उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी-जोमसोम) अन्तर्गत कोबाङ-जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ।
बेनी-जोमसोमको ७४ किलोमिटर अन्तर्गत कोबाङ-जोमसोम खण्डको करीब १७ किलोमिटर सडक निर्माण कम्पनीको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र परेको हो। मुस्ताङको घाँसाबाट माथिल्लो स्थानसम्म कालोपत्र भइसक्दा कोबाङ-जोमसोम खण्डको तीन स्थानमा काम हुन सकेको छैन।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम सडकको चार खण्ड आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भई निर्माण थालनी गरिएको थियो। पप्पु-गौरी पार्वती कोशी एन्ड न्यौपानी जेभीले ११ मिटर चौडा सडक निर्माणसहित कालोपत्र गर्न ७० करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो।
सुरुआति चरणमा यस सडक खण्डमा निर्माण कम्पनीले काममा तीव्रता दिए पनि केही समयपछि काम रोकिएको थियो। लामो समयसम्म काम नगरेपछि कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडक आयोजनाले निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाएको थियो।
आयोजनाले कारबाहीको प्रक्रिया अघि बढाएपछि जेभीको मुख्य कम्पनी गौरी-पार्वतीले उक्त खण्डको जिम्मा लिएको थियो। गौरी पार्वती निर्माणमा फर्किए पनि आंशिक रूपमा मात्र काम भएको छ। निर्माण कम्पनीको लापरवाही र ढिलासुस्तीका कारण कामले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ।
आयोजनाका अनुसार सडक निर्माणका लागि कम्पनीलाई कूल ठेक्का सम्झौता लागतको ०.५ प्रतिशत हुनेगरी जरिवाना रकम कायम गरिएको छ। सुरुआति ठेक्का सम्झौता भएको कोबाङ-जोमसोम सडकको हालसम्म सातौं चरणमा म्याद थपको प्रक्रिया अघि बढेको आयोजनाका सूचना अधिकारी इञ्जिनियर बाबुसाहेव बैठाले जानकारी दिए। उनका अनुसार हाल सडकको भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ८० प्रतिशत छ।
कोबाङ-जोमसोम सडकअन्तर्गत थासाङ गाउँपालिकाको टुकुचेमा चार सय मिटर कालोपत्र र तीन सय मिटर आरसीसी प्रविधिको सडक विस्तार गर्ने काम बाँकी रहेको गौरी पार्वती निर्माण कम्पनीका प्रतिनिधि सुमन अधिकारीले बताए। यस क्षेत्रमा कालोपत्र र आरसीसी प्रविधिको ‘ड्रेन’ र ‘स्टक्चर’को काम सकिएको छ।
त्यस्तै, मार्फा राजखोलाको पक्की पुलबाट माथिल्लो क्षेत्रमा करीब एक हजार दुई सय मिटर कालोपत्र गर्न बाँकी रहेको अधिकारीले जानकारी दिए। जोमसोमका पुथाङ विमानस्थल माथिबाट नेपाली सेनाको ब्यारेकसम्म करीब पाँच सय मिटर सडकमा ‘स्टक्चर’ र कालोपत्र गर्न बाँकी रहेको उनले बताए।
कम्पनीका प्रतिनिधि अधिकारीले कोबाङ-जोमसोम सडकको सम्पूर्ण काम मंसिर मसान्तसम्म सम्पन्न हुने दाबी गरे। ‘हामीले जिम्मा लिएपछि कामलाई तीव्रता दिएका हौं, सोहीअनुसार काम पनि भइरहेको छ,’ उनले भने, ‘अहिले कामदार धान काट्न घर गएकाले काम रोकिएको हो, अब एक हप्ताभित्रै कामले निरन्तरता पाउनेछ।’
राष्ट्रिय गौरवको बेनी-जोमसोमअन्तर्गतको चौथो खण्ड कोबाङ-जोमसोम सडक कालोपत्र नहुँदा पर्यटक, स्थानीयका साथै सवारीसाधन र पैदलयात्रीलाई सास्ती हुँदै आएको छ। कोबाङ-जोमसोम सडक पूरा भएमा मुस्ताङ र म्याग्दीको सिमाना घाँसाबाट कागबेनी-मुक्तिनाथसम्मको आवागमन सहज हुनेछ। (रासस)
Shares

प्रतिक्रिया