सिड्नीस्थित साढे पाँच हजार दर्शक क्षमताको ‘होर्डन पभिलियन’ हलमा अघिल्लो दिन हाउसफुल शो गरिसकेपछि दोस्रो दिन पुनः त्यसै हलमा तोकिएको कन्सर्ट हेर्न कति दर्शक जुट्लान् भन्ने जिज्ञासा सबैमा थियो। त्यसमाथि दोस्रो शो हुने दिन आइतबार दिउँसैदेखि सिड्नी झरीले निथ्रुक्क भिजेको थियो।
यी सारा प्रतिकूलताका बाबजुद होर्डन पभिलियन फेरि भरिभराउ भइदियो। दर्किरहेको झरीकै बीच लामो लाइन बसेर हलभित्र पस्दै गरेका दर्शकको उत्साहले सिंगो परिसर रमाइलो बनाएको थियो।
‘नेपाली बसोबास गर्ने अस्ट्रेलियालगायत सबै ठाउँका लागि नेपथ्य अब लोकप्रिय नाम भइसकेको छ,’ हलको रिसेप्सनमा बसेर भीडलाई नियालिरहेका हरि राम्जाली भनिरहेका थिए, ‘अब आयोजकले दर्शक खोज्ने नभई दर्शकले नेपथ्य खोज्दै आउने ट्रेन्ड सुरु भइसकेको छ।’

नेपथ्यलाई प्रारम्भका तीन भ्रमणमा अस्ट्रेलिया निम्त्याउने स्थानीय आयोजक संस्था म्याग्दी समाजमा आबद्ध राम्जालीका अनुसार उतिबेला शो घोषणा गरिसकेपछि आफूहरूले केही महिना अगाडिदेखि पाकेटभरि टिकट बोकेर हिँड्नुपर्थ्यो।
‘बजारमा ब्यान्डको यात्राको जानकारी प्रवाह गर्नेदेखि नेपाली कलाकारलाई माया गरिदिनुस् भन्दै गरिने अनुरोध मात्रले नपुगेपछि व्यक्तिगत सम्पर्कका आधारमा पनि टिकट पुस सेल नै गर्नुपर्थ्यो,’ राम्जाली भन्दै थिए, ‘अनलाइनबाटै टिकट काटेर यसरी ओइरिने दर्शकको त त्यतिबेला हामी कल्पना पनि गर्न सक्दैनथ्यौँ।’
दाहिने खुट्टामा प्लास्टर लगाएकी उनी बैसाखी टेकेरै हलमा आइपुगेकी थिइन्। नेपथ्य सिड्नी आउने बेलामै खुट्टा भाँचिएपछि उनी कन्सर्ट हेर्न जाने कि नजाने भनेर दोधारमा परेकी थिइन्। जेजस्तो भए पनि हेर्ने अठोट गर्दासम्म पहिलो शोको टिकट बिक्री भइसकेको थियो।

‘दोस्रो शो भए पनि हेर्न पाएकामा असाध्यै खुसी लागिरहेको छ,’ पढ्नका लागि नौ वर्ष पहिले सिड्नी आएकी विराटनगरकी कविताले ह्विलचेयर र विशेष आवश्यकता भएका दर्शकका लागि छुट्याइएको स्थानबाट कार्यक्रम हेर्दै थपिन्, ‘मलाई यो अवस्थामा पनि सुरक्षित बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाइदिएकामा व्यवस्थापक टिमलाई धन्यवाद दिन चाहन्छु।’
केही दिनअघि मेलबर्नको र सिड्नीकै अघिल्लो दिनको शोले समेत धित नमरेर आइतबार फेरि होर्डन पभिलियन आएका दर्शक पनि भेटिएका थिए। उनीहरू पहिलो शोको अनुभव झिलिमिलीमै बितेको र दोस्रो शो भने झनै रमाइलो बन्न पुगेको प्रतिक्रिया दिइरहेका थिए।
सिड्नीको विशाल हलभित्र लगातार दुई शो सफलताका साथ प्रस्तुत गरेपछि नेपथ्य टोली स्वदेश फर्किसकेको छ।

‘अस्ट्रेलियाको शृंखलाबद्ध कन्सर्ट सकेर फर्किएपछि अब हामी आउने साता गोकर्णेश्वरमा ब्यान्डलाई प्रस्तुत गर्ने तयारीमा लागिसकेका छौँ,’ मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङ भन्छन्, ‘यसै चैत ३० गते शनिबार गोकर्णेश्वरको कन्सर्टमा नेपालभित्रका दर्शकसँग जम्काभेट हुनेछ।’
नेपथ्यले दुई वर्षपछि काठमाडौँ उपत्यकामा कन्सर्ट गर्न लागेको हो। यसअघि २०७९ पुसमा नेपथ्य भृकुटीमण्डपमा प्रस्तुत भएको थियो।
गोकर्णेश्वरको कार्यक्रमपछि आगामी महिना फेरि अस्ट्रेलियामा जस्तै शृंखलाबद्ध प्रस्तुति लिएर नेपथ्य अमेरिका जाने तयारीमा रहेको मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङले जानकारी दिए।
Shares

प्रतिक्रिया