धादिङमा निर्माण भइरहेको नौबिसे-नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ।
हालसम्म निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। नौबिसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौबिसे-नागढुंगा सडकखण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्ने थियो। त्यसअनुसार, धेरै काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गर्नुपर्नेछ। अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम सुरु गरिने आयोजनाले जनाएको छ।
फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ। आकाशे पुल निर्माण हुने खानीखोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाई भएको छ।
आकाशे पुल निर्माण लगायत मुख्य कामहरू ३५ दिनभित्र सक्ने आयोजनाको दाबी छ। सडक निर्माण स्थानीय बासिन्दासँग जोडिएको विषय भएकाले सडक निर्माणको क्रममा एउटै विषयमा समाज विभक्त हुँदा निर्माणमा समस्या हुँदै आएको छ।
अकाशे पुल निर्माणका लागि अधिकांश स्थानीय बासिन्दालाई सार्ने काम सकिएकाले पनि कामले गति लिने विश्वास आयोजनाले लिएको छ। सगुन कन्टक्सनका प्रबन्ध निर्देशक शहदेव खड्का निर्वाचनका कारणले निर्माणमा केही ढिलाई हुने बताए।
यसअघि सडकमा रहेका विद्युत पोलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो। २०७९ सालबाट निर्माण सुरु गरिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
Shares

प्रतिक्रिया