रोमानियाको राजधानी बुखारेस्टमा नेपालीहरूको राहदानी नवीकरणका लागि आज (२६ मार्च)बाट घुम्ती शिविर सुरु भएको छ।
राहदानी विभाग, काठमाडौँको समन्वयमा जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनले शिविर सञ्चालन गरेको हो। शिविर २६-३१ मार्चसम्म चल्नेछ।
राजदूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयालको नेतृत्वमा राहदानी विभाग, काठमाडौँ तथा दूतावासका कर्मचारीले राहदानी नवीकरण तथा कन्सुलर सेवा प्रदान गर्ने भएका हुन्।
शिविरमा पोर्चुगलबाट समेत राहदानी नवीकरणका लागि नेपालीहरू आएका छन्।

रोमानियामा शिविर सकेर सोही टोलीले अप्रिल २ देखि ४ सम्म पोल्यान्डको राजधानी वारसामा शिविर सञ्चालन गर्ने नियोग उपप्रमुख फुयालले जानकारी दिए।
नेपाली दूतावास जर्मनीको कार्यक्षेत्र पर्ने रोमानिया र पोल्यान्डमा पहिले भएका घुम्ती शिविरमा राहदानी नवीकरण गर्दा सेवाग्राहीबाट अतिरिक्त शुल्क लिएर आर्थिक अनियमितता भएको आरोप छ।
डा शैल रुपाखेती नयाँ राजदूत भएर आएसँगै सेवाग्राहीबाट राहदानीका लागि तोकिएको राजस्वबाहेक अन्य कुनै शुल्क नलिन निर्देशन दिएका छन्।
दूतावासले फेब्रुअरीमै प्रकाशित सूचनामा कोही कसैले कुनै पनि प्रकारको अनुचित लाभ लिएको पाइएमा नेपाल सरकार तथा रोमानिया सरकारलाई कारबाहीका लागि सिफारिस गर्ने बताइसकेको छ।

राहदानी स्वयं व्यक्तिले नै भर्न पनि सूचनामा आग्रह गरिएको छ। यदि कसैलाई अप्ठेरो परेमा साथैमा रहेको कसैले सहयोग गरिदिन तर यसवापत कुनै अनुचित लाभ नलिन दूतावासले सचेत गराएको हो।
‘आफ्नो राहदानीको लागि अनलाइन फराम आफैँ भर्नुहुन र त्यसरी फर्म भर्न नसक्नेलाई सँगै रहेको जान्ने नेपालीहरूले स्वयंसेवी भावले फर्म भर्न सहयोग गरिदिनुहुन पनि अनुरोध गरिन्छ,’ २८ फेब्रुअरीमा प्रकाशित सूचनामा भनिएको छ, ‘राहदानी प्रक्रियाका लागि सहयोग गर्ने नाममा कुनै पनि प्रकारको अनुचित लाभ लिएको पाइएमा कानुन अनुसार कारवाहीको लागि नेपाल सरकारको सम्बन्धित निकाय तथा रोमानिया सरकारको सम्बन्धित निकायमा लेखी पठाइनेछ।’
रोमानियामा झन्डै एक वर्षपछि राहदानीका लागि घुम्ती सेवा सञ्चालन भएको हो।

Shares

प्रतिक्रिया