सर्लाहीको एक सहकारी संस्थाका कर्मचारीमाथि गोली हानेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन भारतीय र एक नेपाली छन्।
प्रहरीले भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको वैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका–१ डिजे भनिने धिरेन्द्र सहनीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरुमध्ये तीनजना भारतीय नागरिकहरु १९ वर्षका र नेपाली नागरिक सहनी ३२ वर्षका छन्। उनीहरुमध्ये धिरेन्द्रको एउटा खुट्टामा गोलीसमेत लागेको छ।
बुधबार बिहान ११ बजेर १५ मिनेटमा सर्लाहीको बाग्मती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियो।
आफ्नै कार्यालयमा काम गरिरहेको बेला अपरिचित ३ जना मानिसहरु आएर कार्कीलाई ४ राउण्ड गोली प्रहार गरेका थिए। कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको थियो। कार्कीको अहिले काठमाडौंमा उपचार भइरहेको छ।
घटना लगत्तै खोजतलासमा जुटेको प्रहरीले ४ जनालाई सर्लाहीको बलरास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो।
Shares

प्रतिक्रिया