राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसदको आगामी अधिवेशनका लािग नयाँ संसद् भवन तयार गर्न निर्देशन दिएका छन्।
शुक्रबार भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अध्यक्ष दाहालले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिएका हुन्। भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै निर्माणलाई तिब्रता दिनुपर्ने बताए।
‘हामीलाई जुन स्पिडबाट जुन स्तरबाट यो बन्नुपर्थ्यो भन्ने लागिराख्या छ, त्यो स्तरबाट अझै स्पिड आइसकेको छैन। किनभने अब करिब करिब सदन चल्ने कुरा त निधो नै भइसक्यो,’ उनले भने।
पछिल्लो समय केही प्रगति भए पनि अपेक्षा अनुसार नभएको उनको भनाइ थियो। ‘हाम्रो आफ्नो ठाउँबाट पनि पहल गरिराखेका छौँ र उहाँहरू पनि अहिले लागिराखेकै स्पिडमा देखिन्छ। त्यसले गर्दा अब आशा गरौँ कम्तीमा संसद चलाउने ढङ्गले भवन दिनुहुन्छ, दिनुपर्छ,’ दाहालले भने।
केही दिन अघि मात्रै शहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर दाहाल निर्देशन दिएको थिए। सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार गर्नुपर्नेमा दाहालको जोड थियो। ‘कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा चलाउनेसम्म दिनुभयो भने त्यसैलाई धन्यवाद ठान्नुपर्छ,’ उनले भने।
निर्वाचन पछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको दाहालले बताए।
Shares

प्रतिक्रिया