनोभेसन यही थियो।
चापागाईँका अनुसार, उनको रेस्टुराँका हरेक टेबलबाट किचन छर्लंग देखिन्छ। किचनमा काम गरेको जुनसुकै कुनाबाट सहज अवलोकन गर्न सकिन्छ।
यसपछि उनले गरेको अर्को काम हो- खानेकुरामा नयाँपन। कस्तो नयाँपन त?
उनले उदाहरण पेस गरे, ‘जस्तो हाम्रो म:म छ नि, नेपाली म:म। हो, म:म भन्नाले हाम्रो दिमागमा के छ भने १० पिस प्लेटिङ गरेर दिने। मैलेचाहिँ यही कुरालाई फरक ढंगले पस्किएँ। पोर्चुगिज होस् वा इटालियन या फ्रेन्च खाना, यिनीहरूको तरिकालाई अलिकति मिक्स गरेँ। अनि स्टाटरको वेमा ४ पिस म:म सर्भ गरेँ। अनि त्यो सर्भ गर्ने प्रिजेन्टेसन पनि फरक शैली अपनाएँ।’

उनी अगाडि थप्छन्, ‘खाना भनेको पहिले आँखाले खाने हो, त्यसपछि जिब्रोले स्वाद लिन्छ अनि मात्र पेटसम्म पुग्ने हो। त्यसकारण यसो हेर्दा पनि वाउ हुने तरिका अपनाउने कोशिश गरेँ।’
कसरी वाउ बनाए त?
उनी बेलीविस्तार लगाउँछन्, ‘खाना सेटमा हाम्रो समुदायमा फूलहरू प्रयोग गर्ने चलन त्यति देखिँदैनथ्यो। त्यो गरेँ। अनि प्लेटहरूको सन्दर्भमा पनि नेपालबाट चरेसका थाल मगाएँ। यी थालको डिजाइन आफैँले गरेँ।’
११ वर्ष रेस्टुराँ क्षेत्रमा बिताएका उनले खानाका नयाँ नयाँ स्वादहरू प्रयोग गर्दै गए। अलकित फरक हुने गरी फ्युजन गर्न थाले। ‘थोरै परिवर्तन गरिँदिँदा पनि स्वाद र प्लेटिङमा फरक देखियो,’ उनी खुसी साट्छन्, ‘यसरी अन्य रेस्टुराँभन्दा सुरुदेखि फरक शैली अपनाइयो।’
२०२१ मा ६ जनाको परिश्रमबाट सुरु गरेको व्यवसायमा अहिले ११ जनाको परिवार बनिसकेको छ। जो सबै नेपाली हुन्।

