घर निर्माण सम्पन्न भएपछि छत चुहिने समस्या, भित्तामा ओस (सिपेज) आउने वा किराको प्रकोपले आजित हुनुहुन्छ? चैत १२ गतेदेखि १६ गतेसम्म विराटनगर आउनुहोस तँपाईको समस्या समाधान हुनसक्छ।
प्रदर्शनी आयोजकहरूका अनुसार घरधनीका यस्ता व्यवहारिक र प्राविधिक उल्झन सुल्झाउन यो प्रदर्शनी गर्न लागिएको हो । यस प्रदर्शनीले यस्ता साझा तर जटिल समस्याहरूको दीर्घकालीन समाधानका लागि वाटरप्रुफिङ, आधुनिक इन्सुलेसन र पेस्ट कन्ट्रोल प्रविधिमा आबद्ध विशेषज्ञहरूसँग प्रत्यक्ष परामर्श गर्ने र उपयुक्त सामग्री छनोट गर्ने अवसर प्रदान गर्ने सङ्गठनका अध्यक्ष नन्द किशोर राठीले जानकारी दिए।
यस पटक निर्माण सामग्रीको प्रदर्शनीमा मात्र सीमित नभई घर निर्माणका क्रममा आइपर्ने विविध प्राविधिक समस्याहरूको समाधान खोज्ने मुख्य थलो बन्ने भएको छ। बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए अनुसार, विशेष गरी प्रदर्शनीको अन्तिम दिन चैत १६ गते घरको मर्मत सम्भार, छत चुहिने समस्याको स्थायी समाधान र पुराना भवनहरूको सुदृढीकरण (रेट्रोफिटिङ) का विषयमा केन्द्रित विशेष सत्रहरू नै सञ्चालन गरिनेछन्।
आधुनिक प्रविधिको प्रयोगबाट घरलाई कसरी स्मार्ट र ऊर्जा बचत गर्ने बनाउन सकिन्छ भन्ने जिज्ञासा मेटाउन चैत १५ गते होम अटोमेशन र सोलार प्रणाली सम्बन्धी विशेषज्ञहरूले मार्ग निर्देश गर्नेछन्। यसरी निर्माण सामग्रीको खरिददेखि लिएर दक्ष प्राविधिक परामर्शसम्मका सबै सेवा एउटै छानामुनि उपलब्ध गराएर एक्स्पोले घर निर्माणका क्रममा भोग्नुपर्ने सास्ती कम गर्ने लक्ष्य राखेको घर निर्माण प्रदर्शनी २०२६ का संयोजक सुरेन्द्र गोल्छाले जानकारी दिए।
विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा हुने यस प्रदर्शनीले उपभोक्तालाई गुणस्तरीय सामग्री र सही प्राविधिक ज्ञानको संयोजनमार्फत सुरक्षित र दिगो घर निर्माण गर्न ठोस सहयोग पुर्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया