जापानको राजधानी सहर टोक्योमा हुनलागेको यस वर्षको अटो मेलामा चर्चित कम्पनीले आफ्ना नयाँ प्रविधियुक्त सवारीसाधन सार्वजनिक गर्ने भएका छन्। यही अक्टोबर २४ देखि नोभेम्बर ४ सम्म सञ्चालन हुनलागेको अटो मेलामा होण्डा, माज्डा, टोयोटा र अन्य धेरै कम्पनीका नयाँ गाडी सार्वजनिक गर्ने तयारी गरेका हुन्।
टोक्यो मोटर शो अटो उद्योग क्षेत्रकै ठूलो सवारीसाधन मेला हो। यसपटकको मेलामा चर्चित कम्पनीका नयाँ नयाँ अवधारणाअनुसारका गाडीहरु सार्वजनिक हुने बताइएको छ। प्रविधिसम्बन्धी समाचार अनलाइन सिनेटका अनुसार यसपटक सवारीसाधन निर्माता कम्पनी होण्डाले नयाँ पुस्ताको ‘होण्डा ज्याज’ कार प्रदर्शनीमा उतार्नेछ।
‘होण्डा ज्याज’ कार
आकर्षक देखिने यो कार युरोपमा हाइब्रिड मोडलमा उपलब्ध हुनेछ भने अमेरिकामा नयाँ पुस्ताको फिटका रुपमा पुग्नेछ । त्यस्तै टोयोटाको लक्जरी भेहिकल डिभिजनले यसपटक लेक्स ईभीको अवधारणायुक्त कार सार्वजनिक गर्ने बताइएको छ । यता निसानले भने आईएम ब्रान्डको अवधारणायुक्त आईएमके सार्वजनिक गर्नसक्नेछ । यो कार पनि विद्युतीय रहेको छ । यद्यपि यसबारे सबै खुलिसकेको छैन ।
टाेयाेटा एलक्यु
सवारीसाधन निर्माता कम्पनी माज्डाले पनि पहिलो विद्युतीय कार सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त शोमा कम्पनीले पहिलो ईभी सार्वजनिक गर्नेछ । जापानी कारनिर्माताका लागि शो नयाँ उत्पादन पस्किने महत्वपूर्ण अवसर हुनेछ । अर्को कम्पनी मित्सुबिसीले एमआई–टेक अवधारणाको कार शोमा सार्वजनिक गर्नेछ ।
यो कार हाइब्रिड अवधारणामा निर्माण गरिएको छ । ग्यास इन्जिनसँगै यो कारमा चारवटा विद्युतीय मोटरसँगै हाइब्रिड पावरट्रेनसहितको युनिक प्लग रहनेछ । जुन हरेक टायरमा जोडिएको छ । कम्पनीले सुपर हाइट के–वागन समेत सार्वजनिक गर्ने बताइएको छ।
निसान आईएमके
यस्तै सुवारुले लेभोर्ग कार सार्वजनिक गर्नेछ । नयाँ लोभोर्गमा स्वचालित प्रविधिलाई जोड दिइएको छ । यसबाहेक कम्पनीले सुबारु डब्ल्यूआर एक्स एसटीआई ईवे२० को अन्तिम संस्करण समेत सार्वजनिक गर्ने तयारी गरेको छ । यसमा चारवटा टर्बो इन्जिन रहेका छन् । यो मोडलको पहिलो कार सन् १९८९ मा सार्वजनिक भएको थियो ।
यता सुजुकीले हानार कन्सेप्टको कार सार्वजनिक गर्ने तयारी गरेको छ । यो कारमा पनि स्वचालित प्रविधि, आरामदायी फिचरहरु समावेश रहेका छन् । सुजुकीले वाकु स्पो कन्सेप्टको कार पनि प्रदर्शनीमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
सुजुकी वाकु अवधारणाकाे कार
चर्चित कम्पनी टोयोटाले कोपन जीआर स्पोर्ट कार मेलामा सार्वजनिक गर्ने बताइएको छ । यो कार टोयोटाको सब्सिडरी कम्पनी दाइहात्सुले उत्पादन गरेको हो । दुई सिटे यो कारमा सोलिड रुफ र ड्राइभिङ डाइनामिक्स फिचरहरु समावेश रहेका छन् । त्यसबाहेक टोयोटाले एलक्यु अवधारणायुक्त कार पनि प्रदर्शनी गर्नेछ ।
यो कार लेभल ४ को स्वचालित प्रविधियुक्त रहेको छ । यसले विशेष स्थानमा चालकरहित अवस्थामा पनि यात्रा गर्न सक्ने बताइएको छ । यसको हेडलाइट लेनमा मात्रै सीमित हुने विशेषता रहेको छ । जसले किनारामा हिँड्नेलाई हानि गर्दैन ।
मित्सुबिसी एमआई टेक
त्यस्तै टोयोटाकै अल्ट्रा कम्प्याक्ट बीईभी पनि शोमा सार्वजनिक हुने बताइएको छ । यसका दुई तस्बिर टोयोटाले यसअघि नै सार्वजनिक गरिरहेको छ । यो ब्याट्री इलेक्ट्रिभ भेहिकल (बीईभी) हो ।
सहरका बाटोमा यो कार उपयुक्त हुने गरी डिजाइन तथा निर्माण गरिएको छ । यसले प्रतिघण्टा ३७ माइलको गतिमा यात्रा गर्नसक्छ । यसबाहेक टोयोटाले यारिस कार पनि सार्वजनिक गर्नसक्छ । तस्बिरहरूः सिनेट डटकम

प्रतिक्रिया