३३ वर्षे तन्नेरीको यो रेस्टुराँमा काम गर्ने पनि सबै युवा नै छन्। छोटो समयमै सफलता चुमेका उनको यो एकल विजनेस हो भने एक वर्षअघि पार्टनरसिपमा अर्को रेस्टुराँ पनि खोलेका छन्। जुन लिजवनदेखि आधा घण्टाको दूरीमा छ ‘नस’ नामको। योचाहिँ इन्डियन-नेपाली रेस्टुराँ हो।
ओभनको किचनमा भने ९० प्रतिशत नेपाली खाना नै पाक्छ। १० प्रतिशत परिकारलाई भने उनले भारतीय खानाको लागि पनि ठाउँ दिएका छन्। ‘तर, यो हुनलाई चाहिँ नेपाली रेस्टुराँ नै हो,’ चापागाईँ भन्छन्, ‘३/४ वटा खानाका परिकार इन्डियन पनि राखेको छु, नेपाली खाना खान आउने कोही कोहीले यो पनि खोजिदिने हुनाले।’
उनको रेस्टुराँका ग्राहकमा प्राय: पर्यटक र पोर्चुगिज नै हुन्। ‘सेलिब्रेटी, इन्फ्लुएन्सर, नेतादेखि लिएर खेलाडीसम्मलाई नेपाली खाना खान कहाँ जाने त भन्दा ओभन भन्ने परिस्थिति बनेको छ,’ उनी गर्व गर्छन्।
नेपाली परिकारलाई स्थानीय परिवेशअनुसार ढाल्न सकिएकोले नै यो सफलता हात परेको उनको बुझाइ छ। भन्छन्, ‘उनीहरूलाई हाम्रो खाना भन्नेबित्तिकै एउटा डर के छ भने पिरो हुन्छ, चिल्लो हुन्छ, हेभी हुन्छ भन्ने छ नि त। त्यो डरलाई मैले, यो पिरो हुँदैन, हाम्रो खानालाई माइल्ड पनि गर्न सक्छौँ भन्ने उदाहरण पेस गरेको छु।’
कुराकानीका क्रममा उनले एउटा रोचक प्रसंग पनि सुनाए, ‘मैले यो रेस्टुराँ सुरु गर्दाताका लन्डनका एक जना लेखक आउनुभएको थियो। उहाँ आफ्ना पुस्तकमार्फत यहाँ चर्चित हुनुहुन्छ। वर्षमा आधा समय पोर्चुगल र आधा लन्डनमा बस्नुहुन्छ। उहाँले सोसल मिडिया प्लेटफर्महरूमा ओभनका बारेमा रिभ्यु लेख्नुभएको थियो। त्यो भेटमा उहाँले मलाई भन्नुभएको थियो- यदि ओभनले भविष्यमा मिचेलियन पाएन भने अपवाद हुन्छ। उहाँले यो आशयको एक प्याराग्राफ लेखेरै मलाई दिनुभएको थियो।’
जो ओल्दी नामका ती लेखकले ओभनका बारेमा गुगल र प्रिपेट वाइजरमा रिभ्यु गरेका थिए। जुन सामग्री उनले आफ्नो कुकबुकमा पनि राखेका थिए।
ओल्दीले यस्तो प्रतिक्रिया जनाइँरहँदा रेस्टुराँ खोलेको बढीमा २ महिना पुगेको थियो।
उनको यो रिभ्यु मिचेलियनसम्म पुगेको कुरा तहाँबाट चापागाईँलाई आएको मेसेजमा पनि उल्लेख गरिएको थियो।
मिचेलियन गाइडमा परेको खबरसहित म्यासेज आउँदा उनी फुरुङ्ग भएर ओल्दीलाई सेयर गरेका थिए। आफूलाई आएको म्यासेजमा जो ओल्दीले गरेको रिभ्यु आफूहरूसमक्ष पनि आइपुगेको मिचेलियनले उल्लेख गरेको देख्नेबित्तिकै उनले ओल्दीलाई फोन गरेका थिए।
ओभन केही महिनाअघि लिजवन नगरपालिकाबाट पनि सम्मानित भइसकेको छ। यस पालिकाले ओभनलाई ‘टु गोल्डेन फोर्क’ बाट सम्मान गरेको हो। जुन यहाँका मेयरको हातबाट दिइएको थियो। यो पनि वान, टु र थ्रि गोल्डेन फोर्कसम्म दिने प्रचलन छ।

चापागाईँका अनुसार थ्रि गोल्डेन फोर्क पाउने रेस्टुराँ ४/५ वटा मात्र छन् जुन लिजवनका लागि मात्र व्यवस्था गरिएको सम्मान हो।
‘लिजवनका मेयर कार्लोस मेन्दास त हाम्रो रेस्टुराँमा आइरहनु हुन्छ,’ चापागाईँ भन्छन्, ‘महिना ३/४ पटक उहाँ हाम्रो रेस्टुराँको खानाको स्वाद लिन आउने गर्नुभएको छ।’
ओभनमा बुक नगरीकन आउने ग्राहकले बस्नेत ठाउँ नै पाउँदैनन्। उनको भनाइलाई पत्याउने हो भने कतिपय समयमा त १५ दिन अगाडि नै सबै टेबल बुक भइसकेका हुन्छन्।
सेलिब्रेटीहरूसँगको उनको संगत चाहिँ उनले पहिले पोर्चुगलमै काम गरेको सुसी रेस्टुराँबाटै हुन थालेको हो। जहाँ उनले फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आफ्नै हातले खाना बनाएर खुवाएका थिए।
‘सुसीमा काम गर्दा क्रिस्टियानो रोनाल्डोलाई ४ घण्टासम्म आफैँले खाना बनाएर खुवाएको छु। सन् २०१६ को कुरा हो। त्यतिबेला रोनाल्डोको समूहमा जोन फेलिक्स, पोर्चुगलका प्रधानमन्त्रीलगायत थिए,’ चौलागाईँ रोमाञ्चित सुनिए, ‘त्यो समयमा धेरै सेलिब्रेटीलाई खाना बनाएर खुवाइयो। यो रेस्टुराँको मालिक आफैँ पनि सेलिब्रेटी सेफ थिए। अहिले पनि पोर्चुगलको नम्बर वान रेस्टुराँ व्यवसायी हुन्। त्यसैले पनि त्यहाँ सेलिब्रेटी धेरै आउँथे।’
नेपालीहरू विदेश गएर धेरै दु:खकष्ट बेहोरेको कथा पढिरहेका हामीलाई एउटा नेपाली तन्नेरीको यो सफलता पक्कै पनि प्रेरणाको स्रोत हुन सक्छ। यी तन्नेरी अब मिचेलियनमा आफूलाई जोगाउन लागि पर्दैछन्।
भर्खर मिचेलियन छिरेको उनको रेस्टुराँले अब वानदेखि थ्रिसम्मका स्टारको यात्रा तय गर्नुछ।
Shares

प्रतिक्रिया