झापाको बिर्तामोडमा पुरानो रिसिइबीका कारण एक युवतीलाई बिजुलीको पोलमा बाँधेर मोसो दल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिर्तामोड नगरपालिका-२ चारपानेस्थित राजगढ जाने बाटोमा २१ वर्षीया युवतीलाई स्थानीय केही व्यक्तिले दुर्व्यवहार गरेका थिए। उनीहअले मोसो दलेको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ साढे ६ बजेतिर घटना भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय, अनारमनीको टोली खटिएको थियो। प्रहरी टोलीले पीडितको उद्धार गरेको छ।
यसमा संलग्न चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा झापाकै कनकाई नगरपालिका-८ का १८ वर्षीय समिर मर्डी, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पूजा बस्नेत छन्। उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको मोबिलको बट्टा र विभिन्न १६ वटा पम्पलेट पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पीडित युवतीको अहिले बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका चारै जनालाई इलाका प्रहरी कार्यालय, अनारमनीको हिरासतमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